२१ बैशाख २०८१, शुक्रबार

स्थानीय निर्वाचन २०७९ : डडेल्धुरामा सहमति नबनेपछि केन्द्रलाई गुहारियो




डडेल्धुरा / नेपाली काँग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पाँच दलिय गठबन्धनमा सहमति नभएपछि केन्द्रमा सिफारिस गरेको छ ।

स्थानीय तहको संख्या, नेतृत्व र पालिका छनैटमा सहमती हुन नसकेपछि पाँच दलीय गठबन्धनबीच मित्रवत प्रतिस्पर्धा गर्ने वा गठबन्धन अनुसार अघि बढ्ने भनी केन्द्रमा पठाइएको हो । आगामी स्थानीय तहको निर्वाचनका लागि जिल्लामा पाँच दलिय गठबन्धनमा सहमति नभएपछि केन्द्रमा सिफारिस गरिएको जनाइएको हो ।

‘जिल्लामा गठबन्धनभित्र सहमति जुटाउन सकिएन’ नेकपा माओवादी केन्द्रका जिल्ला संयोजक उमेशप्रसाद भट्टले भने– केन्द्रमा सहमतिका लागि पठाएका छौं । केन्द्रको सहमति अनुसार गठबन्धनलाई अघि बढाइने छ ।’

नेकपा माओवादी केन्द्रका प्रदेश इन्चार्ज खगराज भट्टको गृह जिल्ला समेत रहेको सो जिल्लामा उनीहरूले तीन वटा स्थानीय तहमा दाबी गरेका छन् । संयोजक भट्टका अनुसार पर्शुराम नगरपालिका, आलिताल र अजयमेरु गाउँपालिकामा दाबी रहेको छ । पर्शुराममा शेरसिंह माल र आलितालमा उनी आफै दावेदार रहेका छन् । अजयमेरुमा तीन जना आँकाक्षी रहेकाले टुङ्ग्याउन नसकिएको बताए ।

नेपाली काँग्रेसका सचिव शेरबहादुर भण्डारीले डडेल्धुरामा गठबन्धन हुने बताए । ‘पाँच दलिय गठबन्धनले टुङ्ग्याएकै आधारमा जिल्लामा काँग्रेसले सोही अनुसार उम्मेदवारी दिने छ’ उनले भने ।

नेपाली काँग्रेस डडेल्धुरामा स्थानीय तहको निर्वाचनमा १४ अधिवेशनको प्रभावले गठबन्धनमा असर परेको देखिन्छ ।
१४ औं महाधिवेशनमा प्रधानमन्त्री देउवाले प्रदेश सभा सदस्य तथा तत्कालिन पार्टी सभापति कर्ण मल्ललाई हष्तक्षेप गरि एकलौटी ढंगले अघिबढेका थिए । अहिले सोही समुहले गठबन्धन भए पनि नमान्ने भन्दै हरेक स्थानीय तहमा आ–आफनै उम्मेदवार खडा गर्ने चेतावनी दिएको छ ।

अधिवेशनमा थुप्रै नेता–कार्यकर्तालाई अन्यायमा पारिएको छ, निवर्तमान सभापति मल्लले भने, ‘१० गते सम्मको समय छ । अन्यायमा परेका नेताहरूलाई टिकट वितरणका क्रममा न्याय नदिए नेपाली काँग्रेस (विपी) बाट करुवा चुनाव चिह्नमा निर्वाचन लड्छौं । त्यसको नेतृत्व म आफैले गर्नेछु ।

डडेल्धुरामा पाँच दलीय गठबन्धनबीच भएको सहमति र पालिकामा उम्मेदवार चयनको विषयमा पार्टी सभापति देउवासंग सल्लाह लिन जिल्ला पार्टी सभापति भीमबहादुर साउँद, प्रदेश सरकारका सामाजिक विकासमन्त्री गोविन्द बोहरा, नेता रघुबर भट्ट सहितको टोली काठमाण्डौंमा छ । पार्टी सभापति देउवासंग छलफलपछि डडेल्धुरा जिल्लामा गठबन्धन र उम्मेदवारको टुंगो लाग्ने जिल्ला सभापति साउँदले बताए ।

दुई शिक्षकले दिए राजीनामा
आसन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्षको चुनाव लड्न डडेल्धुरामा दुई शिक्षकले राजीनामा दिएका छन् । नवदुर्गा गाउँपालिका–५ विजयाशैनी मावि चामाचौडका शिक्षक प्रेमबहादुर ऐर र असिग्राम मावि रुवाखोला गन्यापधुरा गाउ“पालिका–१ का चन्द्रबहादुर देउवाले राजीनामा दिएका हुन् ।

ऐर र देउवाले शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुरामा राजीनामा पत्रमा बुझाएका हुन् । इकाई प्रमुख नारदप्रसाद जोशीका अनुसार २०४१ मा स्थायी निमावि द्वितीय शिक्षक ऐरको राजीनामा शुक्रबार स्वीकृत भएको छ । उनको राजीनामा आइतबारदेखि लागू हुने प्रमुख जोशीले बताए ।

देउवा नेपाली कांग्रेसबाट गन्यापधुरा–१ को वडाध्यक्ष तथा ऐर नेकपा एकिकृत समाजवादीबाट नवदुर्गा–५ को अध्यक्षमा चुनाव लड्ने तयारीमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार