६ जेष्ठ २०८१, आईतवार

नवविवाहित जोडीले एउटै डोरीमा झुण्डिएर आत्महत्या गरे




सुख्खड / कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १० मा आइतबार एक महिला र एक पुरुष एउटै डोरीमा मृत अवस्थामा फेला परेका छन् ।

पहलमानपुरस्थित तुल्सीपुर सामुदायिक वनमा डुङ्ग्रीको रुखमा झुण्डिएको लास देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

ईलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक लक्ष्मणबहादुर शाहीका अनुसार स्थानीयले खबर गरेपछि प्रहरीले मृतकहरुको शव उठाएको थियो ।

उनीहरु एउटै प्लाष्टिकको डोरीमा झुण्डिएको र उनीहरुको लास सडिसकेको थियो भने महिलाको लास भुइमा झरेको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

प्रहरी नायव निरिक्षक शाहीले मृतकहरुको पहिचान खुलेको बताए । उनका अनुसार मृतकहरुमा वझाङको जयपृथ्वी नगरपालिका वडानम्बर २ बझाङ घर भएका २८ वर्षीय अम्मरराज जोशी र २४ वर्षीय अस्मिता सिंह रहेका छन् ।

मृतक जोशी अस्मितासंग दोस्रो विवाह गरेर चैत्र २६ गते घोडाघोडी नगरपालिका वडा नम्बर ५ देउकलियामा आफन्त जयराज जोशीको घरमा पुगेका थिए । भोलीपल्ट उनीहरु आफन्तको घरबाट हिँडेका थिए । त्यसपछि आइतबार उनीहरुको शव भेटिएको हो ।

दुवै लास सडेर पोष्टमार्टम गर्न नसकिने अवस्था रहेको प्रहरीले जनाएको छ । प्रहरीले मुचुल्का बनाएर दुवैलासको सतगतका लागि मृतकका दाई नाता पर्ने जगतराज जोशीलाई बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार