४ पुष २०८२, शुक्रबार

सुदूरपश्चिममा जनसंख्याको अनुपातमा दलित उम्मेदवारको संख्या न्यून



८८ वटा स्थानीय तहमा प्रमुख पदमा पाँच जना दलित मात्रै उम्मेदवार छन् । यस्तैगरी उपप्रमुखमा सात जना दलित समुदायबाट उम्मेदवार भएका छन् ।

सुदूरपश्चिम प्रदेशका ८८ वटा तहमा ७३४ वडा रहेका छन । त्यसमा माओवादीले ४९, एमालेले ३८, समाजवादीले १६ र कांग्रेसले १४ गरेर ११७ जनालाई वडाअध्यक्षको उम्मेदवार उठाएको छ ।


धनगढी/ सुदूरपश्चिम प्रदेशमा १८.९ प्रतिशत बसोबास रहेको दलित समुदायले मुख्य राजनीति दलहरुले पालिकाका प्रमुख/ उपप्रमुखदेखि वडाअध्यक्ष पदसम्म पर्याप्त उम्मेदवार नबनाएको गुनासो गरेको छ ।

दलित अगुवाहरुका अनुसार ८८ वटा स्थानीय तहमा प्रमुख पदमा पाँच जनालाई मात्रै उम्मेदवार बनाइएको छ । जसमध्ये धनगढी उपमहानगरपालिकामा नेपाली कांग्रेसले नृपबहादुर वड र अछामको चौरपाटी गाउंपालिकामा नेकपा (एमाले)ले राम आउजीलाई पालिका प्रमुखको उम्मेदवार बनाएको छ । धनगढीका वड दोस्रो पटक नगर प्रमुख हुने दाउमा छन् अरु सबै नयाँ उम्मेदवार हुन ।

यस्तै गरेर माओवादीले अछामको पञ्चदेवल विनायक नगरपालिकामा रामबहादुर विकलाई नगरप्रमुख र डडेल्धुराको आलिताल गाउंपालिकामा शेरसिंह पार्कीलाई अध्यक्षको उम्मेदवार बनाएको छ । एकिकृत समाजवादीले डडेल्धुराको परशुराम नगरपालिकामा लालबहादुर दमाइलाई नगरप्रमुखको उम्मेदवार बनाएको छ ।

यस्तैगरी उपप्रमुखमा सात जनालाई दलित समुदायबाट उम्मेदवार बनाएको छ । तीमध्ये एमालेले बैतडीको दशरथचन्द नगरपालिकाबाट सरस्वती नेपाली, बझाङको दुुर्गाथली गाउंपालिकामा शारदाकुमारी विक र बाजुराको हिमालीमा राजकला सार्कीलाई उम्मेदवार बनाएको छ ।

यस्तै माओवादीले कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकाबाट निरुदेवी कामीलाई उपप्रमुख र डडेल्धुराको अजयमेरुमा कलावती भाडलाई उपाध्यक्ष उठाएको छ । एकिकृत समाजवादीले कञ्चनपुरको कृष्णपुर नगरपालिकामा मञ्जु कुमारी नेपाली र बैतडीको दशरथचन्द नगरपालिकाबाट राजाराम भुललाई उपप्रमुखको उम्मेदवार बनाएको छ ।

माओवादी केन्द्रका नेता तथा संविधान सभा सदस्य हरिराम श्रीपाइली प्रमुख/उपप्रमुखमा एउटा दलले कम्तिमा १५/१५ जना उम्मेदवार उठाउनु पर्नेमा प्रमुख चार दलका प्रमुख/उपप्रमुखका गरेर दुईवटै पदका उम्मेदवार जोड्दा पनि १५ जना नपुग्नु दुःखद भएको बताउछन् । उनले संविधानले कल्पना गरेको र जनसंख्याको आधारमा उम्मेदवार बनाउन आगामी दिनमा दलहरुलाई अझ बढी दवाव दिने बताए ।

प्रमुख र उपप्रमुखपछि महत्वपूर्ण मानिने वडा अध्यक्ष पदमा पनि प्रमुख दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजबादी) ले न्यून मात्रमा मात्रै उम्मेदवार बनाएको पाइएको छ ।

सुदूरपश्चिम प्रदेशका ८८ वटा तहमा ७३४ वडा रहेका छन । त्यसमा माओवादीले ४९, एमालेले ३८, समाजवादीले १६ र कांग्रेसले १४ गरेर ११७ जनालाई वडाअध्यक्षको उम्मेदवार उठाएको छ ।

दलित अधिकारकर्मी हुकुम सार्की १८.९ प्रतिशत भन्दा दलित समुदायबाट एउटै दलले १८.९ प्रतिशतका दरले १३८ जना वडा अध्यक्षका उम्मेदवार उठाउनु पर्नेमा चार मुख्य दलबाट गरेर पनि १३८ जना नपुगेको गुनासो गर्नुभयो । उम्मेदवार बनेका पनि सबै जित्छन भन्ने हुदैन, अनि दलित समुदायको उचित प्रतिनिधित्व कसरी होला ।

सुदूरपश्चिममा सबैभन्दा बढी १२६ वडा भएको कैलालीमा मुख्य चार दलबाट दलित समुदायका ३८ जनाले मात्र वडाअध्यक्षको उम्मेदवारी दिएका छन । ३८ मध्ये एमालेबाट १४ जना माओवादीबाट ११ जना ,एकिकृत समाजवादीबाट आठ जना र नेपाली कांग्रेसबाट पाँच जना वडा अध्यक्षका उम्मेदवार भएका छन ।

९२ वडा रहेको कञ्चनपुरमा भने एमाले, कांग्रेस र एकिकृत समाजवादीले वडा अध्यक्षमा दलित उम्मेदवार नै उठाएका छैनन् । कञ्चनपुरमा माओवादीले भने आठ जनालाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । यस्तै दार्चुला जिल्लाका ६१ वडाबाट मुख्य चार दलले नै दलित समुदायबाट वडा अध्यक्षको उम्मेदवार नै बनाएका छैनन् ।

६९ वडा रहेको बाजुराबाट १२ जनालाई वडा अध्यक्षको उम्मेदवार बनाइएको छ । जसमध्ये एमालले छ जनालाई कांग्रेस र माओवादीले ३/३ जनालाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । ९४ वडा रहेको बझाङमा पनि १३ जनालाई मात्र वडा अध्यक्षको उम्मेदवार बनाइएको छ । तीमध्ये माओवादीबाट सात , एमालेबाट पांच र कांग्रेसबाट एक जनालाई उम्मेदवार बनाइएको छ ।

९१ वडा रहेको अछाममा मुख्य चार दलले दलित समुदायबाट ११ जनालाइ मात्र वडा अध्यक्षको उम्मेदवार बनाएका छन । तीमध्ये माओवादीबाट पाँच,एकिकृत समाजवादीबाट तीन, एमालेबाट दुई र कांग्रेसबाट एक जना वडा अध्यक्षका उम्मेदवार छन ।

यस्तै गरेर ८४ वडा रहेको बैतडीबाट दलित समुदायबाट सात जना मात्र वडा अध्यक्षको उम्मेदवार छन । बैतडीमा एमालेले तीन, माओवादीले तीन र कांग्रेसले एक जनालाई टिकट दिएको छ । ६५ वडा रहेको डोटीमा पनि दलित समुदायबाट १५ जना मात्र वडा अध्यक्षका उम्मेदवार छन । जसमध्ये एमालेले सात , माओवादीले छ र समाजवादीले दुई जनालाई वडा अध्यक्षको उम्मेदवार बनाएको निर्वाचन आयोगको वेवसाइडमा राखिएको उम्मेदवारहरुको विवरणमा उल्लेख छ ।

५२ वडा रहेको डडेल्धुरामा भने अरु जिल्लाको तुलनामा दलित समुदायबाट वडा अध्यक्षको उम्मेदवार बन्ने् संख्या बढी देखिएको छ । डडेल्धुराबाट माओवादीले १३ ,कांग्रेसले तीन , समाजवादीले दुई र एमालेले एकलाई गरेर १९ जनालाई उम्मेदवार बनाइएको छ ।

सुदूरपश्चिममा साना दलले भने प्रमुख उपप्रमुख सहित वडा अध्यक्षमा उल्लेख्य मात्रामा दलित समुदायबाट उम्मेदवार बनाएका छन । दलित समुदायबाट स्वतन्त्र उम्मेदवार पनि उल्लेख्य मात्रामा छन् ।

नेपाली काँग्रेस कैलालीका सचिव नृप सुनार मुख्य दलबाट दलित उम्मेदवार कम भएको स्वीकार गर्दे हामी आफैले पनि उम्मेदवार हुनका लागि अग्रसरता देखाउनु पर्ने सुझाव दिए ।

अर्का दलित अधिकारकर्मी तथा पत्रकार मिलन परियार भने उम्मेदवार तय गर्ने ठाउँमा दलितको पहुँच नभएकोले दलितले कम टिकट पाउने गरेको बताउछन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार