बझाङमा एमालेलाई विरासत जोगाउन चुनौती
-गठबन्धन कृतिम र एजेन्डाविहिन छ, १२ वटै पालिकामा जित्छौं : एमाले, – गठवन्धनसंग एमाले टिक्दैन : गठबन्धन. -स्वतन्त्र उम्मेदवार गठबन्धनलाई चुनौती

बझाङ/ स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा बझाङमा दलहरुले प्रचार प्रसारका गतिविधीलाई तिव्र पारेका छन ।
प्रमुख प्रतिस्पर्धी एमाले र गठबन्धनका उम्मेदवारहरुले जीत आफ्नो पक्षमा हुने दावी गरिरहेका भए पनि दुवै पक्षले दावी गरे जस्तो सहज अवस्था भने कसैका लागि छैन ।
यसअघि १२ वटा पालिका मध्ये ८ पालिकामा प्रमुख उपप्रमुख दुवै र एउटामा उपप्रमुख सहित ४९ वटा वडा जितेको एमालेलाई पुरानो विरासत जोगाउने ठूलो चुनौती छ ।
बझाङमा एमाले ०५१ सालको मध्यावधी चुनावदेखि बलियो हुँदै आएको भए पनि यसपटक चुनौतीपूर्ण छ । ०५४ को स्थानीय चुनावमा पनि एमालेले अधिकांश गाविस जितेको थियो ।
गत निर्वाचनमा नेपाली काङग्रेससँग एक्लै भिडेको एमालेका विरुद्ध यसपटक सबै पालिकामा गठबन्धन बनेको छ । ०७४ निर्वाचनमा १० वटा पालिकामा नेपाली काङग्रेस र एमालेको प्रतिस्पर्धा भएको थियो भने दुई वटा पालिकामा माओवादी केन्द्र एमालेको निकटतम प्रतिद्धन्दी थियो । यसपटक नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीले एमाले विरुद्ध मोर्चाबन्दी गरेका छन् ।
सुदुरपश्चिमका पहाडी जिल्लामा बलियो उपस्थिती रहेको एमालेलाई यो पटक पहिला जितेका पालिकाहरु जोगाउने गाह्रो हुने विष्लेषण गर्न थालिएको छ । एमाले कम्तीमा छ पालिकामा गठबन्धनलाई पराजित गर्न सक्ने स्वतन्त्र विष्लेषकहरुको अनुमान रहेको भए पनि एमालेका नेताहरु भने पहिला भन्दा आफ्नो अवस्था बलियो हुने दावी गर्छन ।
‘गठबन्धनसँग न त जनताको समस्या सम्बोधन गर्ने एजेन्डा छ , न त उनीहरुको राजनीतिक बैचारिक दृष्टीकोण मिल्छ’ नेकपा एमालेका केन्द्रिय सदस्य एवं संविधान सभा सदस्य अफिलाल ओखेडा भन्छन ‘यो त सत्ता स्वार्थका लागि निर्माण भएको कृतिम गठबन्धन हो भन्ने जनताले प्रष्ट बुझिसकेका छन । त्यसैले हाम्रो अवस्था पहिला भन्दा राम्रो हुनेमा कुनै शंका छैन’ ।
एमाले पहिला भन्दा एकताबद्ध रहेको, गुट उपगुट गर्नेहरु अहिले पार्टीमा नरहेको र गठबन्धनमा व्यापक असन्तुष्टी रहेको कारण एमालेको अवस्था बलियो रहेको अर्का केन्द्रीय सदस्य एवं बझाङ जिल्लाका सहइन्र्चाज ऐन महरको भनाई छ ।
‘यो एमालेका विरुद्धको गठबन्धन भनिए पनि व्यवहारमा एमालेको पक्षमा गठबन्धन भए जस्तो देखिएको छ’ उनले भने ‘एमाले पहिला भन्दा एकताबद्ध भएर गएको अवस्थामा स्वार्थको जगमा बनेको गठबन्धनको टिक्नेवाला छैन’।
एमाले जस्तै गठबन्धनका घटकहरुले पनि १२ वटै पालिकामा आफ्नो जित हुने दावी गरिरहेका छन । यद्यपी नेताहरुले भने जस्तै गठबन्धनलाई अस्तित्व रक्षा गर्न भने सहज छैन । गठबन्धनले प्रमुख प्रतिस्पर्धी एमालेसँग मात्रै नभई आफ्नै सहयात्री दलबाट बागी बनेका उम्मेदवारहरुसँग पनि कतिपय पालिकामा प्रतिस्पर्धा गर्नु पर्ने भएको छ ।
तल्कोट, खप्तडछान्ना, थलारा, छविसपाथीभेरा, दुर्गाथली, केदारस्युँ लगायतका पालिकामा पालिका प्रमुख पदमा गठबन्धनबाट असन्तुष्टहरुले बागी उम्मेदवारी दिएका छन । यस्तै पालिका आधा दर्जन पालिका उपप्रमुख र ९४ वटा मध्ये ७० भन्दा बढी वडा अध्यक्ष पदमा पनि गठबन्धन भित्रैबाट स्वतन्त्र उम्मेदवारहरु चुनावी प्रतिस्पर्धामा रहेका छन ।
भागबन्डामा ७ पालिका आफूलाई राखेर ३ वटा एकिकृत समाजवादी र दुई वटा पालिका प्रमुख माओवादीलाई दिएको काँग्रेस भित्रका अन्तुष्टहरुले धेरै जसो पालिकामा बागी उम्मेदवारी दर्ता गराएका छन ।
कतिपय पालिकामा माओवादीबाट असन्तुष्ट बनेकाहरु पनि बागी छन ।
‘मतदान हुन भन्दा अगाडि हामीले बागी उम्मेदवारहरुलाई सार्वजनिक माध्यमबाट उम्मेदवारी फिर्ता गराउछौ ।’ प्रतिनिधी सभा सदस्य समेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रकाश रसाइलीले भने ‘बागिको व्यवस्थापनपछि गठबन्धन एकताबद्ध हुन्छ ।
१२ वटै पालिकामा गठबन्धनको जित सुनिश्चित गराएरै छाड्छौ’ उनले स्वतन्त्र उम्मेदवारी दिएकाहरुलाई पार्टीका विभिन्न कमिटीको जिम्मा दिने र भविश्यमा आउने अवसरमा प्राथमिकतामा राख्ने शर्तमा व्यवस्थापन गर्ने तयारी रहेको बताए ।
दलका नेताहरुले जित आफ्नो पक्षमा रहेको दावी गरे पनि जिल्लाको राजनीतिक माहौल पहिला भन्दा फरक भएको र गठबन्धन पनि भएका कारण दुवै पक्षले आसा गरे जस्तो नभई मिश्रित परिणाम आउन सक्ने स्वतन्त्र विश्लेषकहरुको अनुमान छ । ‘गठबन्धन बने पनि त्यहाँ भित्र थुप्रै असन्तुष्टी छन ।
काँग्रेसमा गठबन्धन विरोधी मत पनि बलियो भएका कारण सबै मतदाताले अर्काे दलको चिन्हमा छाप लगाउन सक्ने अवस्था पनि देखिदैन’ जयपृथ्वी बहुमुखी क्याम्पसका सहायक प्राध्यापक भानुभक्त जोशीले भने ‘एमाले भित्र पनि टिकट वितरणको सवाललाई लिएर थुप्रै कार्यकर्ताहरु रुष्ट भएको, केही कार्यकर्ता एकिकृत समाजवादीमा लागेकोले पहिलाको जस्तो नतिजा आउने सम्भावना कम छ ।
उनले असन्तुष्टीहरु घटाउन सके गठबन्धन नै बलियो भएर आउन सक्ने तर १२ वटै पालिका एक्लै कसैले पनि जित्न नसक्ने बताए ।





