१० श्रावण २०८१, बिहीबार

बाजुराको बुढीगंगाका १० वटै वडामा फेरि चुनाव हुने



वैशाख ३० गते बुढीगंगामा भएको निर्वाचनको झलक

धनगढी/ बाजुराको बुढीगंगा नगरपालिकामा फेरि मतदान हुने भएको छ । निर्वाचन आयोगको विहिबार गरेको निर्णयअनुसार सो नगरपालिकाको १० वटै वडामा फेरि मतदान हुने भएको हो ।आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्ती अनुसार सो नगरपालिकामा यसअघि वैशाख ३० गते भएको निर्वाचन निष्पक्ष हुन नसकेकाले मतदान रद्द गरेर फेरि मतदान गर्ने निर्णय गरिएको हो ।

आयोगले सो नगरपालिकाभित्र यथासिघ्र मतदान गर्ने मिति र समय तोकेर मतदान गराउन सम्बन्धित निर्वाचन अधिकृतलाई आयोगले निर्देशन पनि गरेको छ ।

बुढीगंगाका वडानम्बर २, ३, ५ र ९ मा एमालेले र ४ र ७ मा काँग्रेसले बुथ कव्जा गरेको विवाद बढ्दै जाँदा १० वटै वडामा चुनाव हुने भएको हो । जवकी १, ७, ८ र १० नम्वर वडामा शान्तिपूर्णरुपमा मतदान भएको थियो ।

एमालेले बैशाख ३० गतेकै मत गणना हुनुपर्ने र काँग्रेसले फेरि चुनाव हुनु पर्ने अडान लिएको थियो ।

यसैगरी आयोगले बाजुराका प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्याल, त्यहाँका प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझा र सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी उपरीक्षक दीपक विष्टलाई तीन दिन भित्र हटाई सो ठाउँमा जिम्मेवार कर्मचारीलाई खटाउन आयोगले सरकारलाई निर्देशन पनि गरेको छ ।

आयोगले उनीहरुले निर्वाचनमा गम्भीर लापरवाही गरेर निर्वाचनको स्वच्छता, स्वतन्त्रता तथा निष्पक्षतामा आँच आउने काम गरेको ठहर गरेको छ ।

ती पदाधिकारीहरुलाई तीन महिनाभित्र विभागीय कारवाही गरी आयोगलाई जानकारी गराउन पनि आयोगले सरकारलाई आग्रह गरेको छ । साथै निर्वाचनको उपयुक्त वातावरण तयार गर्न पनि गृह मन्त्रालयलाई आयोगले भनेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार