११ जेष्ठ २०७९, बुधबार

जसले ३० वर्षदेखि निष्ठाको राजनीति गरिरहे, अवसर पाउदा पनि व्यक्तिगत लाभ लिएनन्



धनगढी / रणबहादुर चन्द, धनगढी उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार हुन् । करिब ३० वर्षदेखि नेकपा एमालेको सक्रिय राजनीति गरेका चन्दले मेयरको टिकटका लागि खासै लबिङ गरेका थिएनन् तर स्थानीय स्तरका प्राय जसो सबै नेताहरुको जोडबलमा चन्दले टिकट पाए । र अहिले उनी चुनावी प्रचारप्रसारमा व्यस्त छन् ।

४३ वर्षीय चन्द वि.स.२०३६ सालको ५ बैशाखमा बैतडीको साविक सलेना गाविसको बाकोट अहिलेको मेलौली नगरपालिका–३ मा सामान्य परिवारमा जन्मिएका हुन् । अध्ययनका क्रममा बैतडीबाट धनगढी झरेका उनले विद्यार्थीकालदेखि नै एमालेको राजनीति शुरु गरेका थिए ।

मानवीकी संकायमा स्नातक तहसम्मको अध्ययन गरेका चन्दको राजनीतिक यात्रा धनगढीको पञ्चोदय माध्यमिक विद्यालयबाट शुरु भएको हो ।

चन्दको ३० वर्षे राजनीतिक यात्रा
उनी पहिलो पटक २०५० सालमा पञ्चोदयको विद्यालय कमिटी सदस्य भए । २०५२ सालमा कैलाली बहुुमुुखी क्याम्पसको प्रारम्भीक कमिटि सदस्य बनेका चन्द दुई वर्षमै २०५४ सालमा क्याम्पस कमिटिको अध्यक्ष बनेर काम गरे ।

अनेरास्ववियूकै राजनीतिमा जिल्ला कमिटी सदस्य, सचिव, अध्यक्ष हुँदै केन्द्रीय सदस्यका रुपमा समेत काम गरेको अनुभव चन्दसँग छ ।

२०५८ सालमा पार्टीको धनगढी नगर कमिटी सदस्य बनेका उनले उपसचिव र सचिवका रुपमा पनि काम गरे भने लगत्तै जिल्ला कमिटि सदस्य बनेका थिए । एमालेको सातौँ जिल्ला अधिवेशनबाट चन्द कैलाली जिल्ला कमिटि सचिवमा विजयी भएर करीब सात वर्षसम्म कुशलतापूर्वक जिम्मेवारी निभाए ।

माओवादी केन्द्र र एमाले पार्टी एकीकरण भएर बनेको नेकपामा पनि उनले सचिवकै जिम्मेवारी पाए । नेकपाकालमा पार्टीको केन्द्रीय सदस्य र जिल्ला कमिटी उपाध्यक्षका रुपमा काम गरेको अनुभव पनि उनीसँग छ । तर गत पुसमा सम्पन्न भएको एमालेको जिल्ला अधिवेशनमा भने चन्द अध्यक्षमा चार मतले पराजीत भएका थिए ।

एमालेको ३० वर्षे राजनीतिमा निश्कलंक पात्रको छवि बनाएका उनले विभिन्न संघसंस्थामा आवद्ध भएर पनि काम गरिसकेका छन् । कैलालीको राजनीतिक वृत्तमा चन्दले सालिन, भद्र, इमानदार र निश्कलंकीत नेताको छवि बनाएका छन् ।

सामाजिक संघसंस्थाको आवद्धता
हालसम्म कुनै लाभको पदमा नबसेका चन्द २०६३ देखि २०६८ सालसम्म तत्कालीन धनगढी नगरपालिकाको राजनीतिक संयन्त्रमा बसेर काम गरेका थिए । २०६८ सालपछि करीब दुई वर्ष पार्टीको तर्फबाट जिल्ला विकास समितिमा पनि राजनीतिक संयन्त्रमा बसेका थिए ।

नेपाल रेडक्रस सोसाइटी, कैलाली जनपुस्तकालय, नवजीवन सहरकारी, नेत्र ज्योती संघ जस्ता दर्जन बढि संघसंस्थामा पनि काम गरेको अनुभव चन्दको छ । यी संघसंस्थामा काम गर्ने दौरानमा समेत उनी कहिल्यै पनि विवादमा आएनन् । चन्दले छिमेकी भारत र चिनको औपचारिक भ्रमण पनि गरिसकेका छन् ।

स्वच्छ र इमानदार छवि भएकै कारण चन्दलाई नेकपा एमालेले धनगढी उपमहानगरपालिकाको मेयर पदमा टिकट दिएको नेताहरु बताउँछन् ।

अहिले नेकपा एमाले पार्टीभित्रको आन्तरिक एकता बलियो हुनु, धनगढीमै ३० वर्षे राजनीतिक विरासत हुुनुु, व्यक्तिगत मत राम्रो हुुनुु, उपमेयरकी उम्मेदवार कन्दकला रानाका कारण राना र थारु समुदायको मत तान्नु, क्षेत्रगत मतमा बलियो पक्कड हुुनुु जस्ता कुरा चन्दको अनुकुुल मानिएका छन् ।

उनले असफल भइसकेका र राजनीतिक धरातल नभएका उम्मेदवारको विकल्प आफू भएको भन्दै मत मागिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार