५ पुष २०८२, शनिबार

नेपाली कांग्रेस कैलालीको अधिवेशन : वमद्वारा सभापतिमा उम्मेदवारी घोषणा



धनगढी / नेपाली काँग्रेस कैलालीका उपसभापति प्रकाशबहादुर वमले आसन्न अधिवेशनमा सभापति पदको उम्मेदवारी घोषणा गरेका छन् ।

मंगलबार धनगढीमा पत्रकार सम्मेलन गरी उपसभापति वमले सभापतिको उम्मेदवारी घोषणा गरेका हुन् ।

काँग्रेस कैलालीलाई एकताबद्ध र थप सुदृढ पार्दै आगामी स्थानीय तहको निर्वाचनमा पार्टीको उपस्थिति बलियो बनाउने संकल्प लिएर सभापतिमा अघि बढेको उनले बताए ।

सर्वसम्मत नेतृत्व चयनका लागि खुला रहेको बताउँदै वमले पार्टीको केन्द्रीय तहबाट अहिलेसम्म कोही कसलाई आधिकारिकरूपमा जिल्ला सभापतिको उम्मेदवार नतोकिएको दाबी गरे ।

आफ्ना बारेमा विभिन्न भ्रम फैलाउने काम भइरहेको उल्लेख गर्दै वमले सरकारी नियुक्तिका लागि कहीं कतैबाट दबाब नआएको र आफूले नियुक्ति भन्दा पनि सभापति पदलाई प्राथमिकता दिएको बताए ।

उनले आफू कुनै नियुक्ती नखाने बताउदै केन्द्रीय सभापति शेरबहादुर देउवा र नेतृ डा. आरजू राणाले फलानो मेरो उम्मेदवार नभन्ने विश्वास पनि व्यक्त गरे । केन्द्रले हामी सबैलाई स्वतन्त्ररुपमा चुनाव लड्न दिने विश्वास वमको छ ।

नेता वमले सभापतिमा सर्वसम्मतीको सम्भावना नरहेको बताउदै आफूलाई सर्वसम्मत बनाए मात्र मान्ने नत्र चुनाव लड्ने बताए ।

काँग्रेस जिल्ला अधिवेशन फागुन १३ गते तोकिएपछि कैलालीमा काँग्रेस अधिवेशनलाई लिएर चुनावी चहलपहल बढेको छ ।

काँग्रेस कैलालीले अधिवेशनमा दुई हजार पाँच सय भन्दा बढी प्रतिनिधिको सहभागिता रहने र ती प्रतिनिधिहरूले नै जिल्ला कार्य समिति चयन गर्ने जनाएको छ ।

पटक पटक स्थगित हुँदै आएको जिल्ला अधिवेशनको मिति तोकिएसँगै कैलाली काँग्रेस भित्र चुनावी सरगर्मी समेत बढिरहेको छ ।
यतिवेला काँग्रेस नेताहरू वम, नारायणदत्त भट्ट, खेमराज चौधरी, भीम बडूवाल, नवराज रावल, दीपकराज जोशी, रामचरण चौधरी जिल्ला सभापतिको दौडमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार