१० श्रावण २०८१, बिहीबार

बुढीगंगामा फेरि चुनाव गर्ने निर्णयको बाजुरामा चर्को विरोध




मार्तडी / बुढीगंगा नगरपालिकाका १० वटै वडामा फेरि चुनाव गर्ने निर्णयको बाजुरामा चर्को विरोध भएको छ ।
बिहीबार निर्वाचन आयोग नेपालले बुढीगंगामा फेरि चुनाव गर्ने निर्णय गरेको थियो ।

सो निर्णयको विरोधमा सदरमुकाम मार्तडी र बुढीगंगा नगरपालिकाका डाव, फालासैन, ताप्रिसेरा लगायतका आधा दर्जन स्थानमा विरोध जुलुस, चक्काजाम र प्रदर्शन भएका छन् ।

प्रदर्शनकारीहरुले वैशाख ३० गते भएको मतदानको मत गणनाको माग राख्दै सरकार, जिल्ला प्रशासन, प्रहरी र निर्वाचन आयोगको विरोध गरेका छन् ।

बुढीगंगाका २,३, ५ र ९ नम्बर वडामा एमालेले धाँदली गरेको आरोप लगाउदै काँग्रेसले फेरि चुनावको माग गरेको थियो । भने काँग्रेसले पनि ४ र ७ नम्बर वडामा धाँदली गरेको जिकिर एमालेको छ ।

तर एमालेका तर्फबाट बुढीगंगाका मेयरका उम्मेदवार रामबहादुर बानियाँले आफू चुनाव हार्ने भएपछि सत्ताको दुरुपयोग गरेर काँग्रेसले अनेकौ तिकडम गरिरहेको बताउछन् ।

बानियाँले बैशाख ३० गतेकै मत गणना हुनु पर्ने माग राख्दै उच्च अदालतमा रिट दिइएको बताए । उनले उच्च अदालतले निर्णयमा ढिलाइ गरेकोले सर्वोच्च अदालतमा पनि रिट दिइएको बताए ।

वैशाख ३० गतेको चुनावका दिन काँग्रेसले अनेक हतकण्डा अपनाएका एमालेको बुझाइ छ । त्यही हतकण्डा अनुसार वडा नम्बर २, ३ र ९ को मतपेटिका समेत छोडेर सुरक्षाकर्मी हिँडेका थिए । पछि दवाव थेग्न नसकेपछि मतपेटिका लगिएको थियो ।

यस्तै हर्कतका कारण निर्वाचन आयोगले अहिलेका सिडियो, डिएसपी, शसस्त्रका प्रमुखलाई तुरुन्तै परिवर्तन गर्न पनि भनेको छ । निर्वाचनमा उनीहरु जिम्मेवार नदेखिएको आयोगको ठहर छ ।

वैशाख ३० गतेको निर्वाचनमा बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, त्यहाँका प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझा र सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी उपरीक्षक दीपक विष्टले निर्वाचनमा गम्भीर लापरवाही गरेर निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने काम गरेको आयोगको ठहर छ ।

निर्वाचन आयोगले फेरि चुनावको मितिका लागि वातावरण बनाउन गृह मन्त्रालय र बाजुराको निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ ।

एमालेले काँग्रेसलाई अनेक हतकण्डा अपनाएको आरोप लगाएको भए पनि काँग्रेस पक्षले भने एमालेले २,३, ५ र ९ मा बुथ कव्जा गरेका कारण समस्या सृजना भएको आरोप लगाउने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार