१० श्रावण २०८१, बिहीबार

एमालेले जीते स्थानीय तहमाथि खतरा– प्रधानमन्त्री देउवा



गठबन्धनप्रति इमान्दार बन्न प्रचण्डको कार्यकर्तालाई निर्देशन

ओली काल्पनिक विकासका सूत्राधार : उपाध्यक्ष हमाल


धनगढी/ प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले एमालेलाई चुनाव जिते केपी ओली स्थानीय तह भंग गरिदिने खतरा रहेको बताए छन् ।

सोमबार कैलालीको धनगढीमा आयोजित सत्ता गठबन्धनको चुनावी आमसभामा देउवाले पटक पटक संसद भंग गरेका ओलीले स्थानीय तह पनि भंग गर्न सक्ने बताए ।

‘ओलीले स्थानीय सरकारलाई पनि भंग गरिदिन्छन्। हिजो संसद भंग गर्नेले स्थानीय सरकारलाई पनि बाँकी राख्दैनन्’ देउवाले भने । संसद भंग गर्ने अधिकार नहुँदा पनि ओलीलाई दुईपटक संसद विघटन गरेको देउवाको भनाइ छ । एमाले पार्टीलाई जिताएर के गर्ने ? फेरि संसद भंग गर्ने ? फेरि संसदमा हंगामा गर्ने ? देउवाको प्रश्न छ ।

एमालेलाई जिताउनु भनेकै संसद भंग गर्न म्यान्डेट दिन भएको देउवाले बताए । देउवाले भने, ओलीजीको पार्टी ल्याउनु भनेको संसद भंग गर्ने नै हो, यस्तो व्यक्तिलाई संसदमा ल्याउनु हुँदैन । ओलीजीले जितेको खण्डमा फेरि त्यही गर्ने हो ।

देउवाले विकास निर्माणका काम र बजेट विनियोजन गर्दा सुदूरपश्चिमलाई प्राथमिकतामा राखिने बताए । सुदूरपश्चिमका कारणले आज प्रधानमन्त्री भएको भन्दै देउवाले यहाँको विकास गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताए ।

मेरो घर डडेल्धुरा हो थाहा नै छ । यहाँ (कैलाली) बाट पनि मलाई तपाईहरूले जिताउनु नै भएको हो । यो ठाउँ मलाई अत्यन्तै महत्वपूर्ण छ, उनले भने सुदूरपश्चिमका कारणले म आज प्रधानमन्त्री भएको छु । तपाईहरूको सहयोगले प्रधानमन्त्री भएको हुँ । मैले यहाँको विकास अवश्य गर्ने छु ।

सुदूरपश्चिममा आफूले धेरै ठाउँमा काम गरेको भन्दै बाँकी रहेका काम पनि पूरा गर्ने विश्वास दिलाए । तपाईलाई थाहा छ । यहाँ इन्डिया भएर आउनुपथ्र्यो । मैले २२ वटा पुल बनाए । कर्णाली पारी पनि बेलुका हुनासाथ जान पाईदैन थियो, उनले भने, ‘मैले रातीपनि जान पाउने व्यवस्था गरेको छु । सुदूरपश्चिममा मैले धेरै ठाउ“मा काम गरेको छु । बाँकी रहेका काम पनि पुरा गर्ने छु । घर–घरमा पक्की बाटो र बिजुली पुर्याउने देउवाको भनाइ छ ।

साथै उनले गठबन्धनप्रति इमान्दार बन्न पनि कार्यकर्तालाई निर्देशन दिए । पार्टीका बागी उम्मेदवारलाई विज्ञप्तिमार्फत उम्मेदवारी फिर्ता लिन उनको आग्रह छ । उम्मेदवार फिर्ता नलिए कारवाही गरिने पनि देउवाले बताए ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छोरीलाई जिताइएन भने देश दुर्घटनामा पर्छ भनेर आफूले कतै पनि टिप्पणी नगरेको दाबी गरे । आफूले देशको स्थायित्वका लागि यस्तो भन्दा एकथरिले यस्तो गलत हल्ला फैलाएको प्रचण्डको भनाइ थियो ।

प्रचण्डले चितवनमा आफूले गरेको भाषणको वचाउ गरेका हुन् । उनले गठबनले २२ गते चितवनमा आयोजना गरेको सभामा छोरी रेनु दाहालका लागि भोट माग्दै मत नदिए देश दुर्घटनामा पर्छ भनेका थिए ।

यो गठबन्धन लोकतन्त्रको आवश्यकता हो । समृद्धि र विकासको आवश्यकता हो भन्ने तपाईं चितवनबासीलाई लाग्छ र रेणु दाहाल र चीत्रसेन अधिकारीको टिमलाई भोट हाल्नुभयो भने म निकै उत्साहित हुनेछु र यो गठबन्धनलाई १५/ २० वर्ष लैजाने मेरो प्रतिवद्धता हुनेछ प्रचण्डले भनेका थिए, हाल्नुभएन भने देश नै दुर्घटनामा पर्छ ।

तर उनले सोमबार आफूले कहि पनि छोरीलाई जिताइएन भने देश दुर्घटनामा पर्छ भनेर नभएको बताए ।
मैले कहि पनि छोरीलाई (रेनु दाहाल)लाई जिताएन भने देश दुर्घटना हुन्छ भनेर चेतावनी दिएको छैन’ प्रचण्डले भने, तर एकाथरीले गलत हल्ला फैलाए । मैले गठबन्धनले निर्वाचन नजित्दा गलत व्यक्तिहरूले जित हात पार्ने र यसले देश दुर्घटनामा पर्ने भनेको हो ।

गठबन्धन किन आवश्यक छ भन्ने कुरा अहिले धेरै गहिरो भएको उनको भनाइ थियो ।

अहिले गठबन्धनलाई कसरी विभाजन गर्न सकिएला भनेर केही तत्व लागेको र यसका लागि विभिन्न प्रयास भइरहेको उनको भनाइ थियो । त्यस्तो तत्वले शीर्ष नेतृत्वमा असमझदारी होस् भन्ने चाहेको तर त्यो हुन नसक्ने उनको दाबी थियो ।
गठबन्धले देश दुर्घटनाबाट बचाएको बताउँदै उनले अब पनि गठबन्धन आवश्यक रहेको तर्क गरे ।

चुनावी सभामा बोल्दै नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय उपाध्यक्ष प्रमेश हमालले ओली काल्पनिक विकासका सूत्राधार रहेको बताउदै एमालेको सर्वसत्तावादी चिन्तन भएको पार्टी भएकोले पाँचदलीय गठबन्धनलाई जिताउन आग्रह गरे।

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री दीर्घ सोडारीले चुनावी तालमेलमा नेपाली काँग्रेस इमान्दार हुनुपर्ने बताए । काँग्रेस र नेपाली काँग्रेसका सबै कार्यकर्ता गठबन्धनका पक्षमा इमान्दारीतापूर्वक लाग्ने हो भने जीत सुनिश्चित छ ।

काँग्रेस फराकिलो भएर गठबन्धनको पक्षमा लाग्दा सुदूरपश्चिमा एमालेका उम्मेदवार बडारिने एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका मन्त्री सोडारीको भनाइ छ । काँग्रेस फराकिलो भएर गठबन्धनको पक्षमा लाग्ने हो भने केपी ओलीका मान्छे सबै बडारिने छन् सोडारीले भने ।

यसमा एकीकृत समाजवादी होस्टेमा हौसे गर्न तयार रहेको उनको भनाइ छ । गठबन्धनमा केही ठाउँमा कुरा मिल्न नसकेको भन्दै संयोजनकर्ताका हैसियतले काँग्रेसले विशेष पहल लिने उनले बताए । धनगढी उपमहानगरपालिका गठबन्धनका साझा उम्मेदवार नृप वड र उपमेयर शान्ति अधिकारीको टिमको जित सुनिश्चित रहेको उनको भनाइ छ ।

कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री फरमुल्लाह मन्सुर, केन्द्रीय सदस्य डा. आरजु राणा देउवा र ईश्वरी न्यौपाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रम कांग्रेस कैलाली सभापति नारायण दत्त भट्टको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा धनगढी नगर प्रमुखका साझा उम्मेदवार नृपबहादुर वडले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव केशव मिश्रले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार