१० श्रावण २०८१, बिहीबार

प्रदेशका मन्त्री हेलिकोप्टरमा गए, बाढी पीडितसंग सेल्फी खिचे, चाउचाउ पनि दिएनन् : एमाले सचेतक भट्ट




धनगढी / नेकपा (एमाले ) का प्रमुख सचेतक लीलाधर भट्टले सरकारका मन्त्रीले बाढी र पहिरो पीडितसंग हेलिकोप्टरमा गएर सेल्फी फोटो खिचे पनि अहिलेसम्म चिउरा, चाउचाउ पनि नदिएको आरोप लगाएका छन् ।

प्रदेश सभाको नवौ अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले प्रदेश सरकारले रकमको सुनिश्चितता नहुँदै आठ अर्व वढीको टेण्डर खोलेको, रातो कितावमा परेका योजना कार्यान्वयन नगर्नु भनेर मातहतका कार्यालयलाई पत्राचार गरेको, आफ्नो पार्टीमा आए बजेट दिन्छौ भनेर वार्गेनिङ गरेको जस्ता आरोप पनि लगाए ।

प्रमुख प्रतिपक्षी दल काँग्रेस भन्दा चर्को बोलेका उनले काँग्रेस प्रतिपक्ष भएर पनि बजेट पास गराउन सहयोग गरेको देख्दा अच्चम लागेको बताए । उनले संघ सरकार परमादेशको सरकार भएको भन्दै चर्को आलोचना गरे ।

प्रमुख सचेतक भट्टले सीमामा भारतले बाँध बनाउदा समेत संघ र प्रदेश सरकार नबोलेको बताए ।

उनले काँग्रेस सत्ता पक्ष हो कि प्रतिपक्ष चाँडै टुंगो लाग्नु पर्ने बताए ।

प्रमुख सचेतक भट्टले मुख्यमन्त्री र आर्थिक मामिला मन्त्री प्रदेश विकासका लागि ठूला योजना बनाउन लागेकोले फूर्सद नभएकोले संसद वैठकमा नआएको व्यंग्य पनि गरे ।

नेपाली काँग्रेसका संसदीय दलका नेता रणबहादुर रावलले पनि प्रदेश सरकारको कमजोरीको लामो सूची सुनाए । उनले सङ्घीय सरकार गठवन्धनबाट चले पनि सुदूरपश्चिम प्रदेश सरकार भने दुई दल (माओवादी र समाजवादी) ले मात्र चलाएको गुनासो गरे । काँग्रेस अहिले प्रदेश सभाको मुख्य प्रतिपक्ष दलकारुपमा रहेको छ ।

यस्तैगरेर लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रदेश सभा सदस्य कृष्णबहादुर चौधरीले प्रदेश सरकारले हेलिकोप्टरमा चढेर घुम्ने काममा उपलव्धी गरेको व्यंग्य गरे ।

सत्ता पक्षका प्रमुख सचेतक तथा एकीकृत नेकपा (समाजवादी) दुर्गाकुमारी कामी र नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य वीरमान चौधरीले सरकारले अरु प्रदेशले समेत अनुकरण गर्ने खालका काम गरेको बताएका थिए । उनीहरुले विकासका लागि सबै दल एक भएर अघि बढ्नु पर्ने धारणा पनि राखे ।

सुदूरपश्चिम प्रदेश सभाको नवौ अधिवेशनको पहिलो बैठकलाई शुभकामना आदान प्रदानको बैठक भनिए पनि सत्ता र प्रतिपक्ष दलका सांसदहरु आरोप प्रत्यारोपमा उत्रिएका थिए ।

आइतबारको बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले सुदूरपश्चिम प्रदेश दुग्ध विकास वोर्डको स्थापना र व्यवस्थापन गर्न बनेको विद्येयक, २०७७ लाई संशोधन गर्न बनेको विद्येयक टेवुल गरिन ।

सो अवसरमा सभामुख अर्जुनबहादुर थापाले प्रदेश सभाको अर्को बैठक सोमबार दिउँसो ४ बजे बस्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार