५ पुष २०८२, शनिबार

प्रदेशमा कर्मचारी पदपूर्तिका लागि विज्ञापन खोल्ने




धनगढी / सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशका मन्त्रालयमा रिक्त रहेका पदको विवरण सात दिनभित्र प्र्रदेश लोक सेवा आयोगमा पठाउने निर्णय स्वीकृत गरेको छ ।

बिहीबार बसेको मन्त्रीपरिषद्को बैठकमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले तहगत पद नाम कायम गर्ने एवं रिक्त पदमा पदपूर्तिका लागि प्रदेश लोकसेवा आयोगमा अनुरोध गरि पठाउने प्रस्ताव पेश गरेको थियो ।

प्रदेशमा समायोजन भई पदपूर्ति भएका र पदपूर्ति भई आउन सहमति दिईसकेका पदबाहेक रिक्त पदहरूको विवरण तयार गरि सेवा समुह सञ्चालन गर्ने सम्बन्धी मन्त्रालयहरूको यथासिघ्र माग आपूर्ति फाराम भरी प्रदेश लोक सेवा आयोगमा सात दिनभित्र अनुरोध गरि पठाउने निर्णय भएको छ प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले बैठकपछि भनिन्– प्रदेशमा लोक सेवा आयोग गठन भइसकेको भए पनि विविध कारणले काम अघि बढ्न सकेको थिएन ।

विगतमा रोकिएको आयोगको कामकारबाहीलाई अघि बढाउन मन्त्रीपरिषदको बैठकले बाटो प्रस्तुत गरेको छ ।

प्रदेश सरकार गठन भएपश्चात संघीय सरकारले प्रदेश सभा सचिवालय, मन्त्रालय र अन्तर्गतका निकायमा संगठन संरचना तथा दरबन्दी तेरिज श्रेणीगत आधारमा स्वीकृत गरि पठाएको थियो । तर, अझै पनि प्रदेशमा आवश्यक कर्मचारी पदपूर्ति हुनसकेको छैन ।

कर्मचारी समायोजन ऐनको दफा ७ बमोजिम प्रदेशमा विशिष्ठ श्रेणी (प्रमुख सचिव), राजपत्रांकित प्रथम श्रेणी (सचिव) र संघीय ऐन बमोजिम नेपाल सरकारबाट पदपूर्ति हुने पद बाहेक अन्य तहगत कर्मचारी प्रदेश सरकारले लोक सेवा आयोगबाट भर्ना गर्न सक्ने व्यवस्था रहेको छ ।

प्रदेश सरकारले तहगत कायम गरि नेपाल सरकारबाट स्वीकृत भएको संगठन संरचना र कर्मचारी दरबन्दीको सिमाभित्र रहने गरि प्रदेशको संगठन संरचना र कर्मचारी दरबन्दी व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७८ को मस्यौदा यहि माघ ७ गते बसेको बैठकबाट स्वीकृत गरिसकेको छ ।

संघीय सरकारले प्रदेश सभा सचिवालय, मन्त्रालय तथा मातहतका कार्यालयका लागि दुई हजार तीन सय ८० कर्मचारी कायम गरेको थियो । त्यसमध्ये प्रदेशमा अझै ४५ प्रतिशत कर्मचारी पदपूर्ति हुन बाँकी रहेको मन्त्री जोशीले बताइन ।

यसअघि मंसिर ६ गते प्रदेश सरकारले रिक्त रहेका कर्मचारीहरूको विवरण प्रदेश लोक सेवा आयोगमा बुझाउन भनेर मातहातका मन्त्रालयलाई पत्राचार गरेको थियो । सो समयमा प्रदेशका मन्त्रालय र मातहतका कार्यालयमा काम गर्न नौ सय ८२ कर्मचारी पदपूर्ति हुन नसकेको विवरण पेश गरेका थिए भने छ सय ३९ जना कर्मचारीलाई करारमा भर्ना गरिएको जानकारी दिइएको थियो ।

सरकारका प्रवक्ता मन्त्री जोशीले लोक सेवा आयोगले रिक्त रहेको पदका लागि छिट्टै विज्ञापन प्रक्रिया अघि बढाउने जानकारी दिइन् । ‘हामीले प्रदेश लोक सेवा आयोगलाई विभिन्न पदका लागि विज्ञापन खोल्न मार्गप्रसस्त गरेका छौं । यो वा त्यो श्रेणी भन्दा पनि आयोगले आफनो एक क्यालेण्डर बनाएको छ ।

सबै पदमा एकै चोटी विज्ञापन खोल्ने वा अलग–अलग मितिमा खोल्ने त्यो आयोगको जिम्मेवारी रहेको छ ।

उनले आयोगलाई आफनो क्यालेण्डर अनुसार परिक्षा लिने, नतिजा प्रकाशन गर्ने लगायतका काम अगाडि बढाउन सहज हुने बताइन ।

त्यस्तै, मन्त्रीपरिषद्को बिहीबारको बैठकले प्रदेश आयुर्वेद चिकित्सालयको अस्थायी संगठन संरचना तथा दरबन्दी सम्बन्धी प्रस्ताव पनि स्वीकृत गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
ताजा समाचार