लम्कीचुँहाका जग्गाविहिनले लालपूर्जा पाउदै

लम्की / लम्कीचुहा नगरपालिकाले जग्गा विहिनलाई जग्गा दिने भएको छ । नगर प्रमुख महादेव बजगाईले जग्गा वितरणलाई मुख्य चुनावी प्रतिवद्धतामा राखेका थिए ।
०७४ को स्थानीय तहको निर्वाचनमा नगर प्रमुखको उम्मेदवार हुदा बजगाईले आफू निर्वाचित भएमा ऐलानी जग्गामा बसेकालाई जग्गा धनी पूर्जा दिने प्रतिवद्धता गरेका थिए ।
राष्ट्रिय भूमि आयोगको लम्कीचुहा स्थित पालिका सेवा केन्द्रले जग्गा नापको सूचना निकालेपछि नगर प्रमुख बजगाईको प्रतिवद्धता पूरा हुने भएको हो ।
आफ्नो कार्यकालमा थुप्रै काम गरेको छु । सडक, खानेपानी, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा उल्लेखनीय काम गर्न सफल भएका छौं, भूमिहीनहरूलाई लालपूर्जा दिन सकिदैन कि भन्ने चिन्ता थियो, त्यो चिन्ता हटेको छ मेयर बजगाईले बताए ।
अब वडा नम्बर २, ४र वडा नम्बर ५ बाट जग्गा नाप नक्साको काम हुनेछ र निस्सा वितरण हुने छ उनले भने ऐलानी जग्गामा बस्नेहरूले जग्गा धनी पुर्जा पाउने छन् ।
सेवा केन्द्रका संयोजक विरेन्द्र शाहीले पहिलो चरणमा तीन वडामा जग्गा नापको काम सुरु हुने बताए । तीन वडामा नापको काम पूरा गर्न दुई महिनाको समय लाग्ने संयोजक शाहीले जानकारी दिए ।




