महिला उम्मेदवारलाई पालिका प्रमुखमा जित्न सकस
एमालेले अछामको साँफेबगरमा पशुपति कुँवर, कञ्चनपुरको बेदकोट नगरपालिकामा कञ्चनपुरमा शुशिला सिंह, कञ्चनपुरकै बेलौरी नगरपालिकामा एमालेका केन्द्रीय सदस्य कमला बोहरालाई नगरप्रमुखको उम्मेदवार बनाएको छ । काँग्रेसले कैलालीको लम्कीचुँहा नगरपालिका शुशिला शाही र अछामको पञ्चदेवल विनायक नगरपालिका अम्विका चलाउने नगर प्रमुखको उम्मेदवार छन् । यस्तै नेकपा (एकीकृत समाजवादी) ले डडेल्धुरा अमरगढी नगपालिकामा संगिता भण्डारीलाई उम्मेदवार बनाएको छ ।

धनगढी / सुदूरपश्चिम प्रदेशका ८८ स्थानीय तहमध्ये विभिन्न प्रमुख राजनीतिक दलले छवटा पालिकामा महिलालाई पालिका प्रमुखको उम्मेदवार बनाएका छन् ।
०७४ सालको परिणामलाई विश्लेषण गर्दा अधिकांश पालिका प्रमुखका महिला उम्मेदवारलाई यसपटक जित्न कठिनाइ रहेको छ । रोचक प्रसंग त छवटै महिलाहरु नगरपालिकाको प्रमुखको उम्मेदवार हुन । गाउँपालिकामा भने प्रमुख दलहरुले महिलालाई अध्यक्षको उम्मेदवार बनाएका छैनन् ।
पाँच महिला उम्मेदवारमध्ये नेकपा (एमाले) बाट तीन जनालाई नगर प्रमुखको उम्मेदवार छन् । एमालेले अछामको साँफेबगरमा पशुपति कुँवर, कञ्चनपुरको बेदकोट नगरपालिकामा कञ्चनपुरमा शुशिला सिंह, कञ्चनपुरकै बेलौरी नगरपालिकामा एमालेका केन्द्रीय सदस्य कमला बोहरालाई नगरप्रमुखको उम्मेदवार बनाएको छ ।
नेपाली काँग्रेसले दुईवटा पालिकामा नगर प्रमुखको उम्मेदवार महिलालाई बनाएको छ । जसअनुसार कैलालीको लम्कीचुँहा नगरपालिका शुशिला शाही र अछामको पञ्चदेवल विनायक नगरपालिका अम्विका चलाउने नगर प्रमुखको उम्मेदवार छन् ।
यस्तै नेकपा (एकीकृत समाजवादी) ले डडेल्धुरा अमरगढी नगपालिकामा संगिता भण्डारीलाई उम्मेदवार बनाएको छ ।
राजनीतिक दलहरुले अघिल्लो चुनावमा दुई जनालाई मात्र पालिका प्रमुखको उम्मेदवार बनाएकोमा डोटीको दिपायल सिलगढी नगरपालिकामा एमालेका मञ्जु मलासीले चुनाव जितेकी थिइन । भने कैलालीको घोडाघोडी नगरपालिकामा काँग्रेका रिता चौधरी पराजीत भएकी थिइन ।
यसपटकको चुनावमा अछामको पञ्चदेवल विनायक नगरपालिकामा वाहेकका अरु पालिकामा महिला उम्मेदवारले जित्नका लागि धेरै मेहनत गर्नुपर्ने देखिन्छ ।
पञ्चदेवल विनायक नगरपालिकामा यसअघि काँग्रेसले चुनाव जितेको थियो त्यसैमा एमाले, माओवादी र एकीककृत समाजवादीले पनि छुट्टाछुट्टै उम्मेदवार बनाएकोले पनि काँग्रेसबाट उम्मेदवार बनेकी अम्विका चलाउनेले सजिलै चुनाव जित्ने अनुमान गरिएको छ ।
यसअघि एमाले दोस्रो भएको सो नगरपालिकामा एमाले विभाजन भएको र एकीकृत समाजवादीले समेत उम्मेदवारी दिएकोले नेतृ चलाउनेलाई जित्न सहज हुने अनुमान छ । चलाउने यसअघि उपप्रमुखमा विजयी हुनु भएको थियो ।
नेत्री चलाउनेपछि कैलालीको लम्की चुँहा नगरपालिकामा प्रमुखकी उम्मेदवार शुशिला शाहीलाई जित्न सजिलो मानिएको थियो । तर त्यहाँ काँग्रेस भित्रको असन्तुष्टीले एमालेका उम्मेदवार महादेव वजगाईलाई सहज हुन्छ कि भन्ने आकलन छ । काँग्रेस केन्द्रले शाहीलाई र प्रदेशले भक्त थापालाई उम्मेदवार बनाएर उम्मेदवारी दर्ता गरिएको थियो । पछि केन्द्रकै निर्णय अनुसार शाही उम्मेदवार त बनिन तर थापा र उनका शुभचिन्तकले सहयोग नगर्ने हुन कि भन्ने आशंका कायम छ । शाहीसंग प्रतिस्र्धामा रहेका एमालेका महादेव वजगाई ०७४ मा निर्वाचित नगर प्रमुख पनि हुन ।
यस्तै डडेल्धुराको अमरगढीमा अघिल्लो चुनाव एमालेले जितेको थियो । अहिले एमाले र काँग्रेस विपीवीच सहकार्य भएको छ । अमरगढीबाट एमालेबाट उपमेयर जितेकी संगिता भण्डारी एकीकृत समाजवादीबाट नगर प्रमुखको उम्मेदवार भएकी छन् । एकातिर गठवन्धन, अर्कोतिर एमाले विभाजनले भण्डारीलाई पनि नगर प्रमुख जित्न निक्कै सकस छ ।
कञ्चनपुरको बेदकोटमा यसअघि एमालेले जितेको थियो । जितेका नगर प्रमुख अशोक चन्द एकीकृत समाजवादीमा लागेका छन् भने अहिलेकी उपप्रमुख शुशिला सिंह एमालेबाटै नगरप्रमुखको उम्मेदवार छिन् । बेदकोटमा अघिल्लो चुनावमा दोस्रो शक्ति भएको काँग्रेस अहिले एक्लै चुनावमा होमिएको छ भने अकोतिर एकीकृत समाजवादी र माओवादीले गठवन्धन गरेका छन त्यसैले एमाले नगरप्रमुखमा उठाएकी सिंहलाई जित्न निक्कै मेहनत गर्नुपर्ने हुन्छ ।
कञ्चनपुरकै बेलौरी नगरपालिका यसअघि माओवादी एक्लैले जितेको थियो । त्यसैमा अहिले माओवादी र समाजवादीको गठवन्धन बनेको छ । त्यसैले एमालेका तर्फबाट उम्मेदवारी बन्नु भएकी कमला बोहरालाई पनि नगर प्रमुख जित्न ठूलो चुनौती छ । यद्यपी नेत्री बोहराले आफू लामो समयदेखि सोही क्षेत्रमा काम गरेको र सबैसंग परिचित भएकोले जित्नेमा ढुक्क रहेको बताउछिन ।
अछामको साँफेबगरमा एमालेबाट निर्वाचित नगरप्रमुख कुल कुँवर सहितका धेरै जिम्मेवार नेता कार्यकर्ता एकीकृत समाजवादीमा रहनु र त्यहाँ पहिले थारै मतले दोस्रो शक्ति भएको काँग्रेस र समाजवादीको गठवन्धन भएकोले एमालेकी नेत्री पशुपति कुँवरलाई जित्न सकस छ ।
तर एमाले नेता भीमबहादुर रावलको निर्वाचन क्षेत्रमा पर्ने नगरपालिका समेत भएकोले जनताले साँफेबगरमा एमालेलाई नै जिताउने विश्वास एमालेका युवा नेता एकिन्द्र कुँवरको छ । नेता रावल सोही नगरपालिकाका मतदाता समेत हुन । नेता रावल पनि एमाले जिताउन अछाम पुगेका छन् ।





