१० श्रावण २०८१, बिहीबार

काँग्रेस डडेल्धुराका निवर्तमान सभापति मल्ल पार्टीबाट निस्काशित



मल्लको कटाक्ष– इमान्दार कार्यकर्ताहरू हटाउने कामका लागि धन्यवाद

धनगढी / नेपाली काँग्रेस डडेल्धुरा काँग्रेसका निवर्तमान सभापति कर्णबहादुर मल्ललाई पार्टीबाट निस्काशन गरिएको छ ।
उनलाई काँग्रेस केन्द्रीय कार्यालयले मंगलबार पार्टीको सदस्य समेत नरहनेगरी निस्काशन गरेको जनाएको छ ।

मल्ल डडेल्धुराबाट निर्वाचित सुदूरपश्चिम सभा सदस्य पनि हुन् ।

काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडलले मंगलबार जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ– “नेपाली काँग्रेस डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य कर्णबहादुर मल्लले नेपाली काँग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरित गतिविधी गरेको हुनाले निजलाई नेपाली काँग्रेसको सदस्य समेत नरहने गरी निर्देशानुसार पार्टीबाट हटाइएको छ ।”

डडेल्धुरा काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला हो ।

डडेल्धुरामा पार्टीको १४ औं महाधिवेशनदेखि नै निवर्तमान सभापति मल्ल पक्ष र देउवा पक्षबीच तीब्र विवाद रहँदै आएको छ । महाधिवेशनका क्रममा जिल्लाबाट तत्कालीन जिल्ला सभापति मल्लको कार्यसमितिले सिफारिस गरि पठाइएका क्रियाशील सदस्यहरूमा केन्द्रबाट हेरफेर गर्दै चार सय बढी पुराना क्रियाशील हटाएको र तीन सय बढी नयाँ क्रियाशील सदस्य थपेको भन्दै विवाद बढेको थियो ।

मल्ल पक्षले क्रियाशील सदस्यताको विवाद समाधान नगरेसम्म जिल्ला अधिवेशनअघि नबढाउन औपचारिक रुपमा नै केन्द्रीय समितिसंग आग्रह गर्दै आएको थियो । क्रियाशील सदस्यता विवाद समाधानका लागि दवाव दिदै मल्ल पक्षधर नेता, कार्यकर्ताहरूले जिल्लादेखि केन्द्रसम्म चरणवद्ध रुपमा विरोध गर्दै आएका थिए ।

क्रियाशील सदस्यताको विवाद समाधान नगरी अधिवेशन नगर्न केन्द्रीय कार्यालयमा लामो समयसम्म मल्ल पक्षले धर्ना र अनशन समेत गरेका थिए । तर, डडेल्धुरामा अधिवशेन शुरु गरिएपछि मल्ल पक्षले बहिस्कार गरेको थियो ।

मल्ल पक्षले जारी स्थानीय निर्वाचनमा नेपाली काँग्रेस (विपी) का तर्फबाट सबै पालिकामा उम्मेदवारी दर्ता गराइसकेको छ । काँग्रेस (विपि) ले नेकपा एमालेसंग चुनावी तालमेल गरेको जनाएको छ ।

कुनै वेला पार्टी सभापति देउवाका विश्वासपात्र रहेका मल्ल १३ औं महाधिवेशनदेखि टाढिदै गएका थिए ।

पार्टीले सदस्यता समेत नरहे गरेर गरेको कारबाही आफ्ना लागि अप्रत्याशित नभएको निवर्तमान सभापति मल्लले प्रतिक्रिया दिए ।

डडेल्धुरामा रहेका उनले मंगलबार साझ अनुमोदन दैनिकलाई भने– “पार्टी सभापतिको निर्देशनमा गरिएको यो कारबाही मेरा लागि अप्रत्याशित होइन । मेरो ३२ वर्षको काँग्रेसको राजनीतिक जीवनमा पार्टी सभापति (देउवा) ले मलाई यो दोस्रो पटक कारबाही गर्नुभएको छ । उहाँलाई धन्यवाद ।

उनले तत्कालीन अवस्थामा काँग्रेस प्रजातान्त्रिक गठन गर्ने अभियानमा आफ्नो पनि योगदान रहेको बताए । भने– तत्कालीन अवस्थामा पार्टी विधि विधान अनुसार नचलेको र नेतृत्वले बलमिच्याई गरेको भन्दै काँग्रेस प्रजातान्त्रिक बनाउदा म पनि त्यो अभियानको एक अभियन्ता थिए । तर, काँग्रेस र प्रजातान्त्रिक काँग्रेस एकिकरण भएपछि १२ औं महाधिवेशनदेखि १४ औं महाधिवेशनसम्म मलाई चार पटक कारबाही गर्ने प्रयास गरियो ।

उनले आफूले समाचार माध्यमबाट नै आफूमाथि कारबाही गरिएको जानकारी पाएको बताए । भने– अहिले पार्टी नेतृत्वले अरु पार्टीलाई आफ्नो ठान्ने र आफ्नो पार्टीका हजारौं इमान्दार कार्यकर्ताहरूलाई पराया ठान्ने व्यवहार देखाइरहेको छ ।

उनले आफूमाथि मंगलबार गरिएको पछिल्लो कारबाहीका लागि धन्यवाद दिदै कटाक्ष गरे । भने– पार्टी सभापतिलाई आफ्नै गृह जिल्लाबाट इमान्दार कार्यकर्ताहरूलाई हटाउने कार्यका लागि म आभार व्यक्त गर्दछु ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार