१० श्रावण २०८१, बिहीबार

कैलालीमा पहिचानवादी दलबिच चुनावी तालमेल



धनगढी / कैलालीमा अधिकार र पहिचानवादी दलबिच आगामी स्थानीय तहको निवार्चनमा चुनावी तालमेल गरेर अघि बढने भएका छन ।

थरुहट/थरुवान राष्ट्रिय मोर्चाका नेता लक्ष्मण थारुलाई साक्षी राख्दै शनिबार पत्रकार सम्मेलन गरेर अधिकार र पहिचानमा आन्दोलनरत संघर्ष समितिबिच चुनावी तालमेल गर्ने घोषणा गरिएको हो ।

सत्ता गठबन्धनसंग रहेको जनता समाजवादी पार्टीले कैलालीमा गठबन्धन तोड्दै अन्य दलहरुसंग चुनावी तालमेल अघि बढाएको हो ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल लोकतान्त्रिक पार्टी र संघिय लोकतान्त्रिक पार्टीबिच गठबन्धन गर्ने निर्णय भएको जसपाका कैलाली अध्यक्ष ग्याप्रसाद कुश्मीले जानकारी दिए ।

हामी चार दलमात्र होइन । रेश्म चौधरी पत्नीको नेतृत्वमा रहेको नागरिक उन्मुक्ति पार्टी लगायत अन्य साना तथा ठूला दलहरुसंग पनि चुनावी तालमेल गर्ने छौं उनले भने –यसबारे हामीले छलफल तथा वैठकहरु जारी राखेका छौं ।

थारु नेता लक्ष्मणले कैलालीका १२ वटा स्थानीय तहमा चार वटा दलको उम्मेदवार रहने बताए । गठबन्धनमा आएका दलहरु आन्दोलनसंग केन्द्रितमा छौं उनले भने –थरुहट/थारुवान राष्ट्रिय मोर्चाको पूर्ण समर्थन, पूर्ण एक्येवद्धता र यो गठबन्धनलाई चुनावमा पठाउने, जिताउनेमा जोड दिनेछौं । उनले आन्दोलनमा उठाईरहेका माग मुद्धाहरुलाई सम्बोधन गराउन मोर्चाबन्दी गरेर अघि बढेको बताए ।

जसपा सत्ता गठबन्धनमा थियो । अबदेखि सो पार्टीले त्यो गठबन्धन तोडेर आन्दोलनरत दलसंग गठबन्धन गरेको छ उनले भने ।
जनता समाजवादी पार्टीका अध्यक्ष कुश्मीले धनगढी उपमहानगरपालिकाबाहेक जिल्लाका अन्य स्थानीय तहमा अरु दलसंग गठबन्धन गर्न केन्द्रबाट कुनै रोकटोक नरहेको बताए ।

धनगढी उपमहानगरपालिकाको उम्मेदवारको टुङ्गो र चुनावी तालमेलबारे केन्द्रले गर्छ उनले भने –अन्य स्थानीय तहमा जिल्लालाई अरु दलसंग गठबन्धन तोड्ने वा गर्नेबारे कुनै रोक टोक छैन ।

जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य होरिलाल चौधरीले सत्ता गठबन्धनमा ठुला नेताहरुको हावी भएको बताए । हाम्रा मागको सुनुवाई गर्न कोही इच्छुक छैनन उनले भने –हामीले केन्द्रिय गठबन्धन किन मान्ने ? उनले विगतदेखिनै संधिवान संशोधन गर्न दबाब दिँदा पनि कुनै सुनुवाई नभएको गुनासो व्यक्त गरे ।

संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी उपाध्यक्ष शर्मिला बागचनले पहिचान र अधिकारका लागि संघर्षरत दलहरु एक ठाउँमा उभिनुको विकल्प नभएपछि सो गठबन्धन गरिएको बताइन ।

नेपाल लोकतान्त्रिक पार्टीका केन्द्रिय अध्यक्ष भानुराम थारुले गठबन्धनको निति निर्देशन इमान्दारिताका साथ सबै दलका नेता कार्यकर्ताहरुलाई पालना गर्न आग्रह गरे ।

चार दलबिच चुनावी तालमेल गर्ने निर्णय भएपनि कुन स्थानीय तह र वडामा कुन दलका व्यक्तिलाई उम्मेदवार बनाउने भन्नेबारे टुङ्गो लागेको छैन । नेता लक्ष्मणले भने हामी छलफलमै छौं ।

एक हप्ताभित्र उम्मेदवारहरुको पनि टुङ्गो लाग्छ । उनका अनुसार उम्मेदवारका आधारमै स्थानीय तह पनि गठबन्धनबिच बाँडफाँड हुने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार