१० श्रावण २०८१, बिहीबार

साइपालमा हेलिकोप्टर मार्फत खाद्यान्न ढुवानी गर्न माग



चैनपुर / गत साता परेको हिउँका कारण चीनको तिब्बतसंग सीमा जोडिएको साइपाल गाउँपालिका जाने बाटो अवरुद्ध भएपछि सो गाउँपालिकामा खाद्यान्न अभाव भएको छ ।

सो गाउँपालिका जाने एक मात्र घोरेटो साइपाल गाउँपालिकाको नाग्नाको लेख ( रस्या) लगायत विभिन्न ठाउँमा बाक्लो हिमपातका कारण बाटो अवरुद्ध भएको हो ।

सदरमुकाम चैनपुरबाट समेत तीन दिनको पैदल दुरीमा रहेको साइपाल गाउँपालिकामा सदरमुकाम चैनपुरबाट खाद्यान्न ढुवानी हुँदै आएको थियो । तर बाटो अवरुद्ध भएपछि खाद्यान्न लगायतका अन्य दैनिक उपभोग्य वस्तुहरु ढुवानी गर्न समस्या भएको छ ।

साइपाल –४ का स्थानीय कन्जु भण्डारीका अनुसार साइपाल गाउँपालिकाको रस्याको उकालो, कायाँ लगायतका ठाउँहरुमा अहिले पनि झण्डै चार फिट हिउँ जमेपछि साइपाल गाउँपालिको काँडा , धुली , बलौडी र न्युनामा खाद्यान्न अभाव भएको छ ।

गाउँपालिकाको केन्द्र रहेको काँडामा समेत मौज्दात राखिएको चामल सकिएपछि छ । नियमितरुपमा खच्चर र भेडाबाट खाद्यान्न ढुवानी हुँदै आएको भए पनि हिउँले मान्छे समेत आवत जावत गर्न मुस्किल भएपछि गाउँमा खाद्यान्न अभाव भएको समेत भण्डारीले बताए ।

“पहिले घरघरमा थप खाद्यान्न भण्डारण गर्ने चलन थियो भण्डारीले बताए अहिले नियमित ढुवानी हुँदै आएपछि भण्डारण गर्ने चलन हटेको छ ।”
खाद्यान्न उत्पादन नहुने साइपाल गाउँपालिकामा नेपाल सरकारले ढुवानीमा अनुदान दिएर ठेकेदार मार्फत खच्चर मार्फत खाद्यान्न ढुवानी गर्दे आएको थियो ।

गएको साता भेडा मार्फत केही चामल ढुवानी गरेको भए पनि बढीमा दुई दिन मात्र खान पुगेकोले अहिले गाउँमा चरम खाद्यान्न भएको स्थानीयको भनाई छ ।

खाद्यान्न ढुवानीका लागि अन्य कुनै पनि वैकल्पिक व्यवस्था नभएपछि हेलिकप्टर मार्फत ढुवानी गर्नुको विकल्प नरहेको गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताए ।

“गाउँमा भोकमरी हुने अवस्था आउन थालिसक्यो अध्यक्ष धामीले भने तुरुन्तै हेलिकप्टर मार्फत भएपनि छिटो भन्दा छिटो खाद्यान ढुवानी गर्न सरकारसंग माग गरेका छौ ।”

साइपाल गाउँपालिकाको वडा नम्बर २ र ३ को वीचमा पर्ने रस्याको लेकमा धाम पनि नलाग्ने र हिउँ पग्लन अझै समय लाग्ने भएकाले खच्चरको लागि झण्डै एक महिनासम्म बाटो खुल्न नसक्ने अवस्था आएको समेत अध्यक्ष धामीले बताए ।

जंगलमा बाटो त्यसैमा झण्डै चार फिट हिउँ छ । अहिले साइपाल गाउँपालिकामा टेलिफोन सम्र्पक समेत पूर्णरुपमा बिच्छेद भएपछि गाउँको अवस्था के छ भन्ने खबर समेत गर्न मुस्किल छ ।

साइपाल गाउँपालिकाको वडा नम्बर १ र २ मा खाद्यान्न प्रर्याप्त भए पनि गाउँपालिकाको माथिल्लो भेगमा भने चरम अभाव छ । गाउँपालिकाका स्थानीयहरुलाई अति आवश्यक काम पर्दा समेत आवत जावत गर्न सकिने अवस्था छैन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार