११ पुष २०८१, बिहीबार

छैठौ पटक मन्त्रीमण्डल हेरफेर, काँग्रेस सहभागी, सोडारी यथावत, समाजवादीका तीन मन्त्री नयाँ





धनगढी/ सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले छैठौ पटक मन्त्रीमण्डल हेरफेर गरेका छन् ।

शुक्रबारको हेरफेरमा नेपाली काँग्रेस सहभागी भएको छ । सरकारमा काँग्रेस र एकीकृत नेकपा (समाजवादी) का तीन/तीन जना गरेर छ जना नयाँ अनुहार थपिएका छन् ।

नेपाली काँग्रेसबाट संसदीय दलका नेता रणबहादुर रावल आन्तरिक मामिला तथा कानुनमन्त्री, गोविन्दराज बोहरा सामाजिक विकासमन्त्री र समाजवादीबाट प्रकाशबहादुर रावल आर्थिक मामिला तथा योजनामन्त्री भएका छन् ।

तीनै जना नयाँ मन्त्रीलाई प्रदेश प्रमुख देवराज जोशी पद तथा गोपनियताको सपथ गराए । आन्तरिक मामिलामन्त्री रावल काँग्रेसका केन्द्रीय सदस्य र कैलाली क्षेत्र नम्बर १ ख बाट निर्वाचित हुन ।

मन्त्री बोहरा काँग्रेसका समानुपातिक र आर्थिक मामिला मन्त्री रावल कञ्चनपुर क्षेत्र ३ क बाट निर्वाचित प्रदेश सभा सदस्य समेत हुन । रावल यसअघि प्रदेशकै पर्यटन राज्यमन्त्री समेत भइसकेका थिए ।

सोही क्रममा मुख्यमन्त्री त्रिलोचन भट्टले काँग्रेसका टेकबहादुर रैका, समाजवादीका अमर साउद र कुलवीर चौधरीलाई राज्यमन्त्रीको सपथग्रहण गराए ।

रैकालाई सामाजिक, साउदलाई आर्थिक मामिला र चौधरीलाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ । रैका काँग्रेसका समानुपाति प्रदेश सभा सदस्य हुन । साउद कैलाली क्षेत्र नम्बर ३ क बाट र चौधरी कञ्चनपुर ३ क बाट निर्वाचित प्रदेश सभा सदस्य हुन ।

शनिबार निर्वाचन आचारसंहिता लाग्ने भएपछि मन्त्री र राज्यमन्त्रीहरुले शुक्रबार नै पद बहाल गरे ।

सरकारका रहेका समाजवादीका आर्थिक मामिला तथा योजनामन्त्री तारा लामातामाङ, सामाजिक विकासमन्त्री लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री मनाकुमारी साउद, आर्थिक मामिला राज्यमन्त्री माया तामाङ बोहरा र भौतिक पूर्वाधारमन्त्री चुनकुमारी चौधरीलाई पदबाट राजीनामा दिन लगाएर मन्त्रीमण्डल हेरफेर गरिएको हो ।

तत्कालिन अवस्थामा समाजवादीका सरकारमा सहभागी सात जना मन्त्री र राज्यमन्त्रीमध्ये छ जनालाई राजीनामा गराइएको छ । सातमध्ये एक जना दलका नेता तथा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारी मात्र सोही मन्त्रालयमा कायम रहेका छन् ।

प्रदेश सरकार सात मन्त्री र चार राज्यमन्त्री गरेर ११ सदस्यीय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार