१५ बैशाख २०८१, शनिबार

धनगढीलाई महानगरपालिका बनाउने संकल्प गर्छौ– मेयरका उम्मेदवार वड



धनगढी / धनगढी उपमहानगरपालिकाको प्रमुख पदमा गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वडले आगामी पाँच वर्षभित्र धनगढीलाई महानगरपालिका बनाउने संकल्प व्यक्त गरेका छन् ।

नगर प्रमुखका उम्मेदवार वडले वितेका पाँच वर्षमा निर्माण भएका भौतिक संरचनाहरूको जगमा धनगढीलाई सुन्दर, समृद्ध र व्यवस्थित महानगरपालिका बनाउन आफ्नो अठोट रहेको बताए ।

सोमबार धनगढीमा गठबन्धनको संयुक्त प्रतिवद्धतापत्र सार्वजनिकीकरण कार्यक्रममा उनले भने– हामीले वितेका पाँच वर्षमा आवश्यक पूर्वाधार निर्माण गरिसकेका छौं, अब यिनै भौतिक संरचनाकोे जगमा रही धनगढीलाई महानगरपालिका बनाउँछौं ।

‘राज्यको पुनःसंरचनापछि २०७४ सालमा भएको निर्वाचनबाट निर्वाचित भएर आएपछिका पाँच वर्षमा समृद्ध, सुन्दर र व्यवस्थित नमुना शहरका रुपमा धनगढीलाई विकास गर्न आवश्यक सबै भौतिक संरचनाहरू तयार गर्न सफल भएका छौं ’ उनले भने– पाँच वर्षे कार्यकालको हामी आफैंले समिक्षा गर्दा हामी ढुक्कसंग यो कुरा भन्न सक्छौ ।

उनले विकासका प्रतिफलहरू प्राप्त हुन निश्चित रुपमा केही समय लाग्ने बताए । ‘हामीले हाम्रो पाँचवर्षे कार्यकालमा गरेका कामहरूले धनगढी उपमहानगरपालिकाको आर्थिक, सामाजिक, र सांस्कृतिक पक्षमा भइरहेका सकारात्मक उपलब्धीहरू आम जनताले अनुभव गरिसक्नु भएको छ’ उनले भने– अहिले चुनावका बीच हामी आफ्नो पाँच वर्षे कार्यकालको आफैंले समिक्षा गरिरहेका छौं ।

यो पाँच वर्षमा विकास निर्माण, सेवा प्रवाहदेखि आर्थिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रमा के कस्तो जग कोर्न सकियो ? के कस्तो परिवर्तन आयो ? भन्ने उपमहानगरपालिकाका आम नगरबासीले मनन् गरेका छन् ।’

उनले आफ्नो पाँच वर्षे कार्यकाल निकै चुनौतिपूर्ण रहेको चर्चा गरे । भने– शुरुको एक वर्ष हामीलाई कर्मचारी र स्रोत व्यवस्थापन, नीति तथा ऐन कानुन निर्माण र व्यवस्थित नगरको दीगो खाका निर्माणको चुनौति रहयो । बीचका दुई वर्ष कोरोना महामारीले सिर्जना गरेका समस्याहरूको व्यवस्थापनमा विते ।

पहिलेदेखि नै अव्यवस्थित ढंगले विकास र विस्तार भइरहेको धनगढी उपमहानगरको व्यवस्थित विकासको जग बसाल्ने चुनौति रह्यो । तर, हामीले यी तमाम चुनौति र कठिनाईहरूका बीच पनि आम नगरबासीको चाहना र आवश्यकताका आधारमा विकास निर्माण तथा सेवाप्रवाहलाई अघि बढायौ ।’

उनले आफनो कार्यकालमा धनगढी मुलुकका सात सय ५३ पालिकामध्ये सबैभन्दा उत्कृष्ट पालिका बनेको स्मरण गरे ।
कार्यक्रममा गठबन्धनका साझा उपप्रमुखका उम्मेदवार नेकपा माओवादी केन्द्रका नेतृ शान्ति अधिकारी क्षेत्रीले प्रतिवद्धतापत्रमा उल्लेख गरिएका सबै कार्यहरू आगामी पाँच वर्षभित्र पुरा गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य जीवन राना, जिल्ला सभापति नारायणदत्त भट्ट, माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य रमेश धामी, काँग्रेसका जिल्ला सचिवद्वय नृपबहादुर सुनार र केशव मिश्र, क्षेत्रीय सभापति भीम पडाल, महासमिति सदस्यहरू क्षितिज भण्डारी, रीता भण्डारी बम, रक्षा महरा, निपा चोखाल, महाधिवेशन प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रम नेपाली काँग्रेस नगर सभापति यज्ञराज उपाध्यायको अध्यक्षतामा भएको थियो ।

सो अवसरमा काँग्रेस जिल्ला सचिव तथा प्रतिवद्धतापत्र निर्माण समिति संयोजक सुनारले प्रतिवद्धतापत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रमको सञ्चालन काँग्रेसका नगर सचिव दीनेश खत्रीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार