सुदूरपश्चिममा फेरि वर्षा र हिमपात

धनगढी / पश्चिमी वायुको प्रभावका कारण सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा बुधबारदेखि फेरि वर्षा भइरहेको छ । सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।
मौसम पुर्वानुमान महाशाखाका अनुसार पश्चिमी बायुको प्रभावका कारण दुई दिन देशभरी वर्षा तथा सामान्य हिमपात हुने जनाइएको छ ।
सुदूरपश्चिम प्रदेशबाट शुरु भएको सो प्रभाव आज (बिहिबार) प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशमा प्रभाव पर्ने अनुमान गरिएको छ ।
भोली (शुक्रबार)देखि देशभरी मौसममा सुधार हुने भएपनि बुधबार र विहिबार पश्चिमी बायुको प्रभाव रहेको महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावका कारण बुधबार कैलालीसहित प्रदेशका केही हिमाली क्षेत्रमा सामान्य हिमपात भएको थियो ।
कैलाली र कञ्चनपुरको तराई जिल्लामा भएको सामान्य वर्षाले यस क्षेत्रको जनजिवन प्रभावित भएको थियो । विहानैदेखि भएको वर्षाका कारण केही दिनभन्दा अगाडीको चिसोभन्दा न्यून थियो ।
वर्षा भएपनि हिमाली क्षेत्रमा सामान्य हिमपात भएकोले चिसो केही दिन अगाडिको भन्दा बढेको थिएन फिल्ड कार्यालय अत्तरियाका प्रमुख सिङ्गल चौधरीले ‘बुधबार कैलालीको न्यूनतम तापक्रम ११ दशमलब पाँच डिग्री रहेको थियो भने डडेल्धुराको न्यूनतम तापक्रम चार दशमलब एक डिग्री रहेको थियो ।
डोटीमा अधिकतम २२ दशमलब छ डिग्री रहेको थियो भने धनगढीमा १९ दशमलब सात डिग्री रहेको थियो । प्रदेशको पहाडी तथा तराई क्षेत्रमा सामान्य वर्षा भएको थियो भने हिमाली क्षेत्रमा वर्षासंगै सामान्य हिमपात भएको जनाइएको छ ।
बुधबार विहानैदेखि मौसम बदली भएपछि दार्चुलाका अधिकांश ठाउँमा हिमपात भएको छ । व्यास र अपिहिमाल गाउँपालिकाका लेकाली भेगमा तथा उच्च भू–भागहरूमा बाक्लो हिमपात भएको स्थानीय सुशिल रोकायले जानकारी दिए ।
यो वर्ष मात्रै करिब एक दर्जन पटक गाउँसम्मै हिमपात भइसक्यो, उनले भने, पटकपटकको हिमपातले यहाँको जनजीवन कष्टकर बनेको छ । हिमपातले मानिससंगै गाईबस्तुहरूलाई पनि समस्या भएको छ ।
वर्षा र हिमपातका कारण चिसो बढेकोले घर बाहिर निस्कन समस्या भएको अपिहिमाल गाउँपालिकाका अर्का स्थानीय कलावती रोकायाले बताए । लगातारको वर्षा र हिमपातले जिल्लाभरी नै चिसो बढेको छ ।
लेकाली बस्तीहरूमा बाक्लो हिउँ जम्न सुरु भएको स्थानीयबासीन्दाले बताएका छन् । अपिहिमालको केन्द्र खडेश्वरीमै यो वर्ष चार/पाँच पटक हिमपात भइसकेको छ, स्थानीय कमलेश मन्यालले भने, हिमपातका कारण माघ महिना घर्किन लाग्दा समेत चिसो घट्न सकेको छैन् । अपिहिमालको पाथा, क्षत्ति, घाजिर लगायतका उच्च क्षेत्रका बस्तीमा पटकपटक बाक्लो हिमपात भएकोले जनजीवनमा प्रतक्ष असर परेको उनले बताए ।
ब्यास गाउ“पालिकाको वडा नम्बर १ छाङरु र तिङ्कर गाउँमा पनि यो वर्ष दश/बाह्र पटक हिमपात भइसकेको छ । व्यास र अपिहिमाल गाउँपालिकाको गाउँसम्मै पटकपटक हिमपात भएको स्थानीयले बताएका छन् ।
अपि र व्याससंगै नौगाड, दुहुँ, मार्मा लगायत स्थानीय तहमा समेत हिमपात भएको छ । गत साता दार्चुलाका सबै स्थानीय तहमा हिमपात भएको थियो । चिसोका कारण बालबालिका र बृद्धबृद्धा बढी समस्यामा परेका छन् ।
चिसोबाट बच्न न्यानो लुगा लगाउन, सावधानी अपनाएर आगो ताप्न र अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन स्वास्थ्यकर्मीले सुझाब दिएका छन् । पटकपटकको हिमपातका कारण सञ्चार सेवा समेत अवरुद्ध बनेको छ ।
सञ्चार अवरुद्ध हुदा सेवाग्राहीले समस्या भोग्न बाध्य भएको गुनासो गरेका छन् । भरपर्दो सञ्चार सेवा नहुदा बेलाबेला सञ्चारसम्पर्कबाट बिच्छेद हुनुपर्ने अवस्था रहेको स्थानीय कोमल खत्रीले बताए ।
मौसम पूर्वानुमान महाशाखा अनुसार देशका पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली रहि बांकी भू –भागमा आंशिक बदली रहनेछ । प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।
यस्तै, राती प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भु–भागमा आंशिक देखि सामान्य बदली रहि बांकी भु–भागको मौसम आंशिक बदली रहनेछ । प्रदेश नं १ का थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।
भोली (शुक्रबार) प्रदेश नं १, मधेश प्रदेश, बाग्मती प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रहि बांकी भू –भागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।
प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको र सो प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ भने राती प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू –भागमा आंशिक बदली रहि बांकी भू –भागको मौसम सामान्यतया सफा रहनेछ।
प्रदेश १, बाग्मती तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।




