१५ चैत्र २०८०, बिहीबार

दार्चुलामा काँग्रेस निल बनाउदै नौवटै तहका प्रमुख वामपन्थीले जिते




दार्चुला / दुई नगरपालिका र सात गाउँपालिका गरेर नौँ स्थानीय तह रहेको दार्चुलाका सबै पालिका प्रमुखमा कम्युनिष्ट पार्टीको वर्चश्व कायम भएको छ ।

चार गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । दुई नगरपालिका र तीन गाउँपालिकामा एमाले उम्मेदवार विजयी भएका छन् ।

दार्चुलामा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन बनेको थियो । माओवादीले नेतृत्व पाएका चार वटै गाउँपालिकामा गठबन्धन विजयी भएको छ । भने कांग्रेसले नेतृत्व पाएका सबै पालिकामा प्रमुख पद गुमाएको छ । वडाहरुमा मिश्रित नतिजा प्राप्त भएको छ ।

पालिका प्रमुख हारे पनि चार पालिकाका उपप्रमुखमा भने काँग्रेसका उम्मेदवार विजयी भएका छन् ।

पछिल्लो परिणाम अनुसार व्यास गाउँपालिका अध्यक्षमा एमालेका मंगलसिंह धामीले जितेका छन् । उपाध्यक्षमा भने माओवादीका विनोदसिंह कुँवर विजयी भएका छन् ।

यसअघि शैल्यशिखर नगरपालिका प्रमुखमा एमालेका विजयसिंह धामी र उपप्रमुखमा शान्ति खडायत निर्वाचित भएका छन् ।

मालिकार्जुन गाउँपालिकाको अध्यक्षमा एमालेका हिरासिंह धामी निर्वाचित भएको छन् । उपाध्यक्षमा भने गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) का कल्यानसिंह धामी निर्वाचित भए ।

लेकम गाउँपालिकामा माओवादीका रामदत्त जोशी अध्यक्षमा विजयी भएका छन् । उपाध्यक्षमा एमालेका माधवी जोशी जितेकी छन् ।

मार्मा गाउँपालिका अध्यक्षमा माओवादीका जमनसिंह धामी र उपाध्यक्षमा काँग्रेसका शर्मिला सिंह निर्वाचित भए ।
नौगाड गाउँपालिका अध्यक्षमा माओवादीका दलजितसिंह धामी विजयी भए भने उपाध्यक्षमा कांग्रेसका जगतसिंह ठगुन्ना विजयी भए ।

दुहुँ गाउँपालिको अध्यक्षमा एमालेका नरेन्द्रबहादुर वडाल निर्वाचित भए । उपाध्यक्षमा कांग्रेसकी शान्ति वमले जितेकी छन् ।

अपिहिमाल गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका भगतसिंह ठेकरे बोहरा निर्वाचित भए । उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार कांग्रेसकी देवकी वोहरा निर्वाचित भइन ।

महाकाली नगरपालिका प्रमुखमा एमालेका नरसिंह चैसीर र उपप्रमुखमा दुर्गा खत्री विष्ट निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार