चुनाव सफल पार्नका लागि सक्रिय रहन निर्वाचन आयोगको आग्रह

धनगढी / निर्वाचन आयोगकी आयुक्त जानकी तुलाधरले सबै एकताबद्ध भएर स्थानीय तहको चुनाव सफल पार्नु पर्ने बताएकी छन् ।
निर्वाचन आयोगले शनिबार धनगढीमा आयोजना गरेको मिडिया अभिमूखीकरण कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएकी हुन ।
आयुक्त तुलाधरले निर्वाचन सफल पार्नमा मिडियाको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गरिन् । उनले आयोगले संविधानले तोेकेको जिम्मेवारी पूरा गर्न निर्वाचन आयोग सदैव तत्पर रहेको बताइन् ।
बदर मत संख्या घटाउनका लागि आयोगले मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउने उनको भनाइ थियो ।
कार्यक्रममा पत्रकार महासंघका केन्द्रीय सहासचिव रोशन पुरीले निर्वाचनमा पत्रकारको भूमिकाका बारेमा प्रस्तुती गरेका थिए ।
कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य हरिप्रसाद जोशीले सञ्चार जगत र पत्रकारले पालना गर्नु पर्ने आचारसंहिताको बारेमा प्रस्तुति गरेका थिए । उनले सबै राजनीतिक दलसंग खुला र तटस्थ रहेर सूचना सम्प्रेषण गर्न पत्रकारलाई आग्रह गरे । यसैगरी, मत बदर संख्या घटाउन मतदाता शिक्षाको रुपमा काम गर्न पत्रकारलाई आग्रह गरे । ‘निर्वाचनमा सञ्चारको भूमिका मतदाता, आयोग र दलबीच पुलको काम गर्ने हो’, उनले भने ।
कुनै पनि दल, नेताका पक्षमा लबिङ गर्नु आचारसंहिताको उल्लंघन रहेको उल्लेख गर्दै सदस्य जोशीले त्यस्तो नगर्न पत्रकारलाई आग्रह गरे । कार्यक्रममा आयोगका उपसचिव सूर्यप्रसाद अर्यालले मतपत्रको बारेमा जानकारी गराएका थिए ।
उनले स्थानीय तहको निर्वाचन निर्देशिका अनुसार मतपत्रमा चुनाव चिन्ह राखिएको बताए । छ नम्बरसम्म राष्ट्रिय मान्यता प्राप्त दलहरुको चुनाव चिन्ह र २४ देखि उपरान्त स्वतन्त्र उम्मेदवारका लागि चुनाव चिन्ह राखेर मतपत्र छपाइ भएको छ, उनले भने । उनले कैलालीका लागि दुई लहरको चुनाव चिन्ह रहेको मतपत्र रहने बताए । कार्यक्रममा कैलालीका पत्रकारको सहभागिता रहेको थियो ।




