३ जेष्ठ २०८१, बिहीबार

टीकापुर घटनाबारे सरकारसंग गम्भीरतापूर्वक कुरा गर्छु– प्रचण्ड



धनगढी / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टीकापुर घटनाबारे सरकारसंग गम्भीर ढंगले कुराकानी गर्ने बताएका छन् ।

उनले टीकापुर घटनामा अदालतबाट सजाय पाएका कैलाली क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य रेशमलाल चौधरीलाई आफूले जहाँ पनि भेट्नसक्ने बताए ।

बिहीबार कैलालीको गौरिगंगा नगरपालिकाको मसुरियामा आयोजित एक कार्यक्रममा पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले टीकापुर घटनाका कारण थारु समुदायमा ठूलो असर परेको चर्चा गरे ।

उनले भने– टीकापुर घटनाका कारण थारु समुदायमा निकै ठूलो असर परेको बारे मलाई राम्रैसंग थाह छ ।

उनले रेशमलाल सहितका केही जनाले टीकापुर घटनामा संलग्न नभए पनि जेल सजाय भोगिरहेको दाबी गरे ।

उनले आफूले रेशमलाई भेट्दा विगतमा ठूलै होहल्ला भएको चर्चा गरे । भने– म प्रधानमन्त्री भएको वेला मैले रेशमलाई भारतको नयादिल्लीमा भेटेको थियो । त्यतिवेला त्यसको निकै विरोध भएको थियो । के मैले रेशमलाई भेट्नै नहुने हो र ?

उनले भरखरै मात्रै आफ्नो सचिवालयले रेशमलाई भेटेर कुराकानी गरेको बताए ।

अध्यक्ष दाहालले पाँच दलीय गठबन्धनका कारण राम्रो अवसर सिर्जना भएको बताए ।

उनले जनताले माओवादीलाई २०६४ सालको संविधान सभा सदस्य निर्वाचनमा भारी मत दिएर देशको बागडोर सम्हाल्ने जिम्मेवारी दिएको चर्चा गरे । उनले भने– त्यो निर्वाचनमा नेपाली जनताले हामीलाई विश्वास गरेर बहुमत दिए, तर हामीले त्यो जीत पचाउन सकेनौ ।

अध्यक्ष दाहालले २०७९ साललाई माओवादी ध्रुवीकरण र एकताको वर्ष बनाउने बताए । उनले मोहन वैद्य, नेत्रविक्रम चन्द विप्लव र बाबुराम भट्टराई नेतृत्वका पार्टीका नेता कार्यकर्ताहरूलाई माओवादी ध्रुवीकरण र एकतामा जोडिन आग्रह गरे ।

उनले फेरि वामपन्थी एकता हुनसक्ने बताए । भने– एमाले अध्यक्ष केपी ओलीको सामाजिक फाँसीवादी प्रवृत्तिलाई अन्त्य भएपछि फेरि बामपन्थी एकता सम्भव छ ।

उनले अहिलेको गठबन्धनलाई बलियो बनाएर माओवादीलाई वामपन्थीमध्येको पहिलो पार्टी बनाउने दाबी गरे ।

उनले भने– माओवादी एक नम्बर कम्युनिस्ट पार्टी बन्ने बित्तिकै फेरि कम्युनिस्टहरूको बीचमा ध्रुवीकरण हुनसक्छ । वामपन्थी एकता हुनसक्छ । फेरि गठबन्धन नया“ शिराबाट अगाडि बढ्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार