१० श्रावण २०८१, बिहीबार

अन्याय गर्ने प्रवृत्तिको अन्त्यका लागि वमको पक्षमा लागेको कोइराला पक्षको भनाइ



आज विहान ८ बजेदेखि दोस्रो चरणको निर्वाचन उद्योग वाणिज्य संघको सभाहलमा मतदान हुँदै


धनगढी / नेपाली काँग्रेस कैलालीको दोस्रो चरणको मतदानमा शेखर कोइराला समुहले सभापतिका उम्मेदवार प्रकाशबहादुर बमलाई समर्थन गरेको छ ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै आज (बिहिबार) हुन गइरहेको दोस्रो चरणको निर्वाचनमा शेखर समुहका नेताहरूले बमलाई समर्थन गर्ने घोषणा गरे ।

“हाम्रो समुहका जिल्लाभरीका प्रतिनिधि तथा नेताकार्यकर्ताहरूसंगको व्यापक छलफलपछि हामीले दोस्रो चरणको मतदानमा प्रकाशलाई समर्थन गर्ने सर्वसम्मत निर्णय गरेका छौं” बुधबार साँझ धनगढीमा आयोजित पत्रकार सम्मेलनमा शेखर समुहका नेता तथा पूर्व केन्द्रीय सदस्य चन्द्रसिंह भट्टराईले भने– हामी दुवै समुह शिर्ष नेतृत्वको गलत सोच र कार्यका साथै पार्टीलाई सिमित घेरामा राख्ने र असहमत पक्षका नेताकार्यकर्ताहरूलाई सधैं अन्याय गर्ने प्रवृत्तिको अन्त्यका लागि दोस्रो चरणको मतदानमा दुवै समुह एक ठाउमा दृढतापूर्वक उभिएका छौं ।

पत्रकार सम्मेलनमा बमको समर्थनमा रहेका प्रदेश महामन्त्री तथा निवर्तमान जिल्ला सभापति नरनारायण शाहले स्वार्थी गुटउपगुटका कारण लगातार कमजोर बन्दै गएको काँग्रेसलाई पुनः सशक्त र जनताको सबैभन्दा भरोशालाग्दो पार्टी बनाउने अभियानमा दुवै समुह एक भएर लाग्ने विश्वास व्यक्त गरे ।

प्रदेश महामन्त्री शाहले पार्टीमा नया“ धुब्रिकरण आवश्यक रहेको बताए । गुटबन्दीको राजनीतिले पार्टी धरापमा गयो । जसले गर्दा पार्टी थप कमजोर बन्दै गयो उनले भने –‘जसको नतिजा स्थानीय, प्रदेश र प्रतिनिधी सभाको निर्वाचन हो । उनले एकता र मेलमिलापबाहिर नगई पहिलो हुनेलाई समर्थन गरि मतदानमा नजान पटक–पटक आग्रह गरेको बताए ।

दुई विचारधारबिच हाम्रो संघर्ष कुनै पनि भिन्नता छैन उनले भने –आफनो स्वार्थका लागि यहाँ गुट निर्माण हुने गरेको छ । पुराना गुटहरूलाई भत्काउन आवश्यक रहेको छ । उनले अहिले जिल्लामा भइरहेको गतिविधीले पार्टीमा दुरगामी असर पार्ने दाबी गरे ।

पूर्व जिल्ला उपसभापति वीरबहादुर हमालले आफूसंग असहमत पक्षलाई नेतृत्वले सधैं अन्याय गर्ने प्रवृत्तिको अन्त्यका लागि कैलालीमा नया जागरण शुरुभएको चर्चा गरे ।

कार्यक्रममा पहिलो चरणको मतदानमा तेस्रो भएका शेखर समुहका उम्मेदवार रामबहादुर कलेलले भने– हामी उहाँका लागि संगै मत माग्ने छौं’ मलाई निर्वाचनमा सहयोग गर्नुहुने सम्पूर्ण मतदाताहरूप्रति आभारी छु । दोस्रोे चरणको मतदानमा वमलाई सहयोग गरिदिनु हुन सादर अनुरोध गर्दछु ।’

उनले कुनै पद वा प्रलोभनमा नपरी सो समुहलाई समर्थन गर्न लागेको जानकारी दिए । हामीले केन्द्रले विधानविपरित गरिरहेको निर्णय, केन्द्रको हस्तक्षेपका विरुद्ध वमलाई समर्थन गरेका हौ उनले भने । उनले अहिले केन्द्रबाट मतदाताहरूलाई डर, त्रास, प्रलोभनमा पार्ने लगायतका क्रियाकलाप भइरहेको बताए ।

हामी पार्टीको अधिवेशनमा होइन । हामी कुनै शत्रुसंग युद्धमा होमिएको मैले महशुष गरेको छु सभापतिका उम्मेदवार बमले भने ‘कैलालीका मतदाताहरूले न्याय गर्दै मलाई पहिलो पंक्तिमा प्रस्तुत गरिसकेको छ । हामीले एक चरणको विजयी भइसकेका छौं ।
उनले दोस्रो निर्वाचनमा षडयन्त्र, अन्याय, लोभ र लालचका विरुद्ध उभिई आफुलाई विजयी गराउन आग्रह गरे । उनले सभापति पदमा विजयी भएमा काँग्रेसलाई एक ढिक्का बनाउने संकल्प व्यक्त गरे ।

यसैबीच, बम तथा कलेल समुहले बुधबार नै संयुक्त प्रेस विज्ञप्ती जारी गर्दै दोस्रो चरणको मतदानमा सभापतिमा बमलाई मतदान गर्न आह्वान गरेका छन् ।
विज्ञप्तीमा भनिएको छ– दोस्रो चरणको मतदानका सन्दर्भमा हामी दुवै टिममा आआफ्नो समुहमा तथा दुवै समुहमा संयुक्त रुपमा जिल्लाका सबै क्षेत्रका साथीहरूबीच छलफलका क्रममा उनीहरूबाट व्यक्त भावना र चाहनाको उच्च सम्मान गर्दै सभापतिमा बमलाई मतदान गर्ने निर्णय गरेका छौं ।

“पार्टीको शिर्ष नेतृत्वपंक्तिमा लामो समयदेखि विधि, विधान, प्रक्रिया, निष्ठा, आदर्श, कार्यकर्ताहरूको सम्मान र न्यायको अभाव रहेको हामी सबैले अनुभव गर्दै आएका छौं” विज्ञप्तीमा भनिएको छ– पछिल्ला केही वर्षयता पार्टीको शिर्ष नेतृत्व पंक्तिले पार्टीलाई सिमित घेरामा राख्ने, आफूसंग असहमत पक्षलाई जसरी पनि पाखा पार्ने र धनबल, प्रलोभन तथा डरत्रासको संस्कृति विकास गर्ने काम भइरहेको हामी सबैले अनुभव गर्दै आएका छौं ।

संयुक्त विज्ञप्तीमा काँग्रेसलाई प्रत्येक काँग्रेसजनले अपनत्व अनुभूत गर्ने तथा आम नेपाली जनताको सबैभन्दा भरोशालाग्दो र विश्वसनीय पार्टीका रुपमा रुपान्तरण गर्ने अभियानलाई दृढतापूर्वक अघि बढाउने प्रतिवद्धता व्यक्त गरिएको छ ।

विज्ञप्तीमा अगाडि भनिएको छ– हामी पार्टीभित्र मौलाएको चरम विकृति तथा बिसंगतिको अन्त्यका लागि सधैं प्रयत्नशील छौं । हामी कुनै पनि किसिमको स्वार्थपूर्ण गुटउपगुटको अन्त्य गर्ने अभियानमा छौं र पार्टीलाई सम्पूर्ण रुपमा लोकतान्त्रिक पार्टीका रुपमा स्थापित गर्ने सतत प्रयासमा छौं । हामी दुवै समुहले पार्टीको दुरगामी हितको नेपाली काँग्रेस कैलालीको सभापति पदमा बमलाई मतदान गर्न सम्पूर्ण क्षेत्रीय प्रतिनिधिहरूमा सादर अनुरोध गर्दछौं ।

संयुक्त विज्ञप्ती जारी गर्नेहरूमा पूर्व केन्द्रीय, पूर्व राज्यमन्त्री भट्टराई, प्रदेश महामन्त्री शाह, सभापतिका उम्मेदवारद्वय वम तथा कलेल, संविधान सभा सदस्य बुद्धिसागर चौधरी, पूर्व जिल्ला उपसभापति हमाल, जिल्ला सचिवद्वय पूर्ण कुँवर र दीपकराज जोशी, नेता रामचरण चौधरी, महासमिति सदस्य क्षितिज भण्डारी लगायतका रहेका छन् ।

पहिलो चरणको मतदानमा वमले एक हजार एक सय ६९ मत प्राप्त गरेका थिए भने नारायणदत्त भट्टले एक हजार ७२ र संस्थापन इतरका सभापतिका उम्मेदवार रामबहादुर कलेलले एक सय ९७ मत प्राप्त गरेका थिए । कुल मतमध्ये एक सय चार मत बदर भएको थियो ।

बिहिबार विहान ८ बजेदेखि सभापति पदका लागि दोस्रो मतदान धनगढीस्थित कैलाली उद्योग वाणिज्य संघको सभाहलमा हुने भएको छ ।

बुधबार निर्वाचन समितिले बिहिबार विहान ८ बजेदेखि संघको सभाहलमा मतदान गरिने भनी सूचना जारी गरेको थियो । निर्वाचन समितिले सोही अनुसार संघको प्राङ्गणमा मतदानको तयारी थालेको छ । यसअघि धनगढीस्थित दशरथ रंगशालामा पहिलो चरणको मतदान भएको थियो ।

मतदानलाई सभ्य, निष्पक्ष बनाउन मतदाताहरूमा कडाई गरिएको छ । पहिलो चरणमा पार्टीले वितरण गरेको कार्ड लिएर मतदाताहरूले मतदान गरेका थिए । सो समयमा एकै जनाले अन्यको नाममा धमाधम मतदान गरेको प्रतिष्पर्धामा रहेका संस्थापन पक्षका दुबै उम्मेदवारहरूको आरोप रहेको थियो । दोस्रो चरणमा त्यस्तो हुन नदिन परिचय खुल्ने कार्ड अनिवार्य गरिएको छ ।
अधिवेशन मुल समारोह समितिका संयोजक तथा प्रदेश महामन्त्री नरनारायण शाह मनुले जारी गरेको सूचनामा भनिएको छ भोली हुने दोस्रो चरणको मतदानका लागि सहभागिहरूले आ–आफ्नो परिचयपत्र÷नागरिकता वा परिचय खुल्ने कार्ड लिएर पाल्नुहुन जानकारी गराउदछौं ।

दोस्रो चरणको निर्वाचनमा पूर्व उपसभापति तथा जनआन्दोलनका घाइते नेता नारयणदत्त भट्ट र पार्टीका वर्तमान उपसभापति प्रकाश बमबिच प्रतिस्पर्धा हुने छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार