३ जेष्ठ २०८१, बिहीबार

निर्वाचनमा दलबिच नै प्रतिस्पर्धा हुन्छः वड




धनगढी / नेपाली काग्रेसका केन्द्रीय सदस्य तथा नगर प्रमुखका उम्मेदवार नृपबहादुर वडले निर्वाचनमा दलबिच नै प्रतिस्पर्धा हुने बताएका छन् ।

शनिबार धनगढी उपमहानगरपालिकाको वडा नम्बर २ मा आयोजित वडा स्तरिय चुनावी भेलालाई सम्बोधन गर्दै उनले निर्वाचनमा दलबिच नै प्रतिस्पर्धा हुने भएकाले स्वतन्त्र उम्मेदवार विजयी हुने हल्ला नगर्न आग्रह गरे ।

उनले स्वतन्त्र उम्मेदवार एक्लैले चुनाव नजित्ने दाबी गरेका छन । उनले दलिय व्यवस्थामा स्वतन्त्र विजयी भएपनि विकास निर्माणका गतिविधीहरु अघि बढाउन नसक्ने बताए ।

उनले बजेट पनि केन्द्रबाटै आउने भएकाले बजेट ल्याउन परिषद सञ्चालन गर्न नसक्ने बताए । नगर प्रमुख वडले पाँच वर्षको अवधीमा धनगढीमा थुप्रै विकास भएको बताए ।

उनले पाँच वर्षमा धनगढीको विकासका लागि १५ वर्षिय विकास योजना निर्माण गरेको बताए । उनले धनगढीमा एक घर एक उद्यमी योजनालाई कार्यान्वयन गरिएको, नौ सय जनालाई क्षमतामुलक तालिम दिइएको बताए ।

उनले गौरीफण्टा नाकालाई अन्र्तराष्ट्रिय नाका बनाउने, गेटा विमानस्थलको स्तरोन्नति गर्ने, सुकुम्बासी लगायतलाई लालपूर्जा वितरण गर्ने प्रतिवद्धता व्यक्त गरे ।

उनले वडा नम्बर २ को वडा कार्यालय र स्वास्थ्य चौकी सञ्चालन गरिएको बताए । उनले कार्यालयको भवनका लागि जग्गा पाएमा अबको कार्यकालमा गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले बाध्यात्मक अवस्थामा चुनावी गठबन्धन गरिएको बताए । उनले गठबन्धनलाई नै साथमा लगेर निर्वाचनमा विजयी गराउनुपर्ने बताए ।

नेकपा माओवादी केन्द्रकी उपप्रमुखकी उम्मेदवार शान्ती अधिकारीले गठबन्धनलाइ मतदान नगरी भोली आफै पश्चाताप पर्नुपर्ने गतिविधी नगर्न आग्रह गरिन । नगरका वडाहरुमा के कस्ता काम गर्नुपर्छ भन्ने बुझेकी भएकोले उपप्रमुख पदका लागि उपयूक्त रहेको उनले बताईन ।

नेपाली काँग्रेसका जिल्ला सभापति भट्टले गठबन्धनमा कसैलाई धोका नहुने बताए । उनले गठबन्धनका विरुद्ध कसैलाइ नबोल्न पनि बताए ।

नेकपा माओवादी केन्द्रका नेता रमेश धामीले गठबन्धन राष्ट्रिय आवश्यकता रहेको बताए । शनिबार वडा नम्बर २ संगै वडा नम्बर १ र ३ मा पनि वडास्तरिय चुनावी भेला गरेको थियो ।

भेलामा नेपाली काग्रेंसका सभापति नारायणदत्त भट्ट, नेकपा माओवादी केन्द्रका नेता निर्मल शाह, नेपाली काग्रेस केन्द्रीय सदस्य जीवन राना, धनगढी उपमहानगरपालिकाकी उपप्रमुख एवं नेपाली काग्रेस केन्द्रीय सदस्य शुशिला मिश्र भट्ट सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार