१० श्रावण २०८१, बिहीबार

बेदकोटका मेयर चन्द र पाँच वडाध्यक्षले एमाले छोडे



धनगढी / कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर, पाँच जना वडाध्यक्ष र २२ जना वडा सदस्यहरूले एमाले छोडेका छन् ।

उनीहरु एकीकृत नेकपा समाजवादीमा प्रवेश गरेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मेयर अशोक चन्द सहित पाँच अध्यक्ष, कार्यपालिका सदस्य र सदस्यहरूलाई टिका लगाएर समाजवादीमा प्रवेश गराए ।

चन्द गत पुसमा भएको नेकपा एमालेको जिल्ला अधिवेशनमा सचिवमा पराजित भएका थिए । मेयर चन्द माधव नेपाल एमालेमा हुँदा नेपालसितै निकट थिए । स्थानीय राजनीतमा भने हाल समाजवादीमै रहेका तत्कालिन एमालेका कञ्चनपुर अध्यक्ष तथा अहिलेका प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तारा लामातामांगसित नजिक थिए ।

नगरप्रमुख सहित वडा नम्बर ३ का अध्यक्ष तिलक ठकुल्ला, ४ नम्बरका अध्यक्ष भास्कर भट्ट ७ नम्बरका वीरबहादुर डगौरा, ८ नम्बरका दुर्गासिंह भण्डारी र १० नम्बरका केशव रावल र वडा नम्बर १० का वडा सदस्य डम्मर भट्टले एमाले परित्याग गरेका हुन ।

१० वडा रहेको बेदकोट नगरपालिकामा ८ वडा एमालेले जितेको थियो । अहिले ८ मध्ये ५ वडाध्यक्षहरू एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।

कार्यपालिका सदस्यहरू तारा रैका,निर्मला विष्ट चौधरी, माया बोहरा, दलवीर टमाटा, चेतराम कामी, पिंकी दमाईं पनि एकीकृत समाजवादीमा प्रवेश गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार