स्थानीय तहको प्रमुख बन्ने दौडमा कैलालीका तीन पत्रकार

धनगढी / कैलालीमा स्थानीय तहको बागडोर सम्हाल्नका लागि विभिन्न तीन पालिकाका तीन जना पत्रकारहरु इच्छुक देखिएका छन् ।
स्थानीय तहको ३० गते हुने निर्वाचनका लागि कैलालीको जानकी गाउँपालिकामा अध्यक्ष पद्को लागि कान्तिपुर दैनिकमा हालसम्म कार्यरत गणेश चौधरीले तयारी गरिरहेका छन् ।
रेशम चौधरीको समर्थन रहेको नागरिक उन्मुक्ति पार्टीबाट चौधरीले अध्यक्ष पद्मा चुनाव लड्ने तयारी गरेका छन् । उनको टिकट लगभग पक्कापक्की छ ।
राजनीतिक दलहरु विशेष गरी नेपाली काङ्ग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले राम्रो काम गर्न नसकेका कारण राम्रो गर्ने उद्देश्यका साथ आफूले राजनीतिमा हात हालेको चौधरीले बताए ।
‘दलहरुले राम्रो काम गरि दिएको भए पत्रकारिता गरिरहेको व्यक्ति राजनीतिमा आउनु पर्दैनथ्यो’, उनले दावी गरे उत्पीडनमा परेका सबै जाति, समुदायलाई न्याय दिलाउनका लागि आफू राजनीतिमा लागेको हो ।
‘टीकापुर घटनाकै बेला हेर्ने हो भने भदौ ७ गतेको घटनालाई आपराधिक बनाइयो र त्यसको प्रतिसोधमा भदौ ८ गते भएको घटनालाई आपराधिक देखिएन’ उनले भने । राज्यले जुन विभेद गरिरहेको छ । त्यो विभेद, अन्याय, अत्याचार विरुद्ध न्यायका लागि म राजनीतिमा लागेको हो ।
पहिचानको मुद्दालाई सबैभन्दा पहिले माओवादी पार्टीले उत्थान गरेको थियो । तर, सो मुद्दालाई माओवादीले बिर्सिसकेको उनकोे बुझाइ छ । माओवादीले छोड्दै गइरहेको पहिचानको मुद्दालाई अब नागरिक उन्मुक्ति पार्टीले अगाडि बढाउने पत्रकार चौधरीले बताए ।
चौधरी नेपाल पत्रकार महासंघमा धेरै पटक केन्द्रीय प्रतिनिधि समेत भइसकेका पत्रकार हुन ।
टीकापुर नगरपालिकाको मेयरका लागि टीकापुर दैनिकका प्रधान सम्पादक रहेका भुवनेश्वर अधिकारीको प्रवल दावेदारी छ ।
नेपाल पत्रकार महासंघको कैलाली उपाध्यक्ष र धेरै पटक केन्द्रीय प्रतिनिधि भइसकेका अधिकारी पार्टीले उम्मेदवार बनाएपछि आफूले चुनाव जित्ने र नगरलाई अझ उचाइमा लैजाने योजना आफूसित रहेको बताउछन् ।
अधिकारी नेपाली काँग्रेसको क्षेत्र नम्बर १ को क्षेत्रीय सभापति पनि भइसकेका छन् । पत्रकार अधिकारीले टीकापुरका धेरै सामाजिक संस्थामा पनि काम गरेका छन् ।
यसैगरी, घोडाघोडी नगरपालिकाको मेयरमा चुनाव लड्नका लागि पत्रकार प्रकाश मिश्र आकाङ्क्षी छन् । प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य भइसकेका मिश्र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट चुनाव लड्नका लागि मेहनत गरिरहेका छन् ।
यद्यपि, टिकटको टुङ्गो भने लागिसकेको छैन । टिकट पाउने टुङ्गो नलागे पनि मिश्र चुनावी एजेण्डासहित प्रचारप्रसारमा जुटेका छन् ।
पार्टीले उम्मेदवार बनाए जित्ने पक्का छ पत्रकार मिश्रले भने मसित नगर हाक्ने योजना छन् मज्जाले नगर हाकेर नमुना नगर बनाउछु ।
टीकापुरको मेयरका लागि पुराना पत्रकार मातृकाप्रसाद तिमिल्सेनाले पनि दावेदारी गरेका थिए । तर एमालेको नगर कमिटी अपारदर्शी तरिकाले पत्रकार तिमिल्सेना र अहिलेका मेयर तपेन्द्र रावलको नाम नै अगाडि बढाएन ।




