१६ बैशाख २०८१, आईतवार

हलो बोकेर सिंहदरवार घेर्ने राजुराम उपप्रमुखका उम्मेदवार



हलिया मुक्तीका लागि सिंहदरवार घेर्ने क्रममा हलो बोक्दै राजाराम भुल ।


बैतडी / हलिया मुक्तिका लागि बैतडीबाट हलो बोकेर सिंहदरवार घेर्ने चर्चित हलिया नेता राजुराम भुल दशरथचन्द नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवार बनेका छन् ।

विगत २५ वर्षदेखि सामाजिक आन्दोलनमा सक्रिय राजुराम भुल जनआन्दोलन र हलिया आन्दोलनका अगुवा हुन । निरन्तर हलिया आन्दोलन गरेपछि ०६५ भदौ २१ गते तत्कालिन सरकारले हलियाका अगुवा नेताको रुपमा राजुराम भुलसँग हस्ताक्षर गरेर हलिया मुक्त राष्ट्र घोषणा गरेको थियो ।

नेपाल कृषि प्रधान देश भएकाकारण आमकिसान, मजदुरको जीवनमा सोचे जस्तो परिवर्तन नआएकाले आफू स्थानीय तहको उप प्रमुख पदमा उम्मेदवार बनेको भुलले बताए ।

राजुराम भुल भन्छन्, “हलो जोतेर कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउन सक्ने जनशक्ति भनेको हलिया नै हो । बाँझो जग्गा स्याहार्ने श्रम र सीप हामीसँग छ । त्यसैले आमकिसान र मजदुरको प्रतिनिधि बनेर मैले नेकपा (एकिकृत समाजवादी) बाट दशरथचन्द नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दिएको हुँ ।”

हलिया आन्दोलन गणतन्त्रको प्रयावाची आन्दोल भएको भन्दै राजुरामले आफू जनआन्दोलनको घाईते नेतासमेत भएको बताउनुभयो । ०६२/०६३ सालमा गणतन्त्रका लागि बैतडीबाट आन्दोलन सुरु गरेको उनले बताए ।

गणतन्त्र स्थापनापछि सुदूरपश्चिबाट १६ हजार भन्दा बढी हलियाको प्रतिनिधित्व गरेर सिंहदरवार घेरेपछि मात्रै हलिया मुक्त राष्ट्र घोषणा भएको उनले बताए ।

राज्यले हलिया मुक्त राष्ट्र घोषणा गरे पनि स्थानीय सरकारले हलियासँग भएको कृषि ज्ञान उपयोग गर्ने नीति नल्याएका कारण आफू उप प्रमुख पदमा चुनाव लड्ने तयारीमा जुटेको भुलले बताए । स्थानीय तहको निर्वाचना जिते दशरथचन्द नगरपालिकामा किसानका लागि नमुना काम गरेर आत्मनिर्भर नगरपालिका बनाउने योजना रहेको भुलले बताए ।

हलिया मुक्ति एक स्वाभिमानी आन्दोलन थियो । गणतन्त्र स्थापनासँगै हलियाले पनि मुक्तिको अनुभूति गर्न पाएका छन् भुलले भने, “हलियासँग कृषि क्रान्ति गर्ने उर्जा र बाँझो धर्ती हराभरा पार्ने जोश छ । त्यसैले म आमकिसान, मजदुर र सर्वहारा वर्गको प्रतिनिधि बनेर उपप्रमुख पदमा चुनाव लड्दै छु ।”

राजुराम भुल एकिकृत समाजवादीबाट उपप्रमुख पदमा नेकपा माओवादी केन्द्रसँगको गठबन्धनमा निर्वाचनमा होमिएका छन् । नेकपा माओवादी केन्द्रबाट नगर प्रमुखमा प्रेमसिंह थापा उम्मेदवार हुनुहुन्छ ।

शिक्षण पेशाबाट राजीनामा दिएर दशरथचन्द नगरपालिकाको प्रमुख पदमा उम्मेदवारी दिएका थापाले उपप्रमुख पदमा हलिया समुदायबाट लोकप्रिय नेता राजुराम भुलसँगै प्रचार प्रसारमा खटिएको बताए ।

सामाजिक कुरीतिको अन्त्य र किसान मजदुरका माग पूरा गर्न स्थानीय सरकारको नेतृत्वमा सर्वहारा वर्गकै नेता चुनीनु पर्ने राजुराम भुलले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार