१३ बैशाख २०८१, बिहीबार

टीकापुरको मेयरमा रेशमका उम्मेदवार र उपमेयरमा माओवादी विजयी



मेयर र उपमेयरका प्रत्यासीहरुको गणना भएको मतको पूर्ण विवरण आठ वजेपछि मात्र आउने सम्भावना

यस अघिको विजेता एमाले एक वडाध्यक्षमा सिमित


टीकापुर / स्थानीय तह निर्वाचन २०७९ को मतगणना अनुसार कैलालीको टीकापुर नगरपालिकाको मेयरमा नागरिक उन्मुक्ती पार्टीका उम्मेदवार रामलाल डगौरा थारु गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार नवराज रावललाई पछि पार्दै विजयी भए ।

थारु ०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रको तर्फबाट वडा नम्बर ७ को वडाध्यक्ष थिए । यस वर्षको चुनाव अघि नवगठित नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेर थारुले टीकापुरको मेयर जितेका हुन ।

टीकापुर नगरपालिकाको उपप्रमुखमा भने गठवन्धनका तर्फबाट उम्मेदवार बनेका माओवादीका उम्मेदवार खडकबहादुर शाह विजयी भए । माओवादी केन्द्रले ०७४ मा जितेका वडा नम्बर ७, ८ र ९ लाई कायम राख्दै यस पटक उपप्रमुखमा पनि विजय हासिल गरेको छ ।

०७४ मा उपप्रमुख मात्रै जितेको नेपाली काग्रेसले वडा नम्बर २, ३ र ६ मा वडाध्यक्षसहित ११ पद जितेको छ ।
०७४ सालमा नगरप्रमुखसहित वडा नम्बर १ र २ मा विजय भएको एमाले भने यसवर्ष एउटा वडाध्यक्षमा मात्र सिमित भएको छ । एमालेबाट वडा नम्बर १ को वडाध्यक्षमा मोहन विक निर्वाचित भएका छन् ।

नौ वटा वडा रहेको टीकापुरमा प्रमुख जितेको नागरिक उन्मुक्तिले वडा नम्बर ४ र ५ मा वडाध्यक्षसहित सबै सदस्य, वडा नम्बर १ र ७ मा वडाध्यक्ष वाहेकका सबै सदस्य पदमा विजय हासिल गरेको छ ।

२०७२ सालमा टीकापुरमा भएको घटनाका दोषी भनेर हाल जेल जीवन बिताई रहेका तत्कालिन राष्ट्रिय जनता पार्टीका सांसद रेशमलाल चौधरीको रिहाइको मागलाई मुख्य एजेण्डा बनाई सांसद चौधरीकी श्रीमति रञ्जिता श्रेष्ठको अध्यक्षतामा २०७८ पुस मा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले ४६ प्रतिशत थारु मतदाता रहेको टीकापुरमा सहानुभूतिको मत बटुलेको छ । करीब १४ प्रतिशत दलित भोटमा पकड बनाउन उपप्रमुखमा दलित उम्मेदवार उठाए पनि उपप्रमुख पदमा भने विजय हासिल गर्न सकेन् ।
नगर सभाको संरचना
नगर सभाका लागि निर्वाचित हुनुभएका ४७ जनामा नागरिक उन्मुक्ति पार्टीबाट प्रमुखसहित २१, नेकपा माओवादी केन्द्रबाट उपप्रमुखसहित १४ जना, नेपाली काग्रेसका तीन वडाध्यक्षसहित ११ जना, नेकपा एमालेबाट एक जना वडाध्यक्ष विजयी हुनुभएको छ ।

०७४ को निर्वाचनमा भने प्रमुखसहित दुई वडामा एमाले, ३ वडामा नेकपा माओवादी केन्द्र र ४ वडामा तत्कालिन लोकतान्त्रिक फोरमका उम्मेदवार विजयी भएका थियो ।

त्यतिबेला निर्वाचित सात जना वडाध्यक्ष यसपटक दोहोरिएर उठेकोमा दुई जना पराजित भएका छन भने चार जना वडाध्यक्षमा र एक जना नगर प्रमुखमा विजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार