१० श्रावण २०८१, बिहीबार

चिकित्सक दिवस मनाइयो



धनगढी । कैलालीसहित देशभरी ७२ औं चिकित्सक दिवस विविध कार्यक्रम गरि मनाइएको छ ।

‘जिम्मेवार चिकित्सक, सुरक्षित पेशा’ भन्ने मुल नाराका साथ चिकित्सक संघले विभिन्न कार्यक्रम गरि दिवस मनाएको हो ।

नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशको आयोजनामा धनगढीमा विहान मुख्यमन्त्री कार्यालयदेखि सेती प्रादेशिक अस्पतालसम्म प्रभात फेरी कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा विभिन्न अस्पतालका प्रमुख, विशेषज्ञ डाक्टर लगायतको सहभागिता रहेको थियो ।

यस्तै, दिउसो धनगढीमा एक अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको थियो । नेपाली काँग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवा, पूर्व मन्त्री लेखराज भट्ट, सामाजिक विकास मन्त्री लालबहादुर खडका लगायतसंग चिकित्सकहरुले खुल्ला छलफल गरेका हुन ।

सो अवसरमा बोल्दै संघका केन्द्रिय अध्यक्ष डाक्टर लोचन कार्कीले देशमा भइपरि आउने महामारी तथा विपदमा मानिसको ज्यान बचाउन चिकित्सकहरु जिम्मेवार भएको दाबी गरे । ‘२०७२ सालमा आएको भुकम्प होस या अहिले यो कोभिड महामारी होस । हामी चिकित्सकहरु जिम्मेवार भएर काम गरेका छौं । हामीले कुनै पनि मानिसलाई मार्ने प्रेरितले सेवा दिदैनौ.’ उनले भने –‘कतिपय विरामी स्वयमको लापरबाहीका कारण ज्यान जाँदा अस्पतालमा तोडफोड हुने, चिकित्सकमाथि हातपात हुने गरेको छ ।’ उनले सेवा दिने प्रेरणासहित चिकित्सक पेशा अपनाएर लागेका तर, पछिल्लो समय विरामी र चिकित्सक बिच खाँडल रहेको बताए । ‘सामाजिक, आर्थिक, राजनीति लगायतका समस्या अहिले पनि चिकित्सकहरुले झेल्नुपरेको छ’ उनले भने ।

नेपाल चिकित्सक संघका केन्द्रिय सदस्य डाक्टर प्रमोद जोशीले चिकित्सककै लापरबाहीका कारण विरामीको ज्यान नगएको बताए । ‘चिकित्सकहरुको गल्ती हुँदैन । तर, कोही विरामी भवितव्य उपचारकै क्रममा मृत्यु भयो भने हामीमाथि दोष देखाइन्छ’ उनले भने –‘यहि कारण अहिले कतिपय जिल्लामा चिकित्सकहरु सेवा प्रदान गर्न उपस्थित हुन चाहदैनन ।’

नेपाली काँग्रेसकी नेतृ डाक्टर आरजु राणा देउवाले कोभिड महामारीपछि अहिले समाजले चिकित्सकहरुलाई हेर्ने दृष्टिकोणमा सुधार आएको बताइन । ‘चिकित्सकहरुले हाम्रा समाजका लागि धेरै योग्दान गरेको छ । तर, समाजले उहाँहरुलाई सो अनुसारको सेवा सुविधा दिन सकेको छैन’ उनले भनिन ।

उनले आफुले स्वास्थ्यलाईनै प्राथमिकतामा राखेर वकालत तथा सेवा दिदै आएको बताइन । ‘म सामाजिक सेवामा लागेकी मान्छे हुँ । मैले समाज भन्दा पनि स्वास्थ्यलाई प्राथमिकता राखेकी छु । स्वास्थ्य रहेमात्र शिक्षा लिन पाइन्छ’ उनले भनिन ।

नेतृ देउवाले यहाँका जनताले सेवा पाउने गरि गेटा मेडिकल कलेजलाई सञ्चालनमा ल्याइने बताइन । ‘गेटा मेडिकल कलेज यस क्षेत्रको गौरवको योजना हो । यस क्षेत्रका जनताले सेवा पाउन भनी छिट्टै खोल्नुपर्छ । हामी खोल्ने तयारीमा छौं’ उनले भनिन । उनले सबै जिल्लामा एक मेडिकल कलेज स्थापना हुनुपर्ने बताइन । ‘यहाँको जनसंख्या पनि थोरै छ । हामी सबै जिल्लामा मेडिकल कलेज खोलौं । यस (गेटा मेडिकल कलेज) लाई स्वास्थ्य विश्वविद्यालयका रुपमा अघि बढाऔं’ उनले भनिन ।

पूर्वमन्त्री तथा नेकपा एमालेका नेता लेखराज भट्टले सडकबाट व्यक्त भएका अभिव्यक्तिले समाज अराजकतातिर जाने गरेको बताए । ‘नेता कार्यकर्ताले सडकबाट अराजक अभिव्यक्ति व्यक्त गर्छ । त्यही अभिव्यक्तिबाट प्रेरित कार्यकर्ताबाट अस्पताल तथा चिकित्सकहरुमाथि आक्रमण हुन्छ’ उनले भने –‘यस्तो प्रवृतिलाई सबैले तिरस्कार गरि अघि बढ्नुपर्ने र कानुनी मान्यता अनुसार सबै अघि बढनु आवश्यक रहेको छ ।’

नेता भट्टले मेडिकल कलेजको संरचना तयार भइसकेकोले छिट्टै सञ्चालनमा ल्याइने बताए । ‘मैले प्रधानमन्त्री शेरबहादुर देउवासंग यस विषयमा कुरा गरेको छु । अहिले अध्यादेश ल्याएर यसलाई विश्वविद्यालयका रुपमा अघि बढाऔं भन्ने प्रस्ताव राख्दा उहाँ सकारात्मक हुनुहुन्छ’ उनले भने –‘अहिले राष्ट्रको समसामयिक परिस्थितिका कारण त्यो काम अघि बढेको छैन । अब चार वटा दरबन्दी कायम गरी सञ्चालनमा ल्याइने छ ।’

यस्तै, दिवसकै अवसरमा सेवा निवृत डाक्टर गुणराज अवस्थीलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार