५ पुष २०८२, शनिबार

सेना प्रमुख शर्मा सुदूरपश्चिम भ्रमणमा




धनगढी / नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्माले बिहीबार सुदूरपश्चिम प्रदेशको भ्रमण गरेका छन् ।

प्रधान सेनापतिसंगै रक्षा सचिव सहितको टोलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशी लगायतसंग भेटेर सीमा, शान्ति सुरक्षा तथा पूर्वाधार निर्माण लगायतका विषयमा छलफल गरेको बताइएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका अनुसार मुख्यमन्त्री भट्ट र प्रधान सेनापति शर्माबीच प्रदेशका विविध विषयमा कुराकानी भएको छ । कुराकानीका क्रममा मुख्यमन्त्री भट्ट र प्रमुख प्रधान सेनापती शर्माबीच दार्चुलाको सिमा क्षेत्रको सुरक्षा, सडक निर्माण लगायतका विषय छलफल भएको जनाइएको छ ।

कुराकानीका क्रममा चीन र भारतको सीमा क्षेत्र रहेको दार्चुलामा भारतीय पक्षको ज्यादति बढीरहेको बारे पनि छलफल भएको थियो ।

नेपाली सेनाले सुदूरपश्चिम प्रदेशको दार्चुलामा निर्माणाधिन दार्चुला-तिंकर सडक र सीमामा निर्माणाधिन अवस्थामा रहेको होल्डीङ सेन्टर निर्माणको जिम्मेवारी पाएको छ ।

दार्चुला–तिंकर सडक आयोजना कार्यालयले ठेकेदार कम्पनीसँगको सम्झौता रद्द गरेपछि थप चार किलोमिटर (तुषारपानीदेखि कोठेधारसम्म) सडक आयोजना नेपाली सेनालाई निर्माणको जिम्मेवारी दिइएको छ ।

कोठेधारदेखि तिंकरसम्म यसअघि नै ८७ किलोमिटर सडकको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिने निर्णय भइसकेको छ ।
अहिले सो क्षेत्रमा निर्माण काम भइरहेको छ ।

महाकाली लोकमार्ग अन्तरगतको चार सय २५ किलोमिटर सडक अन्तरगत दार्चुलाको खलंगादेखि तिंकरसम्म एक सय ३४ किलोमिटर सडकको ट्रयाक खोल्ने काम जारी छ । यस अन्तर्गत चालू आर्थिक वर्ष २०७८/०७९ मा बहुवर्षीय ठेक्का स्वीकृत गरी तीन अर्ब ९७ करोड रुपैयाँको बजेट सुनिश्चित भएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले प्रधानसेनापति शर्माले प्रदेशको शान्ति सुरक्षा, बिपतका बेला सुदूरपश्चिम सरकारले गरेको महत्वपूर्ण भूमिका लगायत विषयमा जानकारी लिएको बताइन ।

प्रधानसेनापति शर्माले सुरक्षा निकायसंगको समन्वयमा विपद व्यवस्थापनमा प्रदेश सरकारले गरेको कामको उच्च प्रशंसा समेत गरेको बताइन ।

प्रधानसेनापतिको टोलीले मुख्यमन्त्री र मन्त्रीसंग भेटवार्ता गरेपछि दार्चुला क्षेत्रको सुरक्षा, सीमाको अवस्था लगायतको अवलोकन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार