सत्तारुढ दलको बैतडीमा गठवन्धनको नयाँ मोडेल, तीनमा सहकार्य सात पालिकामा मित्रवत प्रतिस्पर्धा

बैतडी / बैतडीका सत्ता साझेदार दलले तीन वटा पालिकामा गठबन्धन गरेर बाँकी सात वटा स्थानीय तहमा मित्रवत् प्रतिस्पर्धा गर्ने निर्णय गरेका छन् ।
आइतवार र सोमबार बसेको सत्ता साझेदार दल नेपाली काँग्रेस, नेकपा (एकिकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को संयुक्त बैठकले पञ्चेश्वर, डिलासैनी र दोगडाकेदार गाउँपालिकामा गठबन्धन गरेर स्थानीय तहको निर्वाचनमा भाग लिने निर्णय गरेका हुन् ।
गठबन्धनको बैठकले डिलासैनी गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) लाई अध्यक्ष , काँग्रेसलाई उपाध्यक्ष, पञ्चेश्वर गाउँपालिकामा कांग्रेसलाई अध्यक्ष, नेकपा (एकिकृत समाजवादी) लाई उपाध्यक्ष, दोगडाकेदार गाउँपालिकामा काँग्रेसलाई अध्यक्ष र माओवादी केन्द्रलाई उपाध्यक्ष उठाउने निर्णय गरेको छ ।
नेपाली काँग्रेसले अन्य सात वटा स्थानीय दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, पुरचौडी नगरपलिका, मेलौली नगरपालिका, सुर्नया गाउँपालिका र सिगास गाउँपालिका मित्रवत् प्रतिस्र्पा गर्ने नेपाली काँग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए ।
गठबन्धन हुन नसकेका सातवटा स्थानीय तहमा नेकपा (एकिकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) को गठबन्धन हुने एकिकृत समाजवादीका जिल्ला अध्यक्ष महादेव भट्टले बताए ।
अध्यक्ष भट्टले भने,“ तीनवटा पालिकामा तीन दलले गठबन्धन गरेर निर्वाचन लड्ने निर्णय भएको छ । बाँकी सात वटा स्थानीय तहको हकमा नेपाली काँग्रेसले प्रतिस्पर्धा गर्ने कुरा अघि सारेको छ तर, ती सात वटा पालिकामा नेकपा (एकिकृत समाजवादी) र माओवादी केन्द्रको गठबन्धन हुने पक्कापक्की भएको छ ।”
नेपाली काँग्रेस बैतडीले एमालेले जितेका तीन वटा स्थानीय तहमा मात्रै गठबन्धन गरेर जाने तर, सात वटा स्थानीय तहमा एक्ला एक्लै लड्ने अडान अघि सारेको नेपाली काँग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले बताए ।
सभापति चन्दले भने,“ सात पालिकामा सत्ता साझेदार सबै दलबाट उम्मेदवारका आकाङ्क्षी देखिए । एमालेले जितेका डिलासैनी, दोगडाकेदार र पञ्चेश्वर गाउँपालिकामा गठबन्धन गर्ने निर्णय ग¥यौं । बाँकी सात स्थानीय तहमा मित्रवत् प्रतिस्पर्धा गर्छौं ।”
सभापति चन्दका अनुसार मित्रवत् प्रतिस्पर्धा हुने स्थानीय तहको वडाको हकमा गाउँपालिका र नगरपालिका स्तरमा गठबन्धन गर्ने नगर्ने भन्ने विषय पार्टीको स्थानीय समितिलाई जिम्मा दिइएको छ । बैतडीमा १० स्थानीय तह र ८४ वडा रहेका छन् ।
गत स्थानीय तहको निर्वाचन २०७४ मा नेपाली काँगेसले दशरथचन्द नगरपालिका, पाटन नगरपालिका, मेलौली नगरपालिका, सुर्नया गाउँपालिका, सिगास गाउँपालिका र शिवनाथ गाउँपालिका गरेर छवटा स्थानीय तहमा निर्वाचन जितेको थियो ।
माओवादी केन्द्रले पुरचौडी नगरपालिका र नेकपा एमालेले डिलासैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा निर्वाचन जितेको थियो ।
सात्तासाझेदार दल नेपाली काँग्रेसले माओवादीले जितेको पुरचौडी नगरपालिकामासमेत दाबी गरेपछि त्यहाँ मित्रवत् प्रतिस्पर्धा गर्ने बताएका छन् ।
नेकपा ( एकिकृत समाजवादी) ले सुर्नया गाउँपालिका र सिँगास गाउँपालिकामा आफ्नो सङ्गठन बलियो भएकाले त्यहाँ आफ्नो दावी पेश गर्दै आइरहेको छ ।




