४ पुष २०८२, शुक्रबार

सुनचाँदी व्यवसायका नीतिगत समस्याप्रति सरकार गम्भीर– मन्त्री धामी




धनगढी / सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामीले सरकारले सुनचाँदी व्यवसायमा विद्यमान नीतिगत समस्या सम्बोधनका लागि आवश्यक ऐन बनाउने बताएका छन् ।

सुनचाँदी व्यवसायी संघ, कैलालीको शनिबार तेस्रो साधारणसभाको उद्घाटनका क्रममा मन्त्री धामीले भने– ऐन निर्माण गर्दा व्यवसायीहरुसंग आवश्यक छलफल गरिने छ ।

मन्त्री धामीले देशमा संघीय शासन प्रणाली लागू भएपछि श्रमको मुल्यांकन र सम्मान हुने बताए । उनले भने, सरकारले गरिखाने वर्गको हितको संरक्षण गर्नेछ ।

कार्यक्रममा सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिरत्न शाक्यले राज्यले सुनचाँदी व्यवसायलाई उचित सम्मान गर्न नसकेको गुनासो गरे । उनले भने– सुनचाँदी व्यवसाय क्षेत्रले राज्यलाई वार्षिक तीन अर्ब रुपैयाँ कर तिरिरहेको छ, तर व्यवसायीहरुले राज्यबाट कुनै सुविधा तथा सम्मान पाउन सकेका छैनन् ।

उनले थपे– सुनचाँदी व्यवसायीहरुले राज्यबाट सम्मान पाउनुपर्नेमा उल्टै अपराधीको जस्तै व्यवहार भोगिरहेका छन् । सरकारले हाम्रो माग अनुसार सुनचाँदी पनि दिँदैन । व्यवसायीले अन्यत्रबाट सुन ल्याउन पाउने अवस्था छैन ।

सुनचाँदी व्यवसायी महासंघका सुदूरपश्चिम प्रदेश अध्यक्ष सन्तोष लामिछानेले काम गरेर खाने वर्गलाई समाजले समेत विभेद गर्ने गरेको गुनासो गरे ।

उनले केन्द्रबाट सुदूरपश्चिम प्रदेशमा न्युन परिमाणमा मात्रै सुन आपूर्ति गर्ने गरेको बताए । उनले भने– प्रदेश सरकारले सुनको कोटा बढाउन पहल गर्नुपर्दछ ।

संविधान सभा सदस्य हरि श्रीपाइलीले राज्यका गलत नीति नियमका कारण सुनचाँदी व्यवसाय संकटमा परेको बताए । उनले भने– कतिपय मानिसले व्यवसायीलाई आफुसंग भएको एकदुई तोला सुन वेच्दा व्यवसायीले त्यसको स्रोत खुलाउन सक्दैनन् । तर, प्रहरीले त्यही सुनको श्रोत खुलाउन भन्दै व्यवसायीलाई पटक–पटक दुःख दिने गरेका छन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता (प्रहरी नायव उपरीक्षक) वेद जोशीले प्रहरीले बिना कारण कसैलाई पनि दुःख दिन नचाहने बताए । उनले व्यवसायीहरुले पनि व्यवसायिक मर्यादालाई कायम गर्दै इमान्दारीका साथ काम गर्न आग्रह गरे ।

उद्घाटन कार्यक्रम सुनचाँदी व्यवसायी संघ, कैलालीका अध्यक्ष कमल लामिछानेको अध्यक्षतामा भएको थियो । कार्यक्रम सञ्चालन सावित्रा घिमिरेले गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार