१० श्रावण २०८१, बिहीबार

काँग्रेसको चुनावमा कलेलले वमलाई समर्थन गर्ने घोषणा




धनगढी / नेपाली कांग्रेस कैलालीको पहिलो चरणमा भएको निर्वाचनबाट सभापतिका कुनै पनि उम्मेदवारको ५० प्रतिशत बढी मत नपाएपछि हुन लागेको दोस्रो चरणको मतदानमा डा शेखर कोइरालानिकट उम्मेदवार रामबहादुर कलेलले प्रकाशबहादुर वमलाई समर्थन गर्ने भएका छन्।

कलेलले आज बुधबार पत्रकार सम्मेलनमार्फत आफूले वमलाई सभापतिमा सर्मथन गर्ने घोषणा गरेका छन्। यस्तै उनले आफ्ना मतदातालाई अब सभापतिका उम्मेदवार वमलाई मत दिन आग्रह समेत गरे ।

पहिलो चरणमा आइतबार भएको निर्वाचनमा प्रकाशबहादुर वम, नारायणदत्त भट्ट र रामबहादुर कलेलवीच प्रतिस्पर्धामा भएको थियो।

पहिलो चरणको चुनावमा वमले एक हजार १६९, भट्टले एक हजार ७२ र कलेलले १९७ मत प्राप्त गरेका थिए। तर, कसैले पनि ५० प्रतिशत पाउन नसकेपछि दोस्रो चरणमा बिहीबार मतदान हुन लागेको हो।

कलेलले कम मत पाएका कारण प्रतिस्पर्धाबाट वाहिरिएपछि विहीबार वम र भट्टबीच मात्र प्रतिस्पर्धा हुनेछ।

पहिलो चरणको निर्वाचनमा जम्मा दुई हजार ५७२ मतदाता रहेकोमा दुई हजार ४८६ मत खसेको थियो। खसेकोमध्ये ४८ मत बदर भएको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार