१९ बैशाख २०८१, बुधबार

नवजीवन सहकारी संस्था : नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूद्वारा सपथ ग्रहण





धनगढी / नवजीवन सहकारी संस्था लिमिटेडका नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले मंगलबार सपथ ग्रहण गरेका छन् ।

मंगलवार एक कार्यक्रमबीच नवनिर्वाचित पदाधिकारी तथा सदस्यहहरूलाई प्रमाणपत्र वितरण गरिनुका साथै सपथ ग्रहण गराइयो ।

सो अवसरमा प्रमुख निर्वाचन अधिकृत लोकबहादुर बिष्टले पदाधिकारी र सदस्यहरूलाई सपथ ग्रहण गराए ।
शनिबार भएको संस्थाको सञ्चालक समितिको निर्वाचनमा देवबहादुर बम अध्यक्षमा निर्वाचित भएका थिए । उनले आठ हजार तीन सय ९१ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिस्पर्धी रतनबहादुर कठायतले सात हजार ८३ मत प्राप्त गरेका थिए ।

निर्वाचनमा बम र कठायतको छुट्टाछुट्टै प्यानल प्रतिस्पर्धामा रहेको थियो ।

सञ्चालक समितिकोे उपाध्यक्षमा सात हजार तीन सय २९ मत सहित कठायत प्यानलका चेतराज ओझा विजयी भएका छन् । उनका प्रतिस्पर्धी भरतराज जोशीले छ हजार आठ सय २७ मत प्राप्त गरे ।

त्यस्तै, सञ्चालक समिति सदस्यहरूमा इन्दिरा जैशी (८३११), उत्तम राज जोशी (६९२४), गोपालराज पाठक (६८५७), केशवराज मिश्र (६७८०), डाक्टर महेशराज बिष्ट (६६३०), घनबहादुर शाह (६६११), उपेन्द्र बिष्ट (६४७७), शिवकुमार जोशी फुलारा (६३६४), गणेश बम (६१७२), जयराज जोशी (६१०२) र विश्वनाथ ओझा (६०१५) मतका साथ विजयी भए ।

त्यस्तै, सहकारी संस्थाको लेखा सुपरिवेक्षणको संयोजकमा चेतराज जोशी (७१६५) निर्वाचित भए । लेखा सुपरिवेक्षण सदस्यद्वयमा गणेश प्रसाद उपाध्याय (७१४१) र लक्ष्मीराज पन्त (७०१५) विजयी भएका छन् ।

निर्वाचन समितिका अनुसार सहकारी संस्थामा २९ हजार ५ सय ७७ शेयर सदस्य रहेकोमा १७ हजार ८० मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार