१६ बैशाख २०८१, आईतवार

कैलालीमा पाँच पालिका प्रमुख र दुई उपप्रमुख दोहोरिने दाउमा




धनगढी / स्थानीय तहको पहिलो निर्वाचनबाट निर्वाचित भइ कैलालीमा पाँच वर्षसम्म पालिका चलाइ सक्नु भएका पाँच जना निवर्तमान प्रमुख पुनः सोही पदमा दोहोरिन चुनावी मैदानमा छन् ।

नृपबहादुर वड, शेरबहादुर चौधरी, ममताप्रसाद चौधरी, महादेव बजगाइँ र लाजुराम चौधरी फेरि पालिका प्रमुखमा दोहोरिने दाउमा रहेका हुन । यस्तै, दुई जना उपप्रमुख पनि सोही पद्मा दोहोरिनका लागि चुनावी मैदानमा छन् ।

प्रदेशको एकमात्रै धनगढी उपमहानगरपालिकामा ०७४ मा निर्वाचित वड फेरि चुनावमा होमिएका छन् । अघिल्लो निर्वाचनमा एक्लै लडेको नेपाली काङ्ग्रेस यसपटक तीन दलसंग गठबन्धन गरेर चुनावी मैदानमा छ ।

धनगढी उपमहानगरपालिकामा अगाडि सुरु भएका दीगो विकासका कार्यलाई अझ व्यवस्थित तरिकाले अगाडि बढाउनका लागि पार्टीले विश्वास गरेर आफूलाई दोहोर्याइएको वडले बताउने गरेका छन् । ‘अनुभव र विकासको कार्य जुन द्रूत गतिमा अगाडि बढाइएको त्यो कामको आधारमा पार्टीले मलाई विश्वास गरेको हो’, उनले भने ‘मैले धेरै काम पूरा गरे । केही अधुरा छन्, केही सुरु भएका छन् । अधुरा ती कामहरुलाई पूरा गर्न सहज हुने भएकाले पार्टीले मलाई दोहो¥याएको हो ।’

आफूले नगरवासी, कर्मचारी, पत्रकार सबैको सुझावको आधारमा काम गरिरहेकाले चुनाव जित्नेमा सतप्रतिशत विश्वस्त रहेको वडले बताए । ‘म चुनाव जित्नेमा शतप्रतिशत ढुक्क छु’, उनले भने ।

यसैगरी, अघिल्लो निर्वाचनमा भजनी नगरपालिकाको प्रमुखमा जित्नु भएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का शेरबहादुर चौधरी फेरि सोही पद्मा उम्मेदवार छन् । गठबन्धन आवद्ध उनको दलले विश्वास गरेर पुनः नगर प्रमुखको टिकट दिएको हो ।

भजनीमा चुनावी प्रचारमा रहेका माओवादी नेता तथा संविधान सभा सदस्य हरिराम श्रीपाइलीले भने यसपटक पनि माओवादी उम्मेदवारले जित्ने दावी गरे । यद्यपी भजनीमा रेशम चौधरीको श्रीमती अध्यक्ष रहेको नागरिक उन्मुक्ती पार्टीले समेत भड्किलो तरिकाले चुनावी प्रचार गरिरहेको छ ।

लम्कीचुहा नगरपालिकामा महादेव बजगाई पुनः नगर प्रमुखमा दोहोरिनका लागि चुनावी मैदानमा छन् । उनले पनि आफूले अघिल्लो कार्यकालमा शुरु गरेका काम पूरा गर्न फेरि उम्मेदवारी दिएको बताए । वजगाईले काँग्रेसको अन्तरद्धन्द्धबाट फाइदा हुने विश्वास धेरैको छ ।

घोडाघोडी नगरपालिकामा ममताप्रसाद चौधरी पनि फेरि चुनाव उठेका छन् । बजगाई र चौधरी एमालेबाट फेरि चुनवाी मैदानमा छन् । एमाले कैलालीमा एक्लै चुनावी मैदानमा उत्रेको छ ।

यस्तै, कैलारी गाउँपालिकाको अध्यक्ष भएर पाँच वर्षसम्म काम गरिसकेका लाजुराम चौधरी फेरि पनि सोही पदमा उम्मेदवार छन । माओवादी केन्द्रका चौधरी अघिल्लो निर्वाचनमा नेपाली काङ्ग्रेसका उम्मेदवारलाई पराजित गरेर अध्यक्ष पदमा विजयी हासिल गरेका थिए ।

उनले पाँच वर्ष काम गरेको कैलारी गाउँपालिका गत आर्थिक वर्षको कार्य सम्पादन मूल्याङ्कनमा नेपालकै उत्कृष्ट पाँच पालिकाभित्र परेको छ ।

चौधरीले नेतृत्व गरेको पालिका नेपालमै उत्कृष्ट पाँच पालिकाभित्र परेकाले उहाँलाई माओवादी केन्द्रले पुनः सोही पदमा लागि दोहोर्याइएको हो ।

यस्तै, २०७४ को निर्वाचनमा एमालेबाट जितेर गोदावरी नगरपालिकाको उपप्रमुखको रुपमा पाँच वर्षसम्म काम गरेकी रत्ना कडायत पनि फेरि सोही पदमा लागि निर्वाचनमा होमिएकी छन् । सत्तासाझेदार दलहरुको सहमतिमा उनी उपप्रमुखमा उठेकी हुन । उनी नेकपा (एकीकृत समाजवादी) को उम्मेदवार हुन ।

यस्तै कैलारी गाउँपालिकाका अहिलेका उपाध्यक्ष तथा माओवादी नेत्री लक्ष्मी सत्गौवा थारु पनि दोहोरिनका लागि मैदानमा छन । तर गठवन्धनले उनलाई आधिकारिक उम्मेदवार नरहेको बताएको छ ।

१३ पालिका रहेको कैलालीमा बाँकी आठ पालिकामा भने नयाँ अनुहारलाई दलहरुले अगाडि सारेका छन् । वडा अध्यक्षहरुमा भने अधिकाङ्स पुरानै अनुहारलाई उम्मेदवारको रुपमा दोहोर्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार