म सधैं जनतासामु निहुरिएको छु, निहुरिरहनेछुु– नगर प्रमुखका उम्मेदवार वड
धनगढी / आसन्न स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिका प्रमुखका गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका नृपबहादुर वडले आफू सधैं जनता सामु निहुरिएको र निहुरिरहने बताएका छन् ।
उनले आफ्नो कामले कहिल्यै पनि नगरबासीहरुको शीर निहुरिन नदिने प्रतिवद्धता दोहोराए ।
“फलेको वृक्षको हाँगो सधैं निहुरिन्छ” शनिबार धनगढीमा बुद्धिजीवी, पेसाकर्मी तथा व्यवसायीहरुको एक कार्यक्रममा काँग्रेसका तर्फबाट नगर प्रमुखका उम्मेदवार वडले भने– मलाई कसैले पनि पहिले नमस्कार गर्नुपर्दैन, म आफै सबैलाई नमस्कार गर्थे र गर्नेछु ।
उनले आफू पाँच वर्ष नगर प्रमुख हुँदा कहिल्यै पनि ठूलो पदमा पुगेको अनुभव नगरेको बताए । भने– मैले आफूलाई सधैं जनताको सेवकका रुपमा समर्पित गरे । जीवनभरी सेवक नै रहनेछु ।
उनले नगर प्रमुखका रुपमा पाँच वर्ष धनगढीलाई महानगरपालिका बनाउने लक्ष्यका साथ भौतिक पूर्वाधार निर्माणमा केन्द्रीत रहेको दाबी गरे ।
उनले भने– कहिलेकाही हामीमाथि सडकको चौडाई घटायो भन्ने आरोप लगाउँछन् । तर, ३० मिटर चौडाईको सडक बनाउँदा एक हजार घर भत्काउने कि योजना फिर्ता गर्ने । त्यसैले हामीले २४ मिटर चौडाईमा झार्यौ र ८० घरमात्रै भत्काउनु पर्यो ।
उनले धनगढीमा विकासको जग बनिसकेकोले अब व्यवस्थित, सुन्दर र समृद्ध धनगढीको परिकल्पना साकार पार्ने लक्ष्यका साथ अघि बढेको बताए ।
“साच्चै भन्नहुन्छ भने हाम्रो पाँच वर्षे कार्यकाल हावाहुरी, कोरोना महामारी, कानुन, कर्मचारी तथा स्रोतसाधनको कमी सहितका चुनौतिबीच वित्यो” उनले भने– यी तमाम चुनौति र कठिनाईकाबीच पनि हामीले धनगढी उपमहानगरपालिकामा भौतिक संरचना निर्माणको काम लगभग पुरा गर्न सफल भयौं ।
उनले उपमहानगरका सबै १९ वडाका टोलहरुमा समेत सडक सञ्जाल विस्तार, हरेक नदी र खोलामा पुल, १७ वटा वडामा वडा कार्यालय भवन, ६७ वटा सामुदायिक विद्यालय भवन, २२८ कक्षा कोठा, सिटीहल, शीतगृह, सबै वडामा पार्क र खेल मैदान लगायतका कामहरु पुरा भइसकेको बताए । भने– अब क्षेत्रीय विमानस्थल, गौरिफन्टा नाकाको स्तरोन्नती, जस्ता काम बाँकी छन् । हामी धनगढीलाई महानगरपालिका बनाउने लक्ष्यका साथ अघि बढेका छौं ।
कार्यक्रममा उपप्रमुखका गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका शान्ति अधिकारीले गठबन्धनका साझा उम्मेदवारहरुलाई कुनै पनि दलबाट मतदान गर्नेमा कत्ति पनि शंका नरहेको बताइन् ।
उनले भनिन्– यो विश्वासको गठबन्धन हो । यही विश्वासका साथ हामी सबैले साझा उम्मेदवारहरुलाई विजयी गराऔं ।
उनले गठबन्धनभित्रका दलहरुबीच एकअर्काबीच पूर्ण विश्वास रहेको बताइन् ।
कार्यक्रममा मदन पुरस्कार विजेता साहित्यकार रामलाल जोशी, उद्योगी अनिलकुमार भुजनिया, अधिवक्ताद्वय गंगाराम पाध्याय र प्रेम चन्द, तेजबहादुर सिंह, सुवास शाही लगायतले मन्तव्य व्यक्त गरेका थिए ।