८ बैशाख २०८१, शनिबार

भव्य समारोहबीच नेपाली साहित्य महोत्सव शुरु




धनगढी / धनगढीमा बिहीबारदेखि नेपाली साहित्य महोत्सव शुरु भएको छ । बिहीबार एक भव्य कार्यक्रमबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले महोत्सवको उद्घाटन गरे ।

सुदूरपश्चिमाञ्चल साहित्य समाज, धनगढीको आयोजनामा भइरहेको साहित्य महोत्सव उद्घाटन समारोहमा पञ्चेबाजा, रानाथारुको होरी नाच, दार्चुलाको छलिया, अछामको देउडा, डंगौराथारु समुदायको लाठीनाच लगायतका आकर्षक झाँकी र नृत्य प्रस्तुत गरियो ।

यस पटकको साहित्य महोत्सवको मुख्य प्रवद्र्धक सुदूरपश्चिम प्रदेश सरकार तथा प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका रहेका छन् ।

त्यस्तै, प्रदेशका ३७ वटा स्थानीय तह र दुई वटा अस्पताल पनि प्रवद्र्धकका रुपमा रहेका छन् ।

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री भट्टले नेपाली भाषा, कला साहित्य, संस्कृतिको संरक्षणका लागि सबै क्षेत्रको योगदान आवश्यक रहेको बताए । उनले मुलुकमा संघीयता लागु भइसकेपछि प्रदेश स्तरमा ठुलाठुला आयोजना र कार्य हुनसकेको चर्चा गरे ।
कार्यक्रममा सामाजिक विकास मन्त्री लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी र राष्ट्रिय सभा सदस्य गरिमा शाहले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

उद्घाटन समारोहमा साहित्य समाजका अध्यक्ष रामलाल जोशीले हरेक वर्ष साहित्य महोत्सव आयोजना गरिने र प्रदेश सरकारले वार्षिक बजेटमा नै कार्यक्रम राखेर यसको स्वामित्व ग्रहण गर्न आग्रह गरे ।

महोत्सव मुल आयोजक समितिका संयोजक यज्ञराज उपाध्यायले धनगढीलाई बौद्धिक तथा चेतनाको शहर बनाउने अभियान अघि बढेको चर्चा गरे ।

कार्यक्रममा समाजका उपाध्यक्ष तीर्थराज पाण्डेले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव हरिकृष्ण कडायतले गरेका थिए ।

तीन दिनसम्म चल्ने महोत्सवमा भाषा, साहित्य, संस्कृति, विकासका सवालमा १६ वटा परिसंवाद कार्यक्रम हुनेछन् ।
त्यस्तै, साहित्य महोत्सवमा गजल सन्ध्या, सुदूरपश्चिमको मौलिक देउडा, काव्य प्रार्थना, सङ्गीत साँझ कार्यक्रम पनि प्रस्तुत गरिने आयोजक संस्थाले जनाएको छ ।

महोत्सवमा देशभरीका दुई सय बढी स्थापित साहित्यकार, स्रष्टा सहित निकै ठूलो संख्यामा सहभागीहरु रहेका छन् ।

दुई वर्षअघि (२०७६) धनगढीमा विश्व साहित्य सम्मेलन गरेर अमेरिका, बेलायत, अष्टे«लिया, जापान, भारत, बर्मा, सहित एक दर्जनबढी देशका तीन सय बढी नेपाली साहित्यकार, लेखक, संस्कृतिकर्मीहरु, समिक्षकहरुलाई धनगढीमा भित्राइसकेको साहित्य समाजले हरेक वर्ष साहित्य महोत्सव आयोजना गर्ने घोषणा गरिसकेको छ ।

४२ स्रष्टा, प्रतिभाहरु पुरस्कृत
समारोहमा साहित्य, कलासंस्कृति, पत्रकारिता, सामाजिक सेवाका क्षेत्रमा विशिष्ट योगदान पुराएका ४२ जनालाई २०७७ र २०७६ का विभिन्न विधाका पुरस्कार प्रदान गरियो ।

२०७७ सालको बद्रिकृष्णा बाङ्गमय पुरस्कार भारतको आसामका बरिष्ठ नेपाली साहित्यकार लीलबहादुर क्षेत्री र प्रभास राज्यलक्ष्मी पुरस्कार प्रदेश सभाका सभामुख तथा लेखक अर्जुनबहादुर थापालाई प्रदान गरियो ।

बद्रिकृष्णा बाङ्गमय पुरस्कारको राशी एक लाख एक हजार एक सय ११ र प्रभास राज्यलक्ष्मी पुरस्कारको राशी ५० हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, २०७६ सालको बद्रिकृष्णा बाङ्गमय पुरस्कार बैरागी काँइलालाई र प्रभास राज्यलक्ष्मी पुरस्कार सरुभक्त (पोखरा) लाई प्रदान गरियो ।

यस्तै नागरिक दैनिकका संवाददाता दिलबहादुर छत्याललाई प्रथम राज्य लक्ष्मी पत्रकारिता पुरस्कार प्रदान गरिएको छ।

सुदूरपश्चिमाञ्चल साहित्य समाजले ईमान्दार पत्रकारीतामार्फत भाषा, साहित्य र संस्कृती क्षेत्रमा योगदान पुर्‍याएवापत २० हजार राशीको पुरस्कार प्रदान गरिएको समाजका अध्यक्ष रामलाल जोशीले बताए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार