बजेट अभावमा पाँच वर्षदेखि वसपार्क अलपत्र
बैतडी / तीन जिल्ला जोड्ने बैतडीको खोड्पे वसपार्क बजेट अभावमा पाँच वर्षदेखि अलपत्र परेको छ ।
दार्चुला, बझाङ र डडेल्धुरा जोड्ने बैतडीको पाटन नगरपालिका–८, खोपड्पेमा यातायातका साधनको अत्याधिक चाप हुने भए पनि वसपार्क निर्माणको काम अलपत्र पर्दा यातायातका साधन सडकमै पार्किङ हुने गरेका छन् ।
खोड्पे बजार क्षेत्रमा पार्किङ गरिएको गाडी छेउबाट बाटो काट्दा विपरित दिशाबाट आईरहेको बसको ठक्करले खोड्पेका अम्बादत्त भट्टले यसअघि ज्यान गुमाईसकेका छन्।
सडक मिचेर घर टहरा बनाउदा सडक साँघुरो छ, त्यसमाथि सडकमै गाडी पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको स्थानीयले बताएका छन् ।
पाँच वर्षअघि वसपार्क निर्माणका लागि पाटन नगरपालिकाले रकम विनियोजित गरेर पनि पर्याप्त बजेट नहुँदा वसपार्क निर्माणको काम अलपत्र परेको खोड्पे बजार व्यवस्थापन समितिका अध्यक्ष हरिश विष्टले बताए ।
खोड्पेका स्थानीयको जनश्रमदान र नगरपालिकाको १३ लाख बजेटले आधा काम मात्रै भएको बजार व्यवस्थापन समितिका अध्यक्ष विष्टले बताए । त्यसपछि बजेट नआएको विष्टले बताए ।
विष्टले भने, बजार साघुँरो छ । तीन जिल्लाका सवारी साधन गुड्ने क्षेत्रमा सडक पनि निकै साघुँरोे छ । सडक चौडा पार्नु पर्ने र खोड्पेमा व्यवस्थित बसपार्क निर्माणका लागि पटकपटक आवाज उठाए पनि सुनुवाई भएको छैन ।
खोड्पेमा वसपार्क अनिवार्य भए पनि बजेट अभावमा निर्माण पूरा गर्न नसकेको नगरपालिकाका प्रमुख केशव चन्दले बताए ।
दैनिक सैयौ साना–ठूला सवारी साधन आवत जावत गर्ने खोडपेमा वसपार्क नहु“दा ट्राफिक व्यवस्थापनमा समेत कठिनाई भएकोे खोडपे प्रहरी चौकीले जानकारी दिएको छ ।
वसपार्कको निर्माण कार्र्य पूरा हुन नसक्दा पार्किङमा समस्या भएको उग्रतारा यतायात व्यवसायी समितिका खोड्पे शाखा इन्चार्ज अर्जुन विष्टले बताए ।
पाटन नगरपालिकामा नयाँ सहर आयोजना सुरु भए पनि वसपार्क भने व्यवस्थित बन्न नसकेको स्थानीय सञ्चारकर्मी वसन्त विष्टको भनाइ छ ।
विष्टले भने, नयाँ सहर आयोजनाले पाटन नगरपालिकामा बनाएको वसपार्क पनि प्रयोगमा छैन । खोड्पेमा वसपार्क आवश्यक भए पनि निर्माण हुन सकेको छैन ।