७ बैशाख २०८१, शुक्रबार

आगामी १० गतेदेखि सुदूरपश्चिम महोत्सव हुँदै



धनगढी / कोरोना महामारीका कारण दुई वर्षदेखि स्थगित सुदूरपश्चिम महोत्सव यस वर्ष आगामी १० गतेदेखि हुने भएको छ ।

कैलाली उद्योग वाणिज्य संघले २०६३ सालदेखि हरेक वर्ष मंसिर २२ गतेदेखि धनगढीमा सुदूरपश्चिम महोत्सव आयोजना गर्दै आएको छ । तर, कोरोना महामारीका कारण दुई वर्ष महोत्सव स्थगित भएको थियो ।

यस वर्ष गत माघमा महोत्सव आयोजनाको तयारी गरिए पनि कोरोना महामारी संक्रमण फैलिएपछि अन्तिम समयमा रोकिएको थियो ।

कैलाली उद्योग बाणिज्य संघले मंगलबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमार्फत आगामी १० गतेदेखि २० गतेसम्म सुदूरपश्चिम महोत्सव सञ्चालन हुने जानकारी दिएको छ ।

सुदूरपश्चिम प्रदेशको पर्यटन, कृषि र उद्योग व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवद्र्धन भन्ने नाराका साथ महोत्सव आयोजना हुदै आएको छ ।

महामारीका कारण सिर्जना भएका आर्थिक, सामाजिक प्रतिकुलता र विषम आर्थिक अवस्थाबाट गुज्रिरहेको उद्योग, व्यापार व्यवसायलाई पुनर्जीवन दिन यो महोत्सव उपलब्धिमुलक हुने विश्वास लिएको छु पत्रकार सम्मेलनमा कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले भने– यस वर्ष हामीले वृहत व्यवसायिक कृषि प्रदर्शनीका साथै कृषि प्रतियोगिता, तरकारी र कृषिसंगै माछा, केरा, पोल्ट्री, दूग्धजन्य पदार्थ, च्याऊ आदिको प्रदर्शनीमा विशेष जोड दिएका छौं ।

उनले महोत्सवमा सुदूरपश्चिम प्रदेशका विभिन्न समुदायका विशेष परिकारहरू पनि राखिने बताए ।
महोत्सव आयोजनामा एक करोड रुपैया खर्च हुने अनुमान गरिएको छ भने १५ करोड रुपैया बढिको कारोबार हुने अपेक्षा गरिएको छ ।

यस वर्ष महोत्सवमा कृषि, जडिबुटी, हस्तकला, फर्निचर, अटोमोबाइल्स, गारमेन्ट, इलेक्ट्रोनिक, होटल, सूचना प्रविधि सहित तीन सय बढी स्टल रहने जनाइएको छ । पत्रकार सम्मेलनमा अध्यक्ष कुवरले भने– महोत्सव अवधिभरी चार लाख बढि मानिसले अवलोकन गर्ने अपेक्षा गरेका छौं ।

महोत्सव आयोजनका लागि मुल समिति तथा विभिन्न २१ वटा उपसमिति गठन गरिएको छ ।

अध्यक्ष कुवरले महोत्सव सफल बनाउन संघीय, प्रदेश र स्थानीय सरकार तथा विभिन्न उद्योग, व्यवसायी, संघसंस्था र आम जनसमुदायसंग सहयोगको अनुरोध गरे । अहिले चैत महिनाभरी देशभरी नै मेला महोत्सव भईरहेका छन् ।

कैलालीमा चैत्रमा गर्मी बढ्ने भएकोले दिउँसो ३ बजेदेखि राती आठ बजेसम्म महोत्सव सञ्चालन गर्ने निर्णय गरेका छौं उनले भने ।
यस वर्ष महोत्सवमाफृत संघले सरकारसामु सात वटा माग प्रस्तुत गर्ने जनाएको छ ।

यस वर्ष महोत्सव नयाँ स्थानमा हुने
सुदूरपश्चिम महोत्सवको पहिलो वर्ष २०६३ सालमा धनगढीस्थित दशरथ रंगशालामा कैलाली महोत्सवका रुपमा शुरु भएको थियो ।

दुई वर्ष निरन्तर सोही मैदानमा आयोजना गरिएकोमा २०६५ सालदेखि साविकको सेती अञ्चल प्रहरी कार्यालय (हालको प्रदेश प्रहरी कार्यालय धनगढी) को मैदानमा सुदूरपश्चिम महोत्सव आयोजना भएको थियो ।

यस वर्ष सो मैदानमा प्रहरी भवन निर्माणाधिन अवस्थामा रहेको र अन्य खेल प्रतियोगिताहरू पनि सञ्चालन हुन लागेपछि महोत्सव गर्न जग्गा अभाव भएको संघले जनाएको छ ।

अध्यक्ष कुवरका अनुसार यस वर्ष धनगढी उपमहानगरपालिका वडा नम्बर १ को खाली जग्गामा महोत्सव आयोजना हुने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार