१५ चैत्र २०८०, बिहीबार

विकास र खर्चमा सुदूरपश्चिम अगाडि छ : मन्त्री सोडारी




धनगढी / सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री दीर्घबहादुर सोडारीले अरु प्रदेशका तुलनामा सुदूरपश्चिमले विकास र खर्च बढी गरेको दावी गरेका छन् ।

धनगढीमा प्राइम टेलिभिजनद्धारा शनिबार आयोजित सुदूरपश्चिमको विकास निर्माणका सवालमा भएको एक अन्र्तक्रियामा बोल्दै उनले प्रदेशको संरचना नयाँ हुनु र जनताले पनि प्रदेशको अधिकार बाहिरका अपेक्षा राखेकोले केही आलोचना खेप्नु परेको बताए ।

उनले भने केही समय प्रदेशको संरचना, कर्मचारी, स्रोत साधन जुटाउनै लाग्यो अर्कोतिर ठूला जलविद्युत आयोजना र जग्गा प्राप्तीको अधिकार नहुँदा काम कम देखिन्छन् त्यसैमा नागरिकले सरकारको आलोचना गर्छन ।

मन्त्री सोडारीले धेरै अभाव र समस्याका बीचमा पनि अहिलेसम्म साढे पाँच सय किलोमिटर पक्की सडक बन्दै गरेको, ३६ वटा ठूला पुल, ३३ झोलंगे पुल, ३५ वटा वहुवर्षीय ठूला सडक बनिरहेको बताए ।

हामी हावादारी योजना बनाउदैनौ उनले भने, स्वास्थ्य उपचारका लागि भारत जानु नपर्ने अवस्था सृजना गरिएको बताए । सेती र महाकाली अस्पतालको विगत र अहिलेको अवस्था हेर्न पनि उनले आग्रह गरे ।

मन्त्री सोडारीले भने भ्रष्टाचार भयो भनिन्छ तर कसले कहाँ गर्यो तथ्य सहित अगाडि बढौ र कार्वाही गरौ समग्रतामा सबै भ्रष्टचारी हुन भन्नु गलत हो ।

कर्णाली, सेती जलविद्युत आयोजना, कर्णाली चिसापानी, गड्डाचौकी छ लेन सडकका लागि वजेट विनियोजन गर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरिएको पनि बताए । उनले पाँच पटक प्रधानमन्त्री भएका देउवाले पनि सुदूरपश्चिमको विकासका लागि गम्भीर हुनु पर्ने बताए ।

सो कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभामा नेपाली काँग्रेस संसदीय दलका नेता रणबहादुर रावलले भने प्रदेश सरकारले भ्रष्टाचारमा शुन्य सहनशिलता नभएको , जलविद्युत, जडीवुटी, औधोगिक ग्राम, सुपथ पसलमा पहलकदमी नगरेको आरोप लगाए ।

उनले प्रदेश सरकारले वडासित प्रतिस्पर्धा गर्ने खालका योजना सञ्चालन गरेको बताउदै सरकार भएको अनुभूति आफूहरुले नगरेको पनि बताए ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले तीनवटै सरकारवीच सहकार्य, सहअस्तित्व र समन्वय अझ जरुरी रहेको बताउदै धनगढीमा भएका विकास अव देखिन थालेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार