१० श्रावण २०८१, बिहीबार

गठबन्धन घटक जसपाको चेतावनीे– सम्मान नभए चुनावी तालमेल हुन्न



धनगढी / पाँच दलीय गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (सजपा) ले पाँच दलीय गठबन्धनले आफ्नो पार्टीलाई अपमान गरिरहेको आरोप लगाएको छ ।

जसपाको सुदूरपश्चिम प्रदेश नेतृत्वले प्रदेश सरकारमा आफ्नो पार्टीलाई सरकारमा सहभागी नगराइएकोमा तीब्र असन्तुष्टि व्यक्त गर्दै “सम्मानजनक सहभागिता नभए चुनावी गठबन्धनमा सामेल नहुने” चेतावनी दिएको छ ।

शुक्रबार प्रदेश मन्त्रीमण्डल पुनर्गठन गर्दै नेपाली काँग्रेसलाई सहभागी गराइएको थियो । प्रदेश सरकारमा काँग्रेसका तर्फबाट दुई मन्त्री र एक राज्यमन्त्री बनाइएको छ । तर, पाच दलीय गठबन्धनको एक घटक जसपालाई भने सरकारमा सहभागी गराइएको छैन ।

शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा जसपाका प्रदेश अध्यक्ष कृष्णकुमार चौधरीले “गठबन्धनले आफ्नो पार्टीलाई सम्मान नगरेकोले आसन्न स्थानीय निर्वाचनमा तालमेल हुननसक्ने” बताए ।

उनले भने– केन्द्र र अन्य प्रदेशमा पाँच दलीय गठबन्धनबीच सौहार्दपूर्ण सम्बन्ध छ, तर सुदूरपश्चिम प्रदेशमा गठबन्धनले हाम्रो पार्टीलाई अपमान गरेको महसुस भइरहेको छ ।

उनले प्रदेश सरकारमा काँग्रेसलाई सहभागी गराउँदा आफ्नो पार्टीसंग कुनै छलफल समेत नगरिएकोमा आक्रोस व्यक्त गरे । उनले चेतावनीको शैलीमा भने– पाँच दलीय गठबन्धनलाई प्रदेशमा पनि कायम राख्ने हो भने हाम्रो पार्टीलाई सहभागी गराएर मन्त्रीमण्डल पुनर्गठन गरिनुपर्छ । अन्यथा आगामी स्थानीय निर्वाचनमा हामी चुनावी तालमेलमा सहभागी हुँदैनौ ।

जसपाको प्रदेश नेतृत्वले गठबन्धनले आफ्नो पार्टीलाई कमजोर ठान्ने भुल नगर्न पनि चेतावनी दिएको छ । प्रदेश अध्यक्ष कृष्णकुमारले भने– काँग्रेसलाई खुशी बनाए गठबन्धन बलियो हुन्छ भन्ने ठान्नुभएको होला । अथवा हामीलाई कमजोर ठानेको होला । तर, हामी आवश्यक परेमा बाहिरका अन्य दलहरूसंग सहकार्य गर्दै आगामी निर्वाचनमा सहभागी बन्नसक्छौं ।

उनले आफ्नो पार्टीमा एक्लै निर्वाचन लड्ने क्षमता भएको बताए । भने– हाम्रा नेता कार्यकर्ताहरूलाई आफ्नो बाहुवलका आधारमा सबै स्थानीय तहमा एक्लै पनि चुनाव लड्ने क्षमता राख्छन् । आवश्यक परे अरु दलहरूसंग सहकार्य र समन्वय गर्न सक्छौं ।

पत्रकार सम्मेलनमा जसपाका सुदूरपश्चिम प्रदेश सभा सदस्य मालामती रानाले आफ्नो पार्टीले प्रदेश सभामा प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताइन् । उनले भनिन्– अहिलेसम्म हाम्रो पार्टी प्रतिपक्षीका रुपमा नै रहेको छ । सत्ता गठबन्धन दलहरूको यस्तै रवैया कायम रह्यो भने हामी आगामी दिनमा पनि प्रतिपक्षकै भ्रमिकामा रहने छौं ।

उनले आफू सरकारमा जानका लागि मात्रै असन्तुष्टि व्यक्त नगरेको बताइन् । म सरकारमा जाने भनेर हामीले यो भनेको होइनौ । गठबन्धनका नाममा हाम्रो पार्टीलाई उपयोग गर्ने काम मात्रै भइरहेकोप्रति हाम्रो टिप्पणी हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार