भट्टद्धारा कैलाली काँग्रेसको सभापतिको उम्मेदवार हुने घोषणा
सभापतिका उम्मेदवार नारायणदत्त भट्टलाई केन्द्रीय सदस्यहरु ईश्वरी न्यौपाने, रणबहादुर रावल, नृप वड, शुसिला मिश्र, जीवन राना, पूर्व केन्द्रीय सदस्य सुनिलकुमार भण्डारी, पूर्व जिल्ला सभापति दीर्घराज भाट, राष्ट्रिय सभाका सदस्य नारायणदत्त मिश्र, प्रदेश सभा सदस्य डिल्लीराज पन्त, मोहनसिंहको राठौर लगायतको सर्मथन ।

धनगढी / नेपाली काँग्रेस कैलालीका पूर्व उपसभापति नारायणदत्त भट्टले फागुन १५ गते हुने जिल्ला अधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
शुक्रबार सभापति शेरबहादुर देउवा निकट अधिकांश वर्तमान र पूर्व केन्द्रीय सदस्यहरु र अगुवा नेताको उपस्थितिमा भट्टले आफ्नो उम्मेदवारी घोषणा गरेका हुन ।
उनले सभापति देउवालाई नेता मान्नेहरुलाई सहमतिमा ल्याएर आफूलाई जिताउने जिम्मेवारी केन्द्रीय सदस्य र अगुवा नेताहरुको भएको बताएका थिए ।
लामो समय धैर्यता गरेर आफूले सभापति उठ्ने मौका पाएको पनि उनले बताए ।
सो अवसरमा केन्द्रीय सदस्य ईश्वरी न्यौपानेले भट्ट संस्थापन पक्षको आधिकारिक उम्मेदवार भएको बताइन ।
राजनीतिमा लामो समय लागेर अवसर नपाएको जिउँदो शहिद भएकोले भट्टलाई जिताउनु पर्ने उनको भनाइ छ ।
नेतृ न्यौपानेले भोलीसम्ममा भट्ट प्यानलको पूरै टीम बन्ने पनि बताइन ।
नेपाली काँग्रेसका अर्का केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेश सभाका प्रमुख प्रतिपक्षी दलका नेता रणबहादुर रावलले वामपन्थीमय जिल्लालाई काँग्रेसमय बनाउनका लागि भट्टलाई जिताएर काँग्रेसलाई एकतावद्ध बनाउनु पर्ने बताएका थिए ।
भट्टको सभापतिमा उम्मेदवारी घोषणा कार्यक्रममा केन्द्रीय सदस्यहरु नृप वड, शुसिला मिश्र, जीवन राना, पूर्व केन्द्रीय सदस्य सुनिलकुमार भण्डारी, पूर्व जिल्ला सभापति दीर्घराज भाट, राष्ट्रिय सभाका सदस्य नारायणदत्त मिश्र, प्रदेश सभा सदस्य डिल्लीराज पन्त, मोहनसिंह राठौर लगायतको उपस्थिति थियो ।





