१० श्रावण २०८१, बिहीबार

धनगढी उपमहानगरको मेयर र उपमेयरमा एमालेबाट चन्द र रानाको उम्मेदवारी दर्ता



धनगढी / नेकपा (एमाले) बाट धनगढी उपमहानगरपालिकाको मेयरमा रणबहादुर चन्द र उपमेयरमा कन्दकला रानाले सोमबार उम्मेदवारी दर्ता गराएका छन् । चन्द र रानाले १९ वटै वडाध्यक्ष र सदस्यसहित उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्तापछि प्रतिक्रिया दिदै मेयरका उम्मेदवार चन्दले आफ्नो जीत सुनिश्चित भएको बताए । उनले भने धनगढी उपमहानगरलाई महानगर बनाउने सहितका योजनाका साथमा केही दिनमै घोषणा पत्र सार्वजनिक गर्ने पनि बताए ।

मेयरका उम्मेदवार चन्द एमाले केन्द्रीय निर्वाचन विभागका सदस्य तथा कैलाली जिल्ला कमिटीका पूर्व उपाध्यक्ष पनि हुन । करिव ३० वर्षदेखि राजनीतिमा लागेका चन्द धनगढी–४ का बासिन्दा हुन ।

अनेरास्ववियुका विभिन्न कमिटीमा काम गरेका चन्द धनगढी नगर सदस्य हुँदै पार्टी सचिव भएका थिए। एमालेको आठौं जिल्ला अधिवेशनमा चार मतले मात्र अध्यक्षमा पराजित भएका थिए । उनी एमाले कैलालीभित्रका अवसर नपाएका इमान्दार नेताका रूपमा चिनिन्छन् ।

उपमेयरकी उम्मेदवार राना धनगढी उपमहानगरपालिका–८ कि बासिन्दा हुन् । एमाले जिल्ला कमिटी सदस्य रहेकी ३८ वर्षीया राना नेपाल राना थारू समाजका केन्द्रीय कोषाध्यक्ष पनि हुन् ।

एमालेका उम्मेदवारले कैलालीको पार्टी कार्यालयबाट नाचगान गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।

एमालेले १९ वटै वडाका अध्यक्ष र सदस्यको पनि उम्मेदवारी दर्ता गराएको छ । जसअनुसार उपमहानगरपालिकाको–१ बाट ज्ञानेन्द्र मल्ल, २ मा विष्णु पुरी, ३ मा पार्वती सिंह, ४ मा तीर्थराज जोशी, ५ मा सुनिराम चौधरी, ६ मा ईश्वरी बम, ७ मा मोती राना, ८ मा जुगराम चौधरी, ९ मा नविन बिक र १० मा शिवकुमार राना र ११ नम्बर वडाबाट रूपबहादुर कुँवरले वडाध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, १२ मा शेरबहादुर महरा, १३ मा जगदीश राना, १४ मा कृष्ण पाण्डेय, १५ मा गोरे कुन्जेडा, १६ मा भागिराम चौधरी, १७ मा दीपेन्द्र घर्तीमगर, १८ मा भुवन रिजाल र १९ नम्बर वडाको अध्यक्षमा तिलुराम चौधरीले मनोनयन दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार