वडले धनगढीलाई भ्रष्टाचारको अखडा बनाए, फूर्सदमा राजनीति गर्ने व्यापारीसँग भिजन छैन : चन्द
‘लोकतन्त्र प्राप्तीका लागि हामीले प्रहरीको डन्डा खादै गर्दा एसी कोठामा बसेर पैँसा गनिरहेकाहरु पैँसाको बलमा राजनीतिमा आउँन खोज्दैछन्, विकास गर्छु भनेर भ्रम छर्दैछन्,’ चन्दले भने, ‘जीवनभरको व्यापार, व्यवसाय छोराछोरीलाई हस्तान्तरण गरेर फुर्सदमा अहिले स्वतन्त्रका नाममा विकासको सपना बाड्नेहरु बैशाख ३० मा आफै विलाएर जानेछन् ।’

धनगढी / नेकपा एमालेबाट धनगढी उपमहानगरपालिकाको मेयर पदका उम्मेदवार रहेका रणबहादुर चन्द सूर्य ध्वजा बाहक उम्मेदवारको जीत भइसकेको तर नगरबासीले प्रमाणित गर्न मात्रै निर्वाचन भइरहेको बताएका छन् ।
धनगढी उपमहानगरपालिका–१८ मा आयोजना गरिएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै चन्दले एमालेको जीत भइसकेपनि प्रक्रिया पूरा गर्नका लागि मात्र बैशाख ३० मा निर्वाचन हुन गइरहेको बताए ।
०७४ सालमा नगरबासीले कांग्रेसका नृपबहादुर वडलाई निर्वाचित गरेर पठाएपनि पाँच वर्षसम्म कुनै काम नगरी बसेको आरोप लगाउँदै पुनः उनलाई मत दिने गल्ती नगर्न समेत चन्दले आग्रह गरे ।
कांग्रेस नेतृत्वको सरकारले धनगढी उपमहानगरपालिकालाई भ्रष्टाचार अखडा र कार्यकर्ता भर्ती गर्ने केन्द्र मात्र बनायो । कुनै खालका विकासका काम गर्न सकेन, जनताका आसुुहरु पुछ्न सकेनन्, चन्दले भने, ‘त्यसो भएर आम नगरबासीले अहिले परिवर्तन चाहिइरहेका छन् । त्यो परिवर्तन नेकपा एमालेले मात्र दिन सक्छ ।
एमालेका उम्मेदवारलाई विजयी गराएर पठाएको खण्डमा जनअपेक्षाअनुुसारका काम गर्न प्रतिबद्ध रहेको उनी बताउँछन् । वडले राम्रो काम गर्न नसकेकै कारण प्रतिगामी शक्तिहरुसँग गठबन्धन गरेर पुनः उम्मेदवारी दिएको तर जनताले भने त्यसलाई परास्त गर्ने चन्दको भनाई थियो ।
जीवनभर व्यापार, व्यवसायमा समय बिताएकाहरु स्वतन्त्रका नाममा, पैँसाको बलमा धनगढीको विकास गछौँ भनेर भ्रम छरिरहेको भन्दै त्यस्ता कुरामा विश्वास नगर्न अनुरोध गरे ।
‘लोकतन्त्र प्राप्तीका लागि हामीले प्रहरीको डन्डा खादै गर्दा एसी कोठामा बसेर पैँसा गनिरहेकाहरु पैँसाको बलमा राजनीतिमा आउँन खोज्दैछन्, विकास गर्छु भनेर भ्रम छर्दैछन्,’ चन्दले भने, ‘जीवनभरको व्यापार, व्यवसाय छोराछोरीलाई हस्तान्तरण गरेर फुर्सदमा अहिले स्वतन्त्रका नाममा विकासको सपना बाड्नेहरु बैशाख ३० मा आफै विलाएर जानेछन् ।’
विकास भनेको के हो ? नगरबासीको पीडा के हो ? भनेर नबुझेकाहरुलाई स्वतन्त्र र गठबन्धनका नाममा देश लुट्न खोज्नेहरुलाई मत नदिनेमा आफू विश्वस्त रहेको उनले बताए ।





