१५ चैत्र २०८०, बिहीबार

खुद्रा, मसिना योजना दिदैनौ : मन्त्री झाक्री




धनगढी / नेपाल सरकारका शहरी विकासमन्त्रीले पहाड र हिमालबाट तराइमा भइरहेको बसाइँसराई रोक्न आवश्यक बताएकी छन् ।

शनिबार धनगढीमा भएको राष्ट्रिय शहरी नीति र शहरी विकास ऐन तर्जुमा सम्वन्धी प्रादेशिक कार्यशालामा बोल्दै मन्त्री झाक्रीले भनिन हिमाल र पहाडमा लगानी भइरहेको छ तर मानिस तल झरिरहेका छन्, यो निक्कै चिन्ताजनक विषय हो ।

उनले पहाडमा समेत शहर बनाउन र ती शहर बनाउदा बजेट अभाव भए नीजि क्षेत्रलाई समेत सहभागी गराएर लगानी गर्ने गरेर नीति बनाउने तयारी गरिरहेको बताइन । त्यसैले कसरी तीनवटै भौगोलिक क्षेत्रमा शहर बनाउने भन्ने उदेश्यले सातै प्रदेश र केही थप शहरमा कार्यशाला आयोजना गरेर छलफल गर्न थालिएको मन्त्री झाक्रीले बताइन ।

उहाँले आफू चुनावमुखी नभएर दीर्घकालका लागि उपयुक्त हुने योजना बनाउन थालेको बताउदै खुद्रा, मसिना बजेटका काम नगर्ने प्रतिबद्धता गरिन ।

मन्त्री झाक्रीले भनिन, अव पत्रकारले पनि राजनीति सवाल भन्दा विकास निर्माणका सवाललाई मुख्य समाचार बनाउनेतर्फ ध्यान दिनु पर्ने बताइन ।

सो अवसरमा सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारसँग अझै शहरी विकासमा गर्ने इन्जिनियर नरहेको बताउदै नेपाल सरकारले थोरै शहर बनाउने तर राम्रा बनाउनेतर्फ ध्यान दिनु पर्ने बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्यहरु, नगरपालिकाका प्रमुख र उपप्रमुखले समूहगतरुपमा शहरी नीतिमा समेटिनु पर्ने विषयमा सुझाव दिएका थिए ।

कार्यक्रममा शहरी विकास विज्ञ गिरिजाप्रसाद गोर्खालीले शहरी विकासको अवस्था र मुद्धा बारे प्रस्तुती राख्दै समृद्ध, जीवन्त, सुन्दर र समावेशी शहर बनाउनु पर्ने धारणा राखेका थिए ।

कार्यक्रम मन्त्रालयका सचिव मनिराम गेलालको अध्यक्षतामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार