१० श्रावण २०८१, बिहीबार

नयाँ वर्षको मङ्गलमय शुभकामना



“एकाबिहानै मेरो निद्रा खुल्यो । आँखा मिच्दै म ओछ्यानबाट उठे । बिहान भइसकेको रहेछ । पर क्षितिजमा सूर्यको लालिमा गहिरो हुदै थियो । मैले झ्यालबाट बाहिर हेरे । चराचुरुङ्गी चिरबिर गर्दै बासबाट चारोको खोजीमा आकासमा उड्दैछन् । महिलाहरु गाग्रो बोकेर पँधेरातिर गइरहेका छन् । फाटफुट मानिसहरु यताउता गइरहेका छन् ।

उस्तै दृश्य, उस्तै वातावरण । यसो भित्ताको पात्रोतिर हेरे– साल त फेरिसकेको रहेछ । मेरो मुखबाट अनासय निस्कियो– ए ! नयाँ वर्ष यस्तो हुँदोरहेछ । पात्रो फेरिएको छ र हामी नेपालीहरु विक्रम सम्वत २०७९ मा प्रवेश गरेका छौं ।

हरेक नयाँ वर्षको आगमनमा हामी एकअर्कालाई शुभकामना व्यक्त गर्छौ । मंगलको कामना गर्दर्छौ । वितेको वर्षका तिता घटना, परिघटना, समस्या, कथाव्यथालाई बिर्सेर नयाँ वर्षमा नयाँ उत्साहका साथ अघि बढ्न प्रेरणाका शब्दहरु टक्राउँदछौं । यसरी नै हाम्रो नयाँ वर्ष आउँछ, जान्छ । अर्को आउँछ, जान्छ । यो युगौयुगदेखिको निरन्तर भइरहेको सायद कथा हो ।

बह्माण्ड आफ्नो निर्धारित समय र गतिमा निमेषभर पनि चुक नगरेर चलिरहेको छ । हामी भन्छौं, समय फेरियो । पक्कै पनि एक क्षणअघिको समय अब हाम्रो जीवनमा कहिल्यै फर्केर आउदैन । हामी हरेक वर्ष पात्रो पल्टाउँछौं ।

नयाँ वर्षको आगमन भयो भन्छौं । पुरानो वर्षलाई विदाई गर्यौ भन्छौ । समयको आरम्भ र अन्त्यको कल्पना नै हुनसक्दैन । हामी मान्छेहरु यो लोकमा आफ्नो यात्रा अन्त्यको दिनगन्तीमा रमाएको छौ र भन्छौ साल फेरियो ।

पात्रोमा साल फेरिँदै गर्दा हामी प्रत्येको जीवनयात्राको एक वर्ष कम हुदै गरेको हुन्छ । नयाँ वर्षको आगमनमा हामी रमाउछौं । यस्तो लाग्छ– असफलहरुका लागि वितेको वर्ष अभिशाप थियो, नयाँ वर्ष आशिर्वाद बनेर उदाउने गर्छ । तर, नयाँ वर्षको अर्को दिनदेखि उस्तै समस्या, पीडा, कुण्ठा, असफलता, निराशाको अटुट शृंखलाले छोपिहाल्छ ।

अनि हामी अर्को नयाँ वर्षको प्रतिक्षामा बस्छौं र कामना गर्छौ– अर्को नयाँ वर्षले पक्कै पनि मेरो जीवनमा बहार ल्याउने छ । सफलता नै सफलता प्राप्त हुने छ ।

यसरी नै चलिरहेको छ, हाम्रो जिन्दगानी । तर, कम्तिमा यस्तै आशाले हामीलाई आफ्ना कठिनाई तथा पीडाहरुमा मल्हम लगाउन आधार दिएको छ । हामी बाहिरको दृश्य जगतलाई नै सबैथोक ठान्छौं । आफ्नो अहिलेको अवस्थालाई नै अजम्मरी मान्छौं । समय अर्थात् कालको चक्रप्रति सकेसम्म उदासिन मात्रै होइन, निदाएको स्वाङ पार्न थाल्छौं । समयको चक्रमा कतिवेला भौतिक शरीरसंग नाता तोडियो, पत्तै हुदैन ।

वितेको वर्ष कसैका लागि अभिशाप थिएन, न त नयाँ वर्षमा चमत्कार नै हुनेछ । औपचारिकता पुरा गर्नका लागि अथवा लोकको मान राख्नका लागि वा चलेको चलनको चेपमा परेर नयाँ वर्षको शुभकामनाको कुनै अर्थ हुदैन । वितेको समयमा हामी हरेकले गरेका कुनै पनि गलत कामको प्रायश्चित्तको अनुभूति भयो भने मात्रै नयाँ वर्षको आगमनको शुभकामनाको अर्थ हुन्छ । शुभकामना ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार