१० श्रावण २०८१, बिहीबार

पार्टीले टिकट दिए, कैलालीबाटै चुनाव लड्छु : डा. आरजु देउवा



धनगढी / नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले आफूलाई कैलाली क्षेत्र नम्बर ५ का जनताले माया गरेरै २२ हजार बढी मत दिएको बताउदै पार्टीले टिकट दिए फेरि पनि यही चुनाव लड्ने बताएकी छन् ।

म यहाँका जनतासंग म भिजिसकेको छु त्यसैले यही चुनाव लड्छु, मलाई यही ठाउँ मनपर्छ आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भनिन ०७४ को चुनावमा तीन÷चार दल मिलेर मलाई हराएका हुन, म हारेको होइन ।

पहिले पनि वर्दिया लगायतका ठाउँमा लड्ने प्रचारित गरिएको थियो तर मैले धनगढी नै छाने । उनले भनिन आफूलाई सर्लाहीमा पनि लड्न भनिएको छ तर पार्टीले टिकट दिए धनगढीमै लड्छु ।

पत्रकारको अर्को प्रश्नको जवाफमा नेतृ देउवाले सानातिना मनमुटाव एउटा घर, परिवारवीच हुन्छन् त्यस्तो हुनु सामान्य पनि हो त्यसैले काँग्रेसको आन्तरिक चुनावका मनमुटाव जनताका वीचको चुनावमा प्रकट नहुने विश्वास गरिन ।

नेतृ देउवाले ३६४ दिन काँग्रेस हुनेहरुले भोट हाल्ने दिन ३६५ औ दिनमा पनि काँग्रेसलाई भोट हाल्न आग्रह गरिन । काँग्रेसकै नेतृत्वमा ठूलाठूला परिवर्तन भएको दावी गर्दे नेतृ देउवाले सामाजिक, आर्थिक र सूचना प्रविधिको परिवर्तन पनि काँग्रेसकै पालामा भएकोले जनताले् काँग्रेसलाई नै भोट दिनपर्ने बताइन ।

उनले् स्थानीय चुनाव हुनेमा पनि ढुक्क रहन आग्रह गरिन । संविधान अनुसार तोकिएकै समयमा चुनाव हुन्छ चुनाव हुन्न भन्ने हल्लाका पछाडि लाग्नु हुन्न उनको भनाइ थियो ।

नेतृ देउवाले अहिलेका सत्ता गठवन्धनका दलहरु मिलेरै चुनावमा जाने पनि बताएकी छन् । एमाले विभाजित भएको बेला काँग्रेस एक्लै लड्न किन डराएको भन्ने प्रश्नमा उनले भनिन, एमाले मात्र छैन अरु पार्टी पनि छन्, ०७४ को चुनावले सिकाएको अनुभवले गठवन्धनमा जानैपर्छ । काँग्रेस लोकतान्त्रिक पार्टी हो गठवन्धन गर्ने नगर्ने बारे बहस भएका छन हामी निर्णय गरेरै गठवन्धन बनाएर चुनावमा जान्छौ उनले भनिन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार