४ पुष २०८२, शुक्रबार

नीति र कार्यक्रममा गेटा मेडिकल कलेज नसमेटिएपछि आन्दोलन चर्कियो, चक्काजाम, प्रदर्शन, धर्ना, बृहत भेला




धनगढी / सुदूरपश्चिम प्रदेशको बहुचर्चित कैलालीको गेटा मेडिकल कलेज सञ्चालनबारे सरकारले नीति र कार्यक्रममा सम्बोधन नगरेपछि जनस्तरमा आन्दोलन उठेको छ ।

विशेषज्ञ स्वास्थ्य सेवासहितको मेडिकल कलेज सञ्चालन गर्न सरकारले आलटाल गरेको भन्दै कैलालीको अत्तरिया, धनगढी लगायतका स्थानमा बुधबार सडक प्रदर्शन, चक्काजाम, धर्ना तथा सरोकारवालाहरुबीच बृहत भेला लगायतका कार्यक्रम भएका छन् ।

सुदूरपश्चिम प्रदेशका कैलाली सहित विभिन्न स्थानबाट स्थानीयहरुले सामाजिक सञ्जालमार्फत सरकारले गेटा मेडिकल कलेज सञ्चालनमा उदासिनता देखाएको भन्दै कडा रुपमा अभिव्यक्ति दिइरहेका छन् ।

सात वर्षदेखि बन्न लागेको मेडिकल कलेजको भौतिक संरचना निर्माण कार्य करिब ९० प्रतिशत पुरा भइसक्दा पनि सरकारले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा सञ्चालनका लागि सम्बोधन नगरेपछि आक्रोसित सुदूरपश्चिमबासीले जनताको आवाज नसुने आन्दोलनलाई व्यापक र कडा बनाउने चेतावनी दिएका छन् ।

सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममा निर्माण कार्य लगभग पुरा भइसकेको गेटा मेडिकल कलेज सञ्चालनबारे कुनै उल्लेख नगरी डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने घोषणा गरेको छ ।

सात वर्षदेखि गेटा मेडिकल कलेज पूर्वाधार निर्माण विकास समितिमार्फत भौतिक संरचना निर्माण जारी रहे पनि अझैं सो संस्था कुन मोडलमा सञ्चालन गर्ने भन्नेमा सरकारले स्पष्ट नीतिगत प्रबन्ध गरेको छैन ।

पछिल्ला वर्षहरुमा सो संस्थालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान, स्वास्थ्य विज्ञान विश्वविद्यालय वा मेडिकल कलेज कुन मोडलमा सञ्चालन गर्ने भन्नेमा विभिन्न तहमा बहस भए पनि सरकारले अझैं कुनै नीतिगत टुङ्गो लगाएको छैन ।

कैलालीको अत्तरियामा बुधबार स्वःस्फुर्त रुपमा उठेको आन्दोलनले संयुक्त संघर्ष समिति समेत घोषणा गरेको छ । स्थानीय लोकराज पाण्डेयको संयोजकत्वमा गठित ३५ सदस्यीय संघर्ष समितिले आन्दोलनलाई अझ कडा रुपमा अघि बढाउने समेत घोषणा गरेको छ ।

संयोजक पाण्डेयले भने– हामी अरु जिल्लामा मेडिकल कलेज खोल्नु हुँदैन भन्ने पक्षमा होइनौ, तर हाम्रो एउटै माग गेटा मेडिकल कलेज छिटो सञ्चालनमा ल्याउनुपर्यो भन्ने मात्रै हो ।

बुधबार आन्दोलनका क्रममा अत्तरियामा एक घन्टा चक्काजाम, सडक प्रदर्शन गरिएको थियो ।

यता धनगढीमा स्वास्थ्य क्षेत्रका विशेषज्ञ, चिकित्सक, नागरिक अभियन्ता, शिक्षक, प्राध्यापक, बुद्धिजीवी, पेसाकर्मी, व्यवसायी, सञ्चारकर्मी, अधिकारकर्मी, लगायतको बृहत भेलाले मेडिकल कलेज सञ्चालनका लागि उठेका सबै आन्दोलनहरुलाई एकजुट बनाउँदै व्यापक संघर्षका कार्यक्रम अघि बढाउने निर्णय गरेको छ ।

स्वास्थ्य क्षेत्रका विशेषज्ञ तथा अन्य सरोकारवालाहरुले सरकारले अनेक बहानामा गेटा मेडिकल कलेज सञ्चालनमा उदासिनता देखाइरहेको आरोप लगाएका छन् ।

बरिष्ठ चिकित्सक डाक्टर गणेशबहादुर सिंहले छलफलका क्रममा भने– प्रधानमन्त्री, मन्त्रीहरु तथा राजनीतिक नेतृत्व, सांसदहरु मेडिकल कलेज, मेडिकल विश्वविद्यालय, स्वास्थ्य विज्ञान प्रतिष्ठान जस्ता विषयमा स्पष्ट छैनन् । सुदूरपश्चिम प्रदेशबाट नेतृत्व गर्ने शिर्ष राजनीतिक नेताहरुमा इच्छाशक्ति नै छैन ।

डाक्टर प्रदीप मिश्रले तत्काल विशेषज्ञ सेवा सहितको मेडिकल कलेज सञ्चालन गर्ने र मोडलबारे फेरि विभिन्न चरणमा छलफल गरेर टुङ्गो लगाउनुपर्ने बताए ।

सरोकारवालाहरु विशेषज्ञ स्वास्थ्य सेवासहितको मेडिकल कलेज सञ्चालनका लागि यसै वर्षको बजेटमा आवश्यक रकम विनियोजन गर्नुपर्ने र नीतिगत व्यवस्था गरिनु पर्ने बताउँछन् ।

अनुमोदनसंगको कुराकानीमा गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिका निर्देशक हेमराज पुजाराले भने– नीति र कार्यक्रममा यो विषय छुटेको भए पनि बजेटमा सम्बोधन हुन्छ वा हुँदैन भन्ने हेर्नुपर्ने हुन्छ ।

उनले स्वास्थ्य सेवा तथा कलेज सञ्चालनका लागि कम्तिमा आगामी वर्षको बजेटमा छ अर्ब रुपैयाँ विनियोजन गरिनुपर्ने बताए । उनले भने– सरकारले आवश्यक बजेटको प्रबन्ध गर्यो भने हामी एक वर्षभित्रै सेवा र कलेज सञ्चालन गर्नसक्ने अवस्थामा छौं । तर, यसका लागि चालु संसद अधिवेशनबाटै स्पष्ट नीतिगत व्यवस्था हुनै पर्दछ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार