२५ मंसिर २०८१, मंगलवार

प्रतिपक्षी एमाले र काँग्रेस प्रदेश सरकार विरुद्ध एक ठाउँमा उभिने




धनगढी / सुदूरपश्चिम प्रदेशका दुई प्रतिपक्षी दल नेपाली काँग्रेस र एमाले एकै ठाउमा उभिने भएका छन् । बुधबार नेपाली काँग्रेस संसदीय दलको कार्यालयमा काँग्रेस र एमालेका प्रदेश सभा सदस्यहरूबीच सरकारका विपक्षमा एक ठाउमा उभिने टुंगो लागेको छ ।

केन्द्रमा काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादी दलसहित पाच दलीय गठबन्धन भए पनि सुदूरपश्चिम सरकारमा भने काँग्रेस सरकार बाहिर रहेर प्रमुख प्रतिपक्षी दलको भूमिकामा रहेको छ ।

काँग्रेस सुरुदेखि नै सुदूपश्चिम प्रदेश सभामा प्रमुख प्रतिपक्षीका रुपमा रहदै आएको छ । सुदूरपश्चिम प्रदेश सभामा नेकपा एकिकृत समाजवादीका १४, नेकपा माओवादी केन्द्रका १३, नेपाली काँग्रेसका १२, नेकपा एमालेका १०, जसपा एक र लोसपा एक प्रदेश सांसद रहेका छन् ।

सुदूरपश्चिम प्रदेशमा हाल छ वटा राजनीतिक दलको उपस्थिति रहेको छ । अहिले नेकपा माओवादी केन्द्रको नेतृत्वमा नेकपा एकिकृत समाजवादी पार्टीसहितको सरकार रहेको छ ।

केन्द्रमा पाच दलीय गठबन्धन सरकार भए पनि सुदूरपश्चिम प्रदेश सरकारमा आफ्नो सहभागिता नभएको भन्दै काँग्रेस रुष्ट रहदै आएको छ । त्यसैले पनि काँग्रेस अहिले सत्ताका लागि चलखेल गर्दै आएको छ । बुधबार काँग्रेस र एमाले बीचको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सरकारलाई सर्मथन मात्रै गरेर बस्न नसक्ने मुडमा अहिले काँग्रेस पार्टी देखिएको छ । ‘हामीले सर्मथन मात्रै गरिबस्ने होईन नेपाली काँग्रेसका प्रदेश संसद भरत बहादुर खड्काले भने– अब हामी केन्द्रको भन्दा पनि प्रदेश स्तरीय गठबन्धन गर्ने तिर सोच बनाइरहेका छौं ।

सरकार एकतर्फी रुपमा काम गर्दै आएकोले त्यसमा आफुहरू किन भागिदार बन्ने भन्ने सांसद खड्काको आरोप छ । उनीहरू सत्ता गठबन्धन तोडेर नयाँ समिकरणका साथ अगाडी बढ्ने देखिएको छ । मंगलबार नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशको संसदीय दलको बैठकबाट नै सरकार विरुद्ध गठबन्धन बनाउने निर्णय गरिसका छन् ।

‘संसदीय दलको बैठकबाट नै हामीले यो निर्णयमा पुगेका हौ’ नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको नेता रणबहादुर रावलले भने– सुदूरपश्चिम प्रदेश सरकार चलाउन नयाँ समिकरण बन्छ ।

एमाले पनि अहिले प्रतिपक्षीमा बसेकोले काँग्रेसको साथ पाउदा सरकारको बिरोध गर्ने शक्ति बलियो हुने पक्षमा रहेको छ । अहिले काँग्रेस र नेकपा एमाले पनि संयुक्त रुपमा एक भएर संसदमा प्रस्तुत हुदा सरकार पक्ष पनि सशंकित भएको छ ।

प्रतिपक्षीमा काँग्रेस र एमालेको एजेण्डा एउटै छ एमालेका प्रदेश सांसद लिलाधर भट्टले भने– सरकारका गलत प्रवृत्तिका विरुद्ध सशक्त भएर अगाडि बढ्ने सहमति भएको छ । हाम्रो दुबै प्रतिपक्षीको साझा धारणा छ । हामीबीचको छलफलबाट पनि त्यही निष्कर्ष निकालेका छौ ।

बुधबारको छलफलमा नेपाली काँग्रेसबाट प्रदेश सांसद डिल्लीराज पन्त, भरतबहादुर खड्का र अम्बि थापा तथा एमालेका सांसदहरू प्रकाशबहादुर शाह, लिलाधर भट्ट, हर्कबहादुर कुँवर र बलदेब रेग्मी सहभागी रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार