१० श्रावण २०८१, बिहीबार

टाइफाइड विरुद्धको खोप अभियान सुरु




धनगढी / कैलालीको धनगढी उपमहानगरपालिकासहित पाँच वटा स्थानीय तहमा बुधबारदेखि टाइफाइड विरुद्धको खोप अभियान सुरु भएको छ ।

नेपाल सरकारले देशभरी आगामी २५ गतेदेखि खोप अभियान सुरु गर्ने निर्णय गरेको भए पनि कैलालीका पाँच स्थानीय तहमा बुधबारदेखि नै अभियानका रुपमा सुरु गरिएको हो ।

अभियानको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ स्थित पञ्चोदय माध्यामिक विद्यालयमा सामाजिक विकास मन्त्री लालबहादुर खडका र धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले स्वास्थ्यकर्मीहरुलाई खोप हस्तान्तरण गरेर संयूक्त रुपमा अभियानको सुभारम्भ गरेका थिए ।

सो अवसरमा बोल्दै मन्त्री खडकाले खोप कार्यक्रमलाई प्रभावकारी बनाउन प्रदेश सरकार लागिरहेको बताए । उनले कोभिडविरुद्धको खोप शतप्रतिशत रुपमा उपलब्ध गराउने सुदूरपश्चिम प्रदेश सरकार रहेको बताए ।

उनले टाइफाइडविरुद्धको अभियान सुरु गर्ने पनि सुदूरपश्चिम प्रदेश पहिलो रहेको बताए । मन्त्री खडकाले अभियानलाई सफल बनाउन सबै बालबालिकाले खोप अभियानमा सहभागि हुन आग्रह गरे ।

कोही पनि नछुटुन, कोही पनि नदोहोरिउन भन्ने उद्देश्यसहित प्रदेश सरकारले यो अभियान शुरु गरेको छ उनले भने –यो अभियानमा सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन स्वास्थ्यकर्मी, आमा समुह, महिला स्वास्थ्यकर्मी लगायतको सहभागिता आवश्यक रहेको छ ।

नगर प्रमुख वडको अध्यक्षतामा भएको कार्यक्रममा धनगढी उपमहानगरपालिका उपप्रमुख शुशिला मिश्र भट्ट, वडा नम्बर ५ का वडा अध्यक्ष हिरासिंह पातली, स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामी, धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण बोहरा लगायतको सहभागिता रहेको थियो ।

जिल्ला स्वास्थ्य कार्यालय, कैलालीका अनुसार बुधबारदेखि धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका तथा जोशीपुर, बर्दगोरिया र जानकी गाउँपालिकामा खोप अभियान सुरु गरिएको हो । बाँकी आठ पालिकामा भने आगामी २५ गतेदेखि अभियान शुरु गरिने छ ।

कैलालीमा दुई लाख ४९ हजार ४८ बालबालिकालाई टाइफाइड विरुद्धकोे खोप लगाउने लक्ष्य रहेको छ । खोप अभियानका लागि नौ सय २४ खोप केन्द्र र एक हजार नौ सय ३३ खोप सेसन स्थापना गरिएका छन् ।

कैलालीमा विद्यालयमा रहेका दुई लाख आठ हजार आठ सय २८ तथा विद्यालय बाहिर रहेका ४० हजार दुई सय २० बालबालिका सबैलाई खोप प्रदान गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । १५ महिनादेखि १५ वर्ष उमेरसम्मका बालबालिकालाई टाइफाइड विरुद्धको खोप प्रदान गरिने छ ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बोहराले उपमहानगरपालिकाका विद्यालयमा आगामी बैशाख २ गतेसम्म टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन हुने बताए । उनका अनुसार उपमहानगरपालिकामा ५७ हजार सात सय ८२ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने लक्ष्य राखेको छ ।

देशभर यो कार्यक्रम २५ गतेदेखि लागु हुने भए पनि धनगढीका अधिकांश विद्यालयले परीक्षाको मिति तोकिसकेकाले २३ गतेदेखि नै सञ्चालन गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख बोहराले बताए ।

उपमहानगरपालिका भित्र एक सय ३२ खोप केन्द्र र एक सय ४१ खोप सेसन संख्या रहने छन्। त्यस्तै, तीन सय ३० महिला स्वास्थ्य स्वयंसेविका र ८६ जना स्वास्थ्यकर्मी परिचालन गरिने जनाइएको छ ।

यो खोप लगाउदा खोप लगाएको ठाउँ रातो हुने, चिलाउने, सामान्य ज्वरो आउने लगायतका समस्या देखिए पनि जटिल प्रकारको समस्या नआउने बोहराले बताए ।

सरकारले टाइफाईडविरुद्धको खोपलाई नियमित खोपका रुपमा अघि बढाउन देशभरीनै पहिलो चरणमा अभियानका रुपमा अघि बढाउने तयारी गरेको थियो ।

विश्वभरी अहिले २५ प्रकारका खोपहरू नियमित रुपमा समावेश गरिएको छ उनले भने– नेपाल हालसम्म १२ प्रकारका खोपहरूमात्र नियमित रहेका छन् । आगामी साउनदेखि टाईफाइडविरुद्धको खोपलाई नियमित खोपमा राखि १३ प्रकारका खोप समावेश गरिने छ ।

प्रति एक लाख जनसंख्यामा एक सय भन्दा बढी संक्रमण दर भएमा सो अवस्थालाई रोगको उच्च दरमा वर्गिकरण गरिएको छ । यो अवस्थाको आधारमा नेपालमा टाइफाईड रोगको संक्रमण र जोखिमको दर रहेको छ उनले भने नेपालमा विगत ५ वर्षको तथ्यांक अनुसार हरेक वर्ष करिव चार लाख ५० हजार जना टाइफाईडबाट संक्रमित हुने गरेको छ ।

विगत तीन वर्षको तथ्यांक अनुसार पानी र खानेकुराबाट हुने संक्रमाक रोगहरूमध्ये टाईफाइड तेस्रो स्थानमा रहेको छ । अस्पताल भर्ना हुने विरामीहरू मध्ये चौथो करण यहि रोग रहेको छ ।

उनका अनुसार नेपालमा हरेक वर्ष करिव दुई हजारदेखि दुई हजार पाँच सय टाइफाइड संक्रमित हुने गरेको छ । यस आधारमा ११ हजार एक सय ५७ प्रति लाख जना टाइफाईड संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार